आर्थिक वर्षको दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक – Nepal Press

आर्थिक वर्षको दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक

काठमाडौ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा (साउनदेखि पुस) मुलुकको आर्थिक वृद्धिदर १.१ प्रतिशतले ऋणात्मक देखिएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा आर्थिक वृद्धिदर १.१ प्रतिशतले ऋणात्मक देखिएको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयले मौसमी प्रभावसहित र मौसम प्रभावविना त्रैमासिक कुल गार्हस्थ उत्पादनका आधारमा आर्थिक वृद्धिदर निकालेको छ ।

यो मौसमी प्रभावविनाको आर्थिक वृद्धिदर हो । तर, मौसमी प्रभाव समायोजन गर्दा त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा ०.७ प्रतिशतले कमी छ ।

गत वर्षको दोस्रो त्रैमासिकमा १.७८ प्रतिशत वृद्धिदर भएकोमा यो वर्षको सोही अवधिमा ०.७३ प्रतिशतले ऋणात्मक देखिएको हो । तथ्याङ्क कार्यालयका अनुसार खानी तथा उत्खनन, उद्योग, निर्माण, व्यापार, यातायात तथा गोदाम क्षेत्रको वृद्धिदरमा गिरावट देखिएको छ ।

निर्माण क्षेत्रमा सबैभन्दा कम २०.६ प्रतिशतले उत्पादनमा कमी हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । निर्माण सामग्रीको आन्तरिक उत्पादन र आयातमा आएको गिरावटका साथसाथै निर्माण क्षेत्रमा भएको शिथिलताले यस क्षेत्रमा नकारात्मक असर परेको केन्द्रीय तथ्याङ्क कार्यालयले भनेको छ ।

यता खानी तथा उत्खनन १६.४ प्रतिशत, व्यापार ९.७ प्रतिशत, यातायात ५.५ प्रतिशत र औद्योगिक उत्पादनमा ४.३ प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलबार यस वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) लगायत राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *