शल्यक्रियामा एनेस्थेसिया : किन र कसरी ? – Nepal Press

शल्यक्रियामा एनेस्थेसिया : किन र कसरी ?

भरतपुर क्यान्सर अस्पतालका एनेस्थिोलोजिष्ट डा. थापा भन्छन्- एनेस्थिसिया र हस्पिस वार्डले उपचारमा प्रभावकारिता थपेको छ

काठमाडौं । नेपालकै ठूलो क्यान्सर अस्पताल बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देश विदेशका बिरामीहरुले सेवा लिइरहेका हुन्छन् । अस्पतालको सेवालाई प्रभावकारी, सहज एवम् परिणामुखी बनाउन त्यहाँ रहेका विभिन्न विभागहरुको महत्वूपर्ण भूमिका रहेको हुन्छ ।

ती विभागहरु एकअर्कामा अन्तरसम्बन्धित हुने गर्दछन् । एउटाले अर्को प्रक्रियालाई कुनै न कुनै रुपमा सहज बनाउने गर्दछन् । त्यतिमात्र होइन कतिपय त अनिवार्य आवश्यकता नै बन्छन् । अस्पतालमा भएका मेडिकल, सर्जिकल अंकोलोजी, प्याथोलोजीलगायत विभागले एक अर्काको प्रक्रिया एवम् कार्यलाई सघाउ पुर्‍याउँदै बिरामीहरुको उपचार हुने गर्दछ ।

बिरामीलाई निको बनाउन विभिन्न उपकरण, विशेषज्ञता, औषधि आदिको उचित संयोजनले इच्छित परिणाम प्राप्त हुने गर्दछ ।

त्यस्तै, एउटा अनिवार्य विभाग हो- एनेस्थेसिया । यो विभागको क्यान्सरमा मात्रै नभएर अन्य गम्भीर किसिमका उपचारका लागि चाहिने प्राथमिक विषय हो । यसले कसरी काम गर्छ त ? यिनै विषयमा भरतपुर क्यान्सर अस्पतालका एनेस्थेसिया  विभागका प्रमुख डा. प्रदीप थापासँगको कुराकानीमा आधारित सामग्री यहाँ प्रस्तुत गरिएको छ ।

एनेस्थेसिया भनेको के हो ?

मानिसको स्वास्थ्यमा देखिएको सामान्य समस्यालाई निराकरणका विभिन्न उपाय हुन्छन् । तर यदि गम्भीर समस्याको समाधान गर्नु परेमा शल्यक्रिया (अपरेशन) गर्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । अपरेशन बिरामीको समस्याको अवस्था हेरेर हुने गर्छ । ठूलो मात्रै नभएर सामान्य असहजतामा पनि अपरेशन गर्नुपर्ने हुनसक्छ भने निकै ठूला वा गम्भीर किसिमको समस्यामा अपरेशन नै बाध्यात्मक वा अनिवार्य हुन आउँछ ।

शल्यक्रिया बिरामीलाई सामान्य अवस्थामा राखेर गर्न सकिँदैन । प्रायः बेहोस बनाएर मात्रै गर्नुपर्ने हुन्छ । शल्यक्रिया गर्दा बिरामीलाई बेहोस गराउने प्रक्रिया निकै महत्वपूर्ण प्रक्रिया हो । शरीर बेहोस गराएर अपरेशन गर्दा बिरामीलाई दुखाइ कम मात्रै हाम्रो महत्वपूर्ण अङ्गहरु पनि जोगाउन सकिन्छ । शल्यक्रियाका क्रममा बिरामी एकदमै डराउने र आत्तिने भएकाले पनि उनीहरुलाई बेहोस बनाउनु पर्ने हुन्छ । मेडिकल भाषामा यही प्रक्रिया वा प्रणालीलाई एनेस्थेसिया भनिन्छ ।

क्यान्सरका बिरामीलाई उपचार गर्ने क्रममा किन बेहोस बनाउने, यसले उपचारमा के कसरी सहयोग गर्छ, विज्ञको टीमले यसलाई कसरी प्रयोग गर्ने लगायतका विषयमा भरतपुर क्यान्सर अस्पतालका एनेस्थेसिया विभागका प्रमुख डा. थापाले जानकारी गराएका छन् ।

सामान्यतया एनेस्थेसिया बेहोस गराउने तरिका भनेर बुझिए पनि यो भनेको शल्यक्रिया गर्दा सम्बन्धित अंग नदुख्ने बनाउने प्रक्रिया रहेको डा. थापा बताउँछन् ।

‘वास्तवमा शल्यक्रिया गर्दा नदुख्ने बनाउने, बिरामीलाई थाहा नहुने बनाउने, बिरामीलाई अचेत या चल्न नसक्ने बनाउने, शरीरलाई असामान्य प्रतिक्रिया जनाउन नसक्ने बनाउने, शल्यक्रियापछि होसमा आउँदा शल्यक्रिया गर्दाका बखत भएका क्रियाकलाप थाहा नहुने बनाउने प्रक्रिया एनेस्थेसिया हो’, डा. थापाले बताए, ‘शल्यक्रिया हुँदा बिरामी आत्तिने डराउने हुँदा एनेस्थेसियाले अझ सहज बनाउँछ ।’

क्यान्सरका बिरामीलाई पनि अपरेशन गर्नुपर्ने अवस्थामा उनीहरुलाई एनेस्थेसियाको मद्दतबाट आफूलाई के के भइरहेको भन्नेबारे थाहा नहुने बनाएर उपचार सहज बनाइने थापा बताउँछन् ।

एनेस्थेसियाको ३ तरिका हुने गर्छ । शरीरलाई पूरै बेहोस बनाउने, यो विधि विशेषगरी अंग प्रत्यारोपण, टाउकोको शल्यक्रिया, पेटको गहिरो शल्यक्रिया जस्ता गम्भीर प्रकृतिका शल्यक्रियामा शरीरलाई पूरै बेहोस बनाउने गरिन्छ ।

त्यस्तै, आधा शरीरलाई आधा बेहोस बनाइने । शरीरको कम्मरभन्दा मुनिको भागलाई बेहोस बनाउन यस्तो प्रक्रिया अपनाइन्छ । ढाडमा इन्जेक्सन दिएर गरिने यो प्रविधि विशेषगरी शल्यक्रियाबाट प्रसूति गराउने अवस्थामा बढी प्रयोग गरिन्छ भने विभिन्न ठाउँमा भएका स्टोन निकाल्न पनि यही प्रविधि प्रयोग हुँदै आएको छ ।

अर्काे शल्यक्रिया गर्ने अंगको निश्चित क्षेत्रमा बेहोसी गरिने प्रक्रियालाई रिजनल एनेस्थेसिया अर्थात क्षेत्रीय बेहोसी भनिन्छ । हातखुट्टा भाँच्चिए पछि गरिने शल्यक्रियामा निश्चित भागलाई लठ्याउने र मानिसलाई निदाउने औषधि खुवाएर पनि शल्यक्रिया गरिन्छ । यो प्रक्रिया शल्यक्रिया नसकिउन्जेल आवश्यकताअनुसार मात्रा मिलाएर दिइरहेको हुन्छ । शल्यक्रिया पूरा भएसँगै औषधि दिन पनि बन्द गरिन्छ ।

शल्यक्रियाको क्रममा बिरामीलाई एनेस्थेसिया दिँदा फोक्सोले सामान्यभन्दा कम काम गर्छ । पुरै बेहोस बनाउँदा मुटु आफ्नै सन्तुलनमा हुन्छ । मिर्गाैला आफ्नै सुरमा चलिरहेको हुन्छ । चलाईमा कम र बढी भयो भने एनेस्थेसियोलोजिस्टले सहयोग गर्छ । फोक्सो चाहिँ पूर्ण रुपमा नै बन्द जस्तै अवस्थामा हुन्छ ।

ती सबै प्रक्रियालाई पुनः पहिलेकै अवस्थामा ल्याउनु चुनौतीपूर्ण हुन्छ । यसमा औषधिको सन्तुलन महत्वपूर्ण हुन्छ । राम्रो सन्तुलन मिलाएर मात्र ती सबैलाई फेरि पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिन्छ । यी सबै काम एक एनेस्थेसियाको चिकित्सकले मात्र गर्न सक्छ ।

एनेस्थेसिया गर्नुपूर्व चिकित्सकले बिरामीको मुटु, फोक्सो, मिर्गौला, मस्तिष्कको अवस्थाको राम्ररी अध्ययन गर्नुपर्छ । त्यसका साथै त्यसअघि प्रयोग गरेको औषधि र त्यसको असरको पनि अध्ययन गर्नुपर्छ ।

यसरी क्यान्सरका बिरामीहरुलाई पनि यसको सही मद्दतले उपचार गर्न सकिन्छ ।

सानो वा ठूलो जस्तोसुकै होस् शल्यक्रिया भनेपछि बिरामीमा डर पैदा हुन्छ । शल्यक्रियाको क्रममा ३ वटा टोली हुन्छ । सर्जन, नर्सिङ स्टाफ र एनेस्थेसिया चिकित्सक । तीन वटा टोलीको आफ्नै दायित्व हुन्छ । त्यसमा अनुभवी र विज्ञ स्वास्थ्यकर्मी भएन भने समस्या आउन सक्छ । तीन टोलीबीच सहकार्य राम्रो नभएको खण्डमा समस्या आउन सक्छ । त्यसैले शल्यक्रियाको समयमा यो एकदमै महत्त्वपूर्ण कुरा हो ।

एनेस्थियोलोजीले क्यान्सका अपरेसन मात्रै नभएर आईसीयूमा विभिन्न विभागमा जस्तै रेडियोलोजी डिपार्टमेन्ट, सीटीस्क्यान डिपार्ट, एमआरआई डिपार्टमेन्टमा बालबालिका भएको खण्डमा बेहोस बनाएर नचल्ने अवस्था सिर्जना गरेर उपचार गर्न सघाउनुपर्ने डा. थापा बताउँछन् ।

को हुन् एनेस्थियोलोजिष्ट डा. थापा ?

चितवन भरतपुर महानगरकै स्थानीय बासिन्दा डा. थापाले सन् २००० मा रसियाबाट एमबीबीएस गरेका छन् । एमबीबीएस सकेर नेपाल फर्केपछि उनले मेडिकल अफिसरको रुपमा त्रिवि शिक्षण अस्पतालमा डेढ वर्ष काम गरे । सन् २००८ मा एनेस्थेशियामा एमडी गरेपछि नेपालगञ्ज मेडिकल कलेजमा दुई वर्ष लेक्चेररको रुपमा अनुभव बटुलेका उनी विगत १३ वर्षदेखि भरतपुर क्यान्सर अस्पतालमा सेवाररत छन् ।

वि. सं. २०६६ देखि भरतपुर क्यान्सर अस्पतालमा एनेस्थिेशियोलोजिस्टको रुपमा काम गरेका थापा दुई महिना अघि एघारौं तहमा बढुवा भइ कन्सल्टेन्ट बनेका मात्रै नभएर तीन महिनादेखि विभागीय प्रमुखको रुपमा कार्यरत छन् । उनी विभागीय प्रमुख भएसँगै तीन वर्षदेखि बन्द रहेको हस्पिस वार्ड र पेन प्यालेटिक क्लिनिक पनि सुचारु गराएका छन् ।

हस्पिस वार्ड भन्नाले क्यान्सरको उपचार असम्भव भएपछि यसले निम्त्याउने जटिलता जस्तै, दुखाइ, दिसा नहुने, वान्ता आउने, रगत र अक्सिजनको कमी, मानसिक समस्या, क्यान्सरकै लक्षणले देखाउने अन्य समस्या लगायतलाई सन्तुलित गर्न परामर्श गर्न र बिरामीलाई सहज बनाउन स्थापित वार्ड हो । यसको नियमित सञ्चालनले बिरामीलाई कठीन अवस्था र लक्षणलाई व्यवस्थापन गर्न सहजता प्रदान गरिने डा. थापा बताउँछन् ।

त्यस्तै, पेन प्यालेटिक केयर भनेको क्यान्सरका बिरामीलाई अत्यधिक शारीरिक पीडा हुने जसले गर्दा मानसिक रुपमा पनि विक्षिप्त हुने अवस्था आउने यी सबैलाई सहज बनाउने युनिट हो । जसमा पनि डा. थापाको नेतृत्वले महत्वपूर्ण भूमिका खेलेको छ ।

यी दुवै वार्डमा एनेस्थेसियोलोजिष्टले नै बिरामीलाई दुखाइ कम गराउने औषधि प्रदान गर्दछन् । बिरामीको जटिलता हेरेर दिसा खुल्ने औषधि, रगत र अक्सिजनको कमी भएमा त्यसको व्यवस्थापन, निद्रा लगाउने औषधि आदि प्रदान गर्ने कार्य यही विभागले गर्ने डा. थापा बताउँछन् ।

डा. थापा विभागको प्रमुख भएसँगै बन्द रहेको हस्पिस वार्ड सञ्चालनको विशेष पहल गरेका थिए ।

भरतपुर क्यान्सर अस्पतालमा नयाँ नेतृत्वको चर्चा

बेलाबेलै विभिन्न किसिमका घटना आएर भरतपुर क्यान्सर अस्पताल विवादास्पद हुने गरेको छ । निर्देशकले असल नेतृत्वदायी भूमिका निर्वाह नगरेको, बिचौलियाको बिगबिगी नियन्त्रण नभएको, अनियमितता भएको, बिरामीले समयमै सेवा नपाएर जटिलता भोग्नुपरेको लगायत विषयहरुले अस्पतालको छविमा नै प्रश्न समेत उठाउने गरेको छ ।

यस्तो अवस्थामा नेतृत्वले रचनात्मक बनेर हरेक परिस्थितिलाई नियन्त्रण गर्नुपर्ने डा. थापाको भनाइ छ । उनी आफू अस्पतालको उन्नति प्रगती र बिरामीको सेवामा समर्पित रहेको र आवश्यक पर्दा जस्तोसुकै योगदान दिन तयार रहेको बताउँछन् ।

नेपाल प्रेससँग कुरा गर्दै अस्पतालले हालसम्म राम्रो सेवा दिएको तर कतिपय विषयहरुमा व्यवस्थापन पक्ष मजबुत नहुँदा बाहिर विभिन्न नकारात्मक हल्ला फैलिने गरेको उनले बताए ।

‘राम्रो नेतृत्वको अभावमा यी सबै अवस्थाहरुको सिर्जना भइरहेका हुन्,’ डा. थापाले भने, ‘बाहिर आउने गरेका हल्लाबारे सचेत हुँदै कसरी बिरामीहरुलाई थप सेवा सुविधा चुस्त दुरुस्त ढंगले उपलब्ध गराउन सही नेतृत्वको आवश्यकता हुन्छ । यद्यपी, नेपाल मात्रै नभएर भारतलगायतका देशबाट बिरामी आउने क्रम जारी छ तर त्यसमा बिरामीलाई कसरी सही ढंगले सेवा दिने भन्ने कुरा चाहीँ नेतृत्वमै भर पर्दछ, सही नेतृत्वको अभावले बिरामी अल्मलिने, सेवाको गुणस्तर प्रश्न उठ्ने अवस्थालाई चाहीँ सम्बोधन गर्नुपर्ने अवस्था छ ।’

विभागको नेतृत्व गरेसँगै थापाले एनेस्थियाको प्रक्रियालाई विकास गरेर हाल एकै दिनमा २५ जनासम्म बिरामीको अपरेशन हुने अवस्था सिर्जना भएको बिरामीहरुकै अनुभव छ । अस्पताललाई १३ वर्षदेखि नजिकैबाट नियालेका डा. थापा आफ्नो स्वार्थ भनेकै आफ्नो सेवामा गुणस्तरीयता वृद्धि गर्नु रहेको बताउँछन् ।

अस्पालमा भर्खर सञ्चालक समितिको अध्यक्ष चयन भएका छन् भने अब नयाँ कार्यकारी निर्देशकको नियुक्तिको प्रक्रिया अघि बढाइएको छ । यस्तो अवस्थामा हाल रहेका निर्देशकदेखि पूर्व निर्देशकलगायत अन्य सिनियर डाक्टरहरु कार्यकारी निर्देशकको दाबेदारमा रहेका छन् ।

अस्पतालको सञ्चालक समितिले कार्यकारी निर्देशक नियुक्ति सिफारिस समिति बनाउने र तोकिएबमोजिमका तीनजना चिकित्कहरुको सिफारिस गर्ने प्रावधान रहेको छ ।

डा. थापाले जोसुकै नेतृत्वमा आए पनि अस्पतालको प्रगति र बिरामीको हक हित र चुस्त दुरुस्त सेवाका लागि आफू समर्पित रहेको बताए ।

तपाईं पनि नेतृत्वको लागि दाबेदार हो भन्ने प्रश्नमा डा. थापाले नेतृत्वमा अहिले आफ्नो दाबी नभएको तर नेतृत्व जो आए पनि आफ्नो तर्फबाट अनुभवको आधारमा नेतृत्वले चाहेको खण्डमा जे जस्तो योगदान गरेर नेतृत्वलाई सहयोग गर्न तयार रहेको बताए ।

हुन त थापालाई अस्पतालका जानकारहरुले नेतृत्व नै गर्नसक्ने ल्याकत भएको चिकित्सकको रुपमा हेर्ने गर्छन् । यद्यपी आफू अहिले नेतृत्वमा दाबी गर्ने पक्षमा उनी छैनन् । अस्पतालमा अन्य सिनियर डाक्टरहरु रहेको बरु उनीहरुले आवश्यक ठानेमा आफ्नो विज्ञता, अनुभव र दक्षतामार्फत योगदान गरेर अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन उनी उद्यत छन् ।

क्यान्सरको उपचारका लागि देश विदेशमा समेत ख्याति कमाएको बी. पी मेमोरियल अस्पतालका विभिन्न प्रणालीबाट सेवाग्राहीहरु प्रताडित हुने गरेका समाचार आउने गर्छन् । चाहे त्यौ बिचौलियाको चंगुलका कारण बिरामीले सास्ती पाउने गरेको विषय होस् कमिसनको चक्करले चिकित्सकहरुले सेवा प्रवाहमा गरेको ढिलासुस्ती, लापरवाही वा अस्पतालका आर्थिक अनियमितताका विषय नै किन नहुन् ।

आमरुपमा नेतृत्वले सही भूमिका निर्वाह गर्दा भने अस्पतालमा सुधारका ज्वार ल्याउन सकिने जानकारहरुको बुझाइ छ । जसका लागि समितिले नीति नियममा टेकेर कुनै आग्रह पूर्वाग्रह भन्दा पनि अस्पताललाई आमूल रुपान्तरणका लागि सच्चा भूमिका खेल्ने कुशल प्रशासकीय क्षमतासमेत अन्तरनिहीत चिकित्सकलाई नेतृत्व प्रदान गर्नु टड्कारो आवश्यकता देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर