जन्मस्थल पुगेका कामु प्रधानन्यायाधीशले भने- न्यायिक समितिले फैसला होइन, मेलमिलाप गराउने हो (भिडिओ) – Nepal Press

जन्मस्थल पुगेका कामु प्रधानन्यायाधीशले भने- न्यायिक समितिले फैसला होइन, मेलमिलाप गराउने हो (भिडिओ)

ओखलढुंगा । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति सिफारिस नगरेर अलमल भइरहेका बेला कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की जन्मथलो ओखलढुंगा भ्रमणमा आइपुगेका छन् ।

सर्वोच्च अदालतको न्यायाधीश सिफारिस भएर पनि नियुक्ति नपाएका प्रस्तावित न्यायाधीश विनोद शर्मासहित जन्मथलो ओखलढुंगा आएका कार्कीले लिखु गाउँपालिका- ३ स्थित नर्मदेश्वर महादेव मन्दिरमा पूजाअर्चना गरेका छन् ।

नर्मदेश्वरको दर्शन र स्थानीयसँग छलफलपछि कामु प्रधानन्यायाधीश कार्की ससुराली जिल्ला रामेछापको प्राचीन साँघुटार बजारमा पुगेर पुराना चिनजानका मान्छेहरुलाई भेटेर बजार भ्रमण गरेका छन् ।

नर्मदेश्वरमा कार्कीलाई गाउँपालिका उपाध्यक्ष अस्मिता थापा र वडाध्यक्ष शोकर्ण श्रेष्ठले स्वागत गरेका थिए । उपाध्यक्ष थापासँगै साँघुटार बजार भ्रमण गरेर कामु प्रधानन्यायाधीश कार्की प्रसिद्ध पोकली झरनातर्फ लागे ।

लिखु गाउँपालिका- ९ स्थित पोकली झरनाको भ्रमण र अवलोकनपछि गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा कार्की सहभागी भएका थिए । प्रस्तावित न्यायाधीश शर्माको जन्मघरसमेत सोही वडामा पर्छ ।

कामु प्रधानन्यायाधीश कार्की र प्रस्तावित न्यायाधीश शर्मालाई स्वागत गर्दै गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले नर्मदेश्वर महादेवको आशीर्वाद र पोकली झरनाको प्रतापले दुवै न्यायमूर्ति तत्कालै आआफ्नो पदमा नियुक्त हुने विश्वास व्यक्त गरिन् ।

थापाले गाउँपालिकाको न्यायिक समिति प्रमुखको अनुभवसमेत सुनाउँदै स्थानीय तहमा न्याय सम्पादन गर्ने दक्ष जनशक्ति नहुँदा समस्या भएको भन्दै सर्वोच्च अदालतले संघीय सरकारलाई उचित निर्देशन दिने उपाय खोजिनुपर्ने बताइन् ।

उनले ओखलढुंगामा जन्मिएको व्यक्ति देशको न्यायपालिका प्रमुख बनेको जिल्लाले गौरव महसुस गरेको बताइन् ।

गाउँपालिकाको स्वागत ग्रहण गर्दै कार्कीले आफूमा झुण्डिएको कामुको गहना नर्मदेश्वर महादेव र पोकलीको प्रतापले चाँडै हट्ने र त्यसकै लागि आफू जन्मथलो फर्किएको भन्दै ठट्टा गरेका थिए ।

कार्कीले ३२ वर्षे वकालती र ७ वर्षे न्यायाधीश जीवनमा ओखलढुंगाको शीर झुक्ने कुनै काम आफूबाट नभएको भन्दै आफूबाट भ्रष्टाचार, धाँधली, कसैमाथि अन्याय नहुने बताए ।

कार्कीले भने, ‘जन्मथलोमा आएर प्रण गर्छु म तपाईंहरुको शीर झुक्न दिनेछैन । यसले भ्रष्टाचार, धाँधली, अन्याय गर्छ भन्ने सुन्न पर्ने छैन । सबैले आशीर्वाद दिनुस् । यहाँ म तपाईंहरुको आशीर्वाद थाप्न आएको हुँ ।’

कामु प्रधानन्यायाधीश कार्कीले गाउँपालिका उपाध्यक्ष थापाको भनाइमा प्रतिक्रिया दिँदै न्यायिक समितिले गाउँका झगडा र विवादहरु मिलाउन भूमिका खेल्नुपर्ने बताए ।

कार्कीले भने, ‘न्यायिक समितिले मुद्दा फैसला गर्ने होइन, विवाद मिलाउने हो । घर झगडा, छिमेकीसँगका झगडा यस्तै आउने हुन् । मिलेर बसाउने भूमिका खेल्नुहोला । म चाहन्छु ओखलढुंगा जिल्लाको मुद्दा मैले हेर्न नपरोस् । ओखलढुंगाका मान्छे झगडा र मुद्दा मामिला गर्दैनन् भन्ने होस् ।’

कामु प्रधानन्यायाधीशलाई वडा नम्बर ९ का वडाध्यक्ष केशवहरि ढुंगेल, सोही गाउँपालिका घर भएका वरिष्ठ अधिवक्ता शंकर सुवेदीलगायतले स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *