गँड्यौला पालेरै लाखौं आम्दानी
विराटनगर । मोरङ बुढीगङ्गाका गुणराज काफ्ले गाई पाल्ने साना किसान हुन् । एक दुई वटा गाई पालेर दूध बेच्ने काफ्लेलाई गोबर फाल्न समस्या थिएन । उनको घर वरिपरि प्रशस्तै खाली जग्गा थियो । केही वर्ष अघिसम्म काफ्लेकै पनि खाली जमिन प्रशस्त थियो ।
बुढीगङ्गा गाउँपालिकाको टंकी सिनुवारीमा अहिले प्रशस्तै घर बनेका छन् । खाली जमिन सकिँदै गयो । काफ्ले बसेको ठाउँ बजार बनेपछि दूधको माग पनि बढ्यो । तर, उनलाई गाईको गोबर फाल्ने समस्या हुन थाल्यो ।
गोबर फाल्नै समस्या भएपछि उनले गोबर र कुहिने घाँसपात खुवाएर गँड्यौला पाल्न थाले । गँड्यौलाले बनाएको प्राङ्गारिक जैविक मलको बिक्री घरैबाट हुन थालेपछि अहिले गाईको गोबर अपुग हुन थालेको छ । काफ्लेलाई दूध र गँड्यौले मल दुवैबाट आम्दानी हुन थालेको छ ।
उनी डेढ महिनामा ५०० केजीसम्म प्राङ्गारिक जैविक मल बेच्छन् । जैविक मलको मूल्य घरैमा प्रतिकेजी २० रुपैयाँ लिन्छन् काफ्ले ।
टंकीसिनुवरीकै राजु खड्का यस क्षेत्रका अगुवा कृषक हुन् । उनले पनि ५ वर्षदेखि गँड्यौला पालेर प्राङ्गारिक जैविक मल उत्पादन गर्दै आएका छन् । उनले गाईभैंसी पालेका छन् । गाईभैंसीको गोबर गँड्यौलालाई आहारा दिन्छन् । गोबरले नपुगेकाले उनले रिर्जब ट्याङ्कीमा कुहिने झारपात पनि हाल्छन् । गोबरसँग मिसाएको झारपात खाएर गँड्यौलाले प्राङ्गारिक मल उत्पादन गर्छन् ।
उनले वर्षमा १२० टनसम्म गँड्यौले प्राङ्गारिक जैविक मल उत्पादन गर्ने गरेको बताए । उक्त जैविक मल उनले खेतमा हाल्छन् । उनले दुई बिगामा खेतीसमेत गरेका छन् ।
धान, मकै, गहुँ खेती गर्ने खड्काले रासायनिक मल हाल्न छाडेका छन् । उनले भने, ‘यसले कृषिमा लागत खर्च घटेको छ । रासायनिक मल हाल्दाभन्दा उत्पादन बढी हुन थालेको छ ।’
उनी वर्षमा ५० टन जैविक मलसमेत बेच्छन् । जसबाट वर्षको १० लाख रुपैयाँ आम्दानी हुने खड्काले जानकारी दिए ।
सुनसरीको देवानगञ्जका किसान हुन् उमेश मेहता । पुस्तैनी पेशा नै खेती किसानी भएका कारण उमेश खेतबारीमै रमाउँदै आएका छन् ।
सुरुमा समयमै रासायनिक मल नपाउँदा मेहतालाई समस्या थियो । त्यसमाथि रासयनिक मलको भाउ बढेको बढ्यै गरेपछि उनले यसको विकल्प खोजे । उनले पनि गँड्यौला पालन गरी प्राङ्गारिक जैविक मल उत्पादन थालेका छन् ।
रासायनिक मलको सट्टा बारीमा जैविक मलको प्रयोग थालेपछि खेतको उर्बरा शक्ति बढेको उनको भनाइ छ । मेहताले पनि गँड्यौले जैविक मल बेच्दै आएका छन् । उनको फर्ममा उत्पादन भएको गँड्यौले मल कोशी प्रदेशबाहेक चितवनसम्म पुग्छ । उनले अहिले मागअनुसारको उत्पादन पुर्याउनै मुस्किल भएको बताए ।
उमेशका दाइ हुन् रामवृक्ष मेहता । उनी यस क्षेत्रकै व्यवसायिक खेती गर्ने किसानमा पर्छन् । उनी ४ विगामा तरकारी खेती गर्छन् । गहुँ, धान, मकै पनि लगाउँछन् । उनी धान, गहुँ, मकैको खेती बीउका लागि गर्छन् । मेहताको कुशवाह बीउबिजन कम्पनी छ ।
रामवृक्षले आफ्नो खेतीमा रासायनिक मल हाल्न छाडेका छन् । समयमा रासायनिक मल पाउन छाडेपछि उनले पनि गँड्यौले प्राङ्गारिक जैविक मल उत्पादन गर्न थालेको बताए ।
उनको गँड्यौला फार्मबाट वर्षको ६०० टनभन्दा बढी प्राङ्गारिक जैविक मल उत्पादन हुन्छ । आफूले उत्पादन गरेको मल खेतबारीमा हाल्छन् । उब्रिएको मल बिक्री गर्छन् । वर्षमा ३०० टन जैविक मल बेच्ने गरेको उनी बताउँछन् ।
संसारमा १८०० भन्दा बढी प्रजातिका गँड्यौला पाइन्छ । तीमध्ये रातो विग्लर-आइसेनिया फेटिडा, गँड्यौली मल बनाउन प्रयोग हुन्छन् । गँड्यौलाबाट बनेको प्राङ्गारिक जैविक मलमा भएका तत्वहरू पानीमा घुलनशील हुन्छन् । विरुवाले यसमा भएका तत्वहरूलाई सजिलैसँग लिनसक्छ ।
यो मलबाट एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकाले अरू मलभन्दा यसको गुणस्तर राम्रो मानिने कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव मेघनाथ तिम्सिना बताउँछन् । उनले प्रदेश सरकारले रासायनिक मलको आयात घटाएर गँड्यौले कम्पोष्ट मलको उत्पादन बढाउने नीति लिएको बताए ।
प्रदेश सरकारले अनुदान दिने व्यवस्था गरेकाले किसानको आकर्षण बढेको उनको भनाइ छ । सुरुमा उत्पादन राम्रो नभए पनि निरन्तर यो मलको प्रयोग गरे रासायनिक मलले भन्दा राम्रो उत्पादन दिने र माटोको उर्बरा शक्ति पनि बढ्ने तिम्सिना बताँउछन् ।