इन्सपेक्टरमा सर्वोत्कृष्ट आभुषण बढुवामा सधैँ पछि, अति भएपछि दिए एसपीबाट राजीनामा – Nepal Press

इन्सपेक्टरमा सर्वोत्कृष्ट आभुषण बढुवामा सधैँ पछि, अति भएपछि दिए एसपीबाट राजीनामा

काठमाडौं । एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै नेपाल प्रहरीका एसपी आभुषण तिम्सिनाले राजीनामा दिएका छन् ।

गृहमन्त्रालयले शुक्रबार प्रकाशित गरेको बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै उनले प्रहरी हेडक्वार्टरमा आइतबार राजीनामा बुझाएका छन् । १८ जना एसपीको एसएसपीमा बढुवा हुँदा सिनियर र कार्यक्षमता भएकामाथि अन्याय गरिएको भन्दै उनले राजीनामा दिएको बताएका छन् । एसएसपी बढुवामा एसपी नान्तीराज गुरुङलगायतले पनि असन्तुष्टि जनाउँदै कासमु सार्वजनिक गर्न चुनौती दिएका छन् ।

तिम्सिना नेपाल प्रहरीभित्र अपराध अनुसन्धानमा काबिल तर विभिन्न समयमा चर्चा र विवादमा आइरहने अधिकृत हुन् । २०५६ असार ३ गते प्रकाशित प्रहरी निरीक्षक छनौटको सूचीमा सर्वोत्कृष्ट अंक ल्याई एक नम्बरमा भर्ना एसपी तिम्सिना त्यसपछिका बढुवा र जिम्मेवारीमा पछाडि पारिँदै आएका थिए ।

यो पनि पढ्नुस् : बढुवा सिफारिसमा एसपी नान्तीराज गुरुङको असन्तुष्टि, कासमु सार्वजनिक गर्न चुनौती

०६२-६३ को जनआन्दोलनपछि तत्कालीन शाही पार्श्वपति भरतकेशर सिंहको हातमा हत्कडी लगाएर चर्चामा आएका तिम्सिनाले प्रहरीको स्याङ्जा, सिन्धुली, कैलालीलगायतका जिल्लाको नेतृत्व सम्हालेका थिए । १५ वैशाखमा १८ एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरिँदा तिम्सिना छुटेका थिए ।

०७५ जेठ २९ मा डीएसपीबाट एसपी र ०६७ पुस २३ मा इस्न्पेक्टरबाट डीएसपी बढुवामा तिम्सिनाभन्दा कम नम्बर ल्याएका एसपीहरू यसचोटि एसएसपी सिफारिस भएको प्रति उनले संगठनका उच्चपदस्थ अधिकृतसमक्ष असहमति व्यक्ति गर्दै आएका थिए ।

राजीनामाको कारणबारे प्रश्न गर्दा तिम्सिनाले नेपाल प्रेससँग भने, ‘मान्छेको जीवनमा जागिरभन्दा स्वाभिमान ठूलो हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर