वरिष्ठ पत्रकार कुन्द दीक्षितका पत्रकारिता चम्काउने दश ‘टिप्स’ – Nepal Press

वरिष्ठ पत्रकार कुन्द दीक्षितका पत्रकारिता चम्काउने दश ‘टिप्स’

काठमाडौं । सन् १९९७ मा इन्टर प्रेस सर्भिसले प्रकाशन गरेको पुस्तक हो ‘डेटलाइन अर्थः जर्नलिजम एज इफ द प्लानेट म्याटर्ड ।’ यो पुस्तक त्यति बेला लेखिएको हो जति बेला भारतमा हरेक एक हजारमा सात जनाको हातमा मात्रै मोबाइल फोन थियो । नेपालमा दुई हजार २०० मात्रै एनजीओ थिए भने नेपालको ग्रस नेशनल प्रडक्ट भियतनामको भन्दा धेरै थियो । चीन विश्वको दोस्रो र भारत पाँचौं ठूलो अर्थतन्त्रको देश भएकै थिएनन् ।

यो किताबको नेपाली संस्करण र अद्यावधिक संस्करण बैशाख २० र २१ मा हुने ‘हिमाल मिडिया मेला’मा सार्वजनिक हुँदैछ । किताबको नेपाली नाम ‘डेटलाइन पृथ्वी’ छ ।

नेपालका विश्वस्तरीय पत्रकार कुन्द दीक्षितले लेखेको पुस्तक हो यो । दीक्षित नेपालमा विश्वस्तरीय पत्रकार यस मानेमा हुन् कि उनले अमेरिकाको न्यूयोर्कमा रहेको कोलम्बिया युनिभर्सिटी ग्राजुएट स्कुल अफ जर्नलिजममा पत्रकारिता पढेका थिए । दीक्षितले संयुक्त राष्ट्रसंघको मुख्यालयबाट बीबीसीको लागि रिपोर्टिङसमेत गरेका थिए । उनी सन् १९९७ सम्म इन्टर प्रेस सर्भिसको एसिया प्यासिफिक क्षेत्र निर्देशक थिए ।

नेपालबाट प्रकाशन सुरु भएर हाल श्रीलंकामा मुख्यालय सारेको दक्षिण एसियाली म्यागजिन ‘हिमाल साउथ एसिया’का संस्थापक समूहका एक प्रभावशाली अनुहार पनि उनै हुन् । अमेरिकाको येल युनिभर्सिटीमा प्रवचन दिनेदेखि ग्लोबल इन्भेस्टिगेटिभ जर्नालिजम नेटवर्कमा विपत पत्रकारिताका बारेमा आफ्ना कुरा शेयर गर्ने दीक्षितको पत्रकारिताका अनुभव सुन्न र उनका पत्रकारिताबारे ‘टिप्स’ लिन आतुर जमात विश्वभर छन् ।

नेपालबाट प्रकाशन हुने अंग्रेजी भाषाको साप्ताहिक ‘नेपाली टाइम्स’बाट दीक्षितले विश्वस्तरीय पत्रकारिता गरिरहेका छन् । खासगरी उनका जल्दाबल्दा र दीर्घकालीन महत्वका विषय छनोटदेखि चुस्त हेडलाइनसम्म नेपाली टाइम्सका ज्यादै लोकप्रिय पक्ष हुन् । उनै दीक्षितले २६ वर्ष अगाडि पत्रकारितालाई चम्काउन आफ्नो पुस्तक ‘डेटलाइन अर्थ’मा दिएका दश टिप्स यस्ता छन्ः

१. विकास पत्रकारितामा सकारात्मक कुरामात्रै आउँछन् भन्ने मिथक त्याग्नुहोस्

सन् १९६० को दशकमा विकास भएको विकास पत्रकारितामा सन् १९७० को दशकमा असंलग्न पत्रकारिताको रुपमा विकास भएको थियो । विकास पत्रकारितामा सकारात्मक खुराकहरुमात्रै आउनुपर्ने वा ल्याउनुपर्ने भनाइमा भिन्न मत छ दीक्षितको । यसले सफलताका कथाहरुमात्रै नलेखेर अन्यायका कुराहरु पनि लेख्नुपर्ने उनको सुझाव छ ।

२. नयाँ कोण पत्ता लगाउनुहोस्

समाचारमात्रै होइन यसको कोण पनि नयाँ हुनुपर्ने दीक्षितको तर्क छ । दुई फरक फरक वर्षमा गएको बाढीलाई तुलाना गरेर लेख्न सकिने भन्दै हरेक कुरामा फरक कोण खोज्न सकिने उनको सुझाव छ । मिडियामा आउने फिचर र फिस (माछा) उस्तै भएको भन्दै उनले फिस जस्तै फिचर पनि समयविहीन बनाउँदा कुहिने उनको तर्क छ ।

३. अनुभव जडित प्रत्यक्षदर्शी रिपोर्टिङ गर्नुहोस्

बन्द कोठाको एसी हलमा बसेर कथा लेख्न उपन्यासकारले मात्रै सक्ने भन्दै दीक्षितले पत्रकारले भने गुगलमा होइन भूगोलमा जानुपर्ने संकेत गरेका छन् । उनले आफूले रिपोर्टिङ गर्ने ठाउँका मान्छेले खानेकुरा खाएर, उनीहरुले सुत्ने ठाउँमा सुतेर र उनीहरुले थापे जस्तो पानी थापेर रिपोर्टिङ गर्दा कथा बुझ्न र बुझाउन थप सहज हुने औंल्याएका छन् ।

४. बढाइचढाइ र झूटो हल्ला नगर्नुुहोस्

पत्रकारिता गर्दा भएको भन्दा धेरै र हुँदै नभएको कुरामा झूटो हल्ला नगर्न दीक्षितले सल्लाह दिएका छन् । नागरिकलाई सार्वजनिक महत्वको विषय भनेर समाचार क्रेता बनाउन नसकिने तर उनीहरुले तत्काल आवश्यक खुराकमात्रै पढ्ने उनी बताउँछन् ।

५. बृहत तस्बिर देखाउन ‘जुम आउट’ गर्नुहोस्

सामान्यभन्दा सामान्य रिपोर्टमा पनि राष्ट्रिय नीतिहरु जोडेर समाचारलाई बृहत आकार दिन सकिने दीक्षितको तर्क छ । उनले श्रीलंकामा भएको युद्धले पारेको मनोवैज्ञानिक असरको रिपोर्टको उदाहरण दिएर हरेक साना जस्ता र व्यक्तिगत जस्ता कथालाई बृहत चित्र दिएर जुम आउट गर्न सकिने तर्क गरेका छन् ।

६. गुमनामहरुको धुमधाम रिपोर्ट गर्नुहोस्

दीक्षितले ठूलाठालूहरुको आवाजमा मेगाफोन हुने भन्दै गुमनामहरुको धुमधाम रिपोर्ट गर्न सुझाएका छन् । गुमनामहरुका कथाहरुले विपन्न देश, दमित अल्पसंख्यक, आदिवासी, बालबालिका, महिला, भूमिहीन किसान, शहरी विपन्नलाई समेट्न सकिने उनको भनाइ छ । जाम्बियाका ढुंगा काट्ने महिलाको कथाको उदाहरण दिएर उनले गुमनामहरुलाई समाचारमा ल्याएर बृहत स्थान दिन सकिने बताएका छन् ।

७. प्रवचन नदिनुहोस्, झण्डा नबोक्नुस्

पत्रकारिताको टिप्समा एक टिप्स दीक्षितले प्रवचन नदिन र झण्डा नबोक्न आग्रह गरेका छन् । आफूलाई खलनायक लागेकालाई खलनायक नभनी समाचार सामग्रीबाटै उनीहरुलाई खलनायक देखाउन सकिने उनको भनाइ छ । बहुराष्ट्रिय कम्पनी, विश्व बैंकले कसरी मान्छेहरुलाई पीडित बनाएको छ भन्नेमा पीडितहरुका कुरालाई राखेर समाचार गर्न सकिने उनको भनाइ छ ।

८. ‘कू’ र भूकम्पहरुको रिर्पोट गर्नुहोस्

विकास पत्रकारिताले कू र भूकम्पहरुको रिपोर्ट नगर्न सुझाउने भन्दै दीक्षितले त्यो तर्क बकवास भएको बताएका छन् । राजनीतिक कू, भूकम्प, ज्वालामुखी सबैको रिपोर्ट गर्न आवश्यक भएको भन्दै त्यस्ता विपतहरुको प्रक्षेपण गर्न भनेका छन् । पश्चिम जाभाको एक ज्वालामुखीको समाचारको उदाहरण दिएर उनले सबैखाले समाचार लेख्नुपर्ने बताएका छन् ।

९. स्न्याप च्याट होइन भिडियो खिच्नुहोस्

कुनै पनि घटना हुनुको प्रक्रिया हुने भन्दै दीक्षितले घटनामात्रै रिपोर्ट नगरेर प्रक्रियाकै रिपोर्ट गर्न सुझाएका छन् । बंगलादेशीहरुले भ्यागुत्ता युरोपमा निर्यात गरेको कथाको प्रक्रिया खोज्दा कीराहरुको संख्या बढेको र त्यसले अन्नमा पारेको उत्पात समस्यालाई रिपोर्ट गर्न सकिने एक उदाहरण दिँदै दीक्षितले कुनै पनि कथामा नतिजालाई वा घटनालाई मात्रै नहेरेर प्रक्रियालाई हेर्न सुझाएका छन् । व्यवसायिक यौनकर्मले थाइल्याण्डको उत्तरी गाउँमा भएको परिवर्तनको कथाको समाचारलाई उदाहरण दिँदै उनले कथालाई स्न्याप च्याट होइन भिडियोमा देखाउन भनेका छन् ।

१०. पैसा पछ्याउनुहोस्

दीक्षितले पत्रकारहरुलाई पैसा पछ्याउन सल्लाह दिएका छन् । कुनै पनि परियोजनाबाट कसलाई नाफा हुन्छ भनेर पत्रकारले पैसा पछ्याएर खोजी गर्नुपर्ने दीक्षितले बताएका छन् । उनले २४ करोड अमेरिकी डलरको एसियाली विकास बैंकले फिलिपिन्स दिएको रुख बढाउने परियोजनाको ऋणले रुख नबढाएर केही मान्छे र एनजीओलाई मात्रै धनी बनाएको उदाहरण दिएर पैसाको पछि लागेर धेरै राम्रा राम्रा समाचारका खुराकहरु पत्ता लगाउन सकिने उनको टिप्स छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *