लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई पहिचानको समस्या- करुणाको नाम नागरिकतामा चिन्तामणी !
कैलाली । आशिका चौधरीलाई घरका सदस्यले मनोजकुमार चौधरी भनेर चिन्छन् । उनका आफन्तहरू पनि त्यही नामले सम्बोधन गर्छन् । नागरिकतामा पनि उनको नाम मनोज नै छ ।
कैलाली जिल्ला प्रशासन कार्यालयबाट २०६४ सालमा आफू पुरुष भएको भन्दै उनले नागरिकता लिएकी थिइन् । नागरिकतामा उनले पुरुष र नाम मनोजकुमार उल्लेख गरे पनि अहिले भने उनलाई आशिका भनेर चिन्नेहरू छन् ।
आफू यौनिक तथा लैंगिक अल्पसंख्यक सूचीमा रहेको थाहा पाउन उनलाई दुई दशक बढी समय लाग्यो । त्यसपछि उनी मनोजबाट आशिकामा रूपान्तरित भइन् ।
त्यो बेलासम्म उनको पुरुषसँगै विवाहसमेत भइसकेको थियो । उनीहरुको वैवाहिक यात्रा लामो समय जान सकेन । अहिले उनीहरु छुट्टिएका छन् । तर, उनीहरूसँग न विवाह गरेको रेकर्ड छ न त छोडपत्र भएको छ ।
‘महिला र पुरुषको विवाह हुँदा समाजले सम्मान गर्छ, छोडपत्र हुने अवस्थामा पनि उनीहरूलाई रोक्ने प्रयास हुन्छ । तर, हामीलाई त दुबै बेलामा समाजले फरक व्यवहार गर्नेरहेछ’, उनले सम्झिइन्, ‘हाम्रो त यो समाजमा कुनै अर्थ रहेनछ ।’
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा रहेर पनि पुरुषको नामबाट नागरिकता बनाउनुपरेको बाध्यताले उनलाई सबैभन्दा बढी पिरोलेको छ । त्यसैमाथि मतदानका बेलामा पुरुषले महिलाको लाइनमा पठाउने र महिलाले पुरुषको लाइनमा पठाउने गरेको नमीठो अनुभूवसमेत छ उनीसँग ।
‘महिलाको लाइनमा लाग्दा नागरिकताको नाम हेरेर तपाईंको लाइन उता हो भन्दै पुरुषको लाइनमा पठाउँछन्, पुरुषको लाइनमा लाग्दा शारीरिक बनावट हेरेर महिलाको लाइनमा पठाउँछन्’, उनले भनिन् ‘निर्वाचनका बेलामा हाम्रो लागि छुट्टै लाइन नबनाउँदा पनि समस्या छ ।’
पोखराकी सिम्रन शेरचनको नागरिकतामा नाम नवीन शेरचन छ । उनले पनि पुरुषको नामबाट नागरिकता बनाएकी छन् । अहिले अन्यबाट नागरिकता बनाउँदा निकै झन्झट भएको उनको भनाइ छ ।
उता मोरङकी करुणा नेपालको नाम पनि नागरिकतामा चिन्तामणि नेपाल छ । नागरिकतामा उनलाई पनि पुरुषमै राखिएको छ । नागरिकतामा पुरुष लेखिएको भए पनि उनी आफूलाई तेस्रो लिंगीको सूचीमा राख्न चाहन्छिन् । चिन्तामणिबाट करुणा भएकी उनले अहिलेसम्म नागरिकतामा करुणा भने लेख्न पाएकी छैनन् ।
नागरिकतामा उल्लेखित नाम र लिङ्ग परिवर्तन गर्न चिकित्सकबाट तेस्रो लिंगी भएको प्रमाणीकरण गर्नुपर्ने भएकाले उनीहरु समस्यामा परेका छन् । पछिल्लो समय तेस्रो लिङ्गीलाई ‘अन्य’ नै भनेर नागरिकता दिने गरिएको छ । तर, यसअघि नागरिकता लिइसकेकाले आफ्नो लिङ्ग परिवर्तन भएको भनी लैङ्गिक पहिचान र नाम फेर्न चाहेमा चिकित्सकले प्रमाणीकरण गरेको कागजात पेश गर्नुपर्ने प्रावधान राखेपछि उनीहरुलाई समस्या परेको हो ।
नेपालमा लिङ्ग परिवर्तन गर्ने अस्पताल नभएको र विदेशमा गएर लाखौं खर्चेर लिङ्ग परिवर्तन गर्न सम्भव नभएको उनीहरुको भनाइ छ । पुरुष भएर जन्मिए पनि स्वभावमा महिला र महिला भएर जन्मिए पनि स्वभावमा पुरुष भएका तेस्रो लिङ्गीलाई अहिले आफ्नो नागरिकतामा ‘लिङ्ग’ परिवर्तन गर्न समस्या भइरहेको हो ।
‘हाम्रो नाम र लैङ्गिक पहिचान भिन्न छ । त्यसैमाथि लैङ्गिक पहिचानसँग मिल्ने नाम नहुँदा हामीलाई नागरिकता देखाउनै समस्या हुन्छ’, करुणाले भनिन्, ‘हामीसँग नागरिकता हुँदा पनि अनागरिक भएका छौं ।’
पछिल्लो समय तेस्रो लिङ्गीलाई नागरिकता पाउन समस्या छैन । तर, नागरिकता भएर पनि अधिकार पाउन भने अझै सकस रहेको उनीहरुको भनाइ छ । कैलालीको कैलारी गाउँपालिकाकी निरङ्ग चौधरीले अन्यमार्फत नागरिकतामात्रै बनाएकी छैनन्, राहदानीसमेत बनाइसकेकी छन् । नागरिकता र राहदानी हुँदा पनि समस्या भइरहेको उनको भनाइ छ ।
‘लोकसेवा आयोगको परीक्षामा पुरुष र महिलाको मात्रै उपस्थिति लिएर आएका थिए । मैले आफ्नोबारेमा भनेपछि मात्रै मेरो उपस्थिति हुने अवस्था आयो’, उनले भनिन्, ‘नागरिकता र राहदानी हुँदा पनि समाजले सरल दृष्टिकोणले हामीलाई हेरिरहेको छैन ।’
पहिचान लुकाएर नागरिकता लिन बाध्य भएको र आफ्नो पहिचानका विषयमा बताउन नसक्ने भएको हुँदा सरकारी तथ्याङ्कहरूमा पनि अन्यको संख्या कम देखिएको सुदूरपश्चिम समाजकी अध्यक्ष करुणा नेपालले बताइन् ।
‘हामी नागरिक भएर पनि पहिचानसहितको नागरिकताबाट वञ्चित छौं’, उनले भनिन्, ‘आफ्नो पहिचान बताउन नसक्दा सरकारी तथ्याङ्कमा अन्यको तथ्याङ्क पनि सही आउन सकेको छैन ।’
सुदूरपश्चिम समाजका अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीबाट दुई जनाले मात्र अन्यबाट नागरिकता लिएका छन् । चार जनाले भने अन्यबाट राहदानी लिएको अध्यक्ष नेपालले बताइन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी प्रक्रिया पूरा भएर आएकाहरूको लागि नागरिकता प्राप्तिमा समस्या नरहेको बताउँछन् ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्कअनुसार कैलालीमा दुई हजार ३४९ जना तेस्रो लिङ्गी रहेका छन् । जसमध्ये दुई जनाले मात्रै अन्यबाट नागरिकता लिएका छन् । अधिकांशले भने विभिन्न सामाजिक तथा पारिवारिक कारण महिला वा पुरुषको नाममा नागरिकता लिएको पाइएको यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको महासंघ नेपालकी कार्यक्रम संयोजक शेरचनले बताइन् ।
‘नागरिकताको लागि वडा कार्यालयको सिफारिस अनिवार्य हुन्छ । अन्यबाट सिफारिस लिन जानै समस्या भएको गुनासो पनि हामीसम्म आइरहेको छ’, उनले भनिन्, ‘त्यस्तो अवस्थामा तेस्रो लिङ्गी भएर पनि पुरुष र महिलाबाट नागरिकता लिन बाध्य छन् ।’
आफ्नो इच्छाको नाम र लिङ्गको आधारमा नागरिकता दिनुपर्ने माग गर्दै कार्यक्रम संयोजक शेरचनले नागरिकता लिन गएका व्यक्तिकाे स्वघोषणाको आधारमा नागरिकता पाउनपर्ने बताइन् । ‘चिकित्सकबाट प्रमाणीकरण भन्ने कुराले समस्या भइरहेको छ । यो प्रावधान परिवर्तन हुनुपर्छ’, उनले भनिन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई राज्यबाटै विभिन्न अवसर दिन र लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्न सरकारले छुट्टै नीति बनाउनुपर्ने उनको माग छ ।