लथालिङ्ग शेयर बजार, अर्थमन्त्री राष्ट्र बैंकसामु निरीह – Nepal Press

लथालिङ्ग शेयर बजार, अर्थमन्त्री राष्ट्र बैंकसामु निरीह

काठमाडौं । आइतबार शेयर बजारको एक हुल लगानीकर्ता अर्थ मन्त्रालयमा भेटियो । अर्थमन्त्री डा. प्रकाशशरण महत गुहार्न पुगेका लगानीकर्ताले करिब आधा दर्जन माग राखिएको कागज अर्थमन्त्रीलाई थमाए ।

लगानीकर्ताको अधिकांश माग नेपाल राष्ट्र बैंकसँग सम्बन्धित थिए । त्यसैले अर्थमन्त्री महतले यसका लागि राष्ट्र बैंकसँग आग्रह गरिसकेको जानकारी लगानीकर्तालाई दिए । देशको अर्थतन्त्रको बागडोर सम्हालेका मन्त्रीबाट आफूहरुको समस्या समाधान हुने कन्फिडेन्सको शब्द लगानीकर्ताले सुन्न पाएनन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लिएको १२ करोडसम्मको शेयर कर्जाको सीमा, शेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत कायम गर्नुपर्ने र ब्याजदर एकल अंकमा झार्नुपर्ने माग राष्ट्र बैंकसँग जोडिन्छ । आगामी मौद्रिक नीतिमार्फत यी विषयलाई विचार गर्न आफूले राष्ट्र बैंकलाई भनेको महतले बताए ।

अल्पकालीन लगानीकर्ताले तिर्दै आएको ७ प्रतिशतको पूँजीगत लाभकरलाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले तिर्दै आएको ५ प्रतिशतको लाभकरलाई ३ प्रतिशतमा झार्न गरिएको माग भने अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्धित छ । तर, अर्थमन्त्रीले यो विषयमा पनि आफ्नो निरीहता देखाए ।

अर्थमन्त्रीमार्फत प्रधानमन्त्री र राष्ट्र बैंकसम्म पुग्न खोजेका लगानीकर्ताहरुले अर्थमन्त्री महतको आश्वासनमा विश्वास गर्न छाडिसकेका छन् ।

लगानीकर्ताको संयुक्त संगठनले नयाँ ब्रोकर, नयाँ स्टक र नयाँ कमोडिटी एक्सचेञ्ज लाइसेन्स वितरण प्रक्रिया चाँडै कार्यान्वयन गर्न माग गर्दै आएको छ । यता नेपाल धितोपत्र बोर्डले १६ वटा नयाँ ब्रोकरलाई लाइसेन्स दिने आशयपत्र दिइसकेको छ । कमोडिटी र स्टक भने छनोटको प्रक्रियामा छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको मौद्रिक नीति समीक्षा बैशाख मसान्तसम्म सार्वजनिक गर्ने बताएको छ । लगानीकर्ताहरुले सोही समीक्षामार्फत शेयर कर्जामा लाग्दै आएको १२ करोड रुपैयाँको सीमा हट्ने आश गरेका छन् ।

मन्त्रालयले नै गर्न सक्ने करको विषयमा पनि अर्थमन्त्री महतले स्पष्ट आश्वासन नदिएको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् ।

शेयर बजारको बढ्दो दुर्दशा

करिब २ वर्षदेखि घट्न थालेको बजार अर्थमन्त्रीमा महत आएसँगै झनै ओरालो लागिरहेको छ । महत चैत १७ गते अर्थमन्त्री नियुक्त भएका थिए । गएको चैत २१ गते शेयर बजारमा एक अर्ब ९५ करोड रुपैयाँ कारोबार भएको थियो । त्यसपछि लगातार घटेको बजार बैशाख २० गतेसम्म कारोबार रकम ६२ करोड रुपैयाँमा झरेको छ ।

शेयर बजारले सकारात्मक नीतिको सिग्नल अहिलेसम्म पाएको छैन । जसका कारण लगानीकर्ताको मनोबल निकै खस्केको छ । इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार अब शेयर बजार उधारोको नीतिमा नचल्ने बताउँछन् ।

‘हुन्छ, गर्छौं भनेको भरमा बजारले पत्याउनेवाला छैन । अब बजारलाई एक्सन नै चाहिएको छ’, उनले भने, ‘हामीले गभर्नरलाई भेटेका छैनौं, अर्थमन्त्रीमार्फत नै नीतिगत सुधार गर्न फोर्स गरिरहेका छौं ।’

करिब २० महिनाको दौरान बजारले १७ खर्ब गुमाइसकेको छ । अझै कति गुमाउनुपर्ने हो भन्दै लगानीकर्ताहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्राथमिकता हेरेर निर्णय लिन्छौं : राष्ट्र बैंक

मौद्रिक नीतिको तेस्रो त्रैमास समीक्षामा जुटेको राष्ट्र बैंक चैतर्फी समस्या आएकाले प्राथमिकताका आधारमा सम्बोधन गर्ने पक्षमा रहेको छ । राष्ट्र बैंकका अनुसार अहिलेको पहिलो जिम्मेवारी आर्थिक गतिविधि बढाउनु हो । त्यसैले कसैको दबाब र प्रभावमा नपरी अर्थतन्त्र बढाउनेनीति लिने बताउँछन् राष्ट्र बैंकका एक कार्यकारी निर्देशक ।

उनी भन्छन्, ‘उद्योग व्यवसायको समस्या सम्बोधन गर्ने कि, शेयर बजारको गर्ने कि, अन्तर्राष्ट्रिय दाता आईएमएफले भनेको मान्ने कि के गर्ने भन्ने विषय हामीले हेरिरहेका छौं । सबैभन्दा पहिला अर्थतन्त्र चलायमान बनाउने गरी नीति लिएपछि सबै क्षेत्र आफैं सुध्रिनेछ ।’

सोमबार अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) बोर्ड बैठकमा पहिलो र दोस्रो त्रैमासिकको समीक्षा गर्दै राष्ट्र बैंकको नीतिले ठीक काम गरेको निष्कर्ष निकालेको थियो । महामारीपछिको बलियो रिकभरी र त्यसपछि लिएको कडाइको नीतिले बाह्य झट्का र आवश्यक नीतिगत समायोजनले जीडीपी वृद्धिलाई सघाएको आईएमएफको ठहर थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लिएको कडाइकोआईएमएफले प्रशंसा गरेको थियो । यसैकारण विगत एक वर्षदेखि रोकेको दोस्रो किस्ताबापतको विस्तारित कर्जा सुविधा (ईसीएफ) ५२.८ मिलियन अमेरिकी डलर (करिब ७ अर्ब) दिने पनि निर्णय गरिएको थियो । देशको अर्थतन्त्र चलायमान बनाउँदै दाताहरुलाई पनि नचिढ्याउने पक्षमा राष्ट्र बैंक उभिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर