मिसन ग्रासरूट डायरी : एक जनामात्रै पार्टी सदस्य भएको ठाउँ पुग्दा
नेकपा एमालेले मिसन ग्रासरूट अभियानअन्तर्गत गत फागुनदेखि केन्द्रीय सदस्यलाई पालिका पालिकामा खटाएको थियो । मेरो जिम्मा बागलुङको तमानखोला र निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका थियो । यी तीन वटै पालिका गण्डकी प्रदेशको पश्चिम सिमानामा पर्छन् । निसीखोला गाउँपालिका गुल्मी, रूकुम, रोल्पा र प्युठानसँग जोडिएको छ । ढोरपाटनको वडा नम्बर ९ रूकुम र बाँकी म्याग्दीसँग, तमानखोलाको म्याग्दीसँग जोडिएको भौगोलिक अवस्था छ ।
मिसन ग्रासरूटअन्तर्गत फागुन १२ गते बागलुङ जिल्ला भेला भएको थियो । त्यसपछि चैतको पहिलो हप्तादेखि वडा-वडामा कार्यक्रम सुरू भए । म फागुन १६ गतेदेखि बागलुङ खटिएँ । बीचमा स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल महिला संघको चुनावलाई पोखरा बोलाइयो । चैत १३ गतेदेखि फेरि बागलुङ गएँ र मिसन ग्रासरूटकै काममा चैत २७ गतेसम्म बसें ।
हाम्रो मुख्य उद्देश्यअनुसार संगठन सुदृढीकरण र संगठन विस्तारमा केन्द्रित थियौं । सदस्यता नवीकरण, कमिटी गठन-पुनर्गठन सक्ने, पार्टीका नेतृत्वको सम्भावना बोकेकाको पहिचान गर्ने, अन्य पार्टीबाट ल्याउन प्रेरित गर्ने, जनवर्गीय संगठनसँग अन्तरक्रिया, पार्टीको स्थानीय तहमा देखिएका अन्तरविरोधलाई समाधान गर्ने, जनता र जनप्रतिनिधिबीचको दूरी घटाएर समस्या समाधान गर्नेलगायत योजना ग्रासरूटका थिए । आधारभूत जनता, पछाडि परेकालाई कसरी पार्टीमा ल्याउने भन्नेमा पनि हामी केन्द्रित भयौं ।
जनताको घरमै बस्ने, जनतासँगै खाने गर्यौं । म गएको निसीखोला, तमानखोला, ढोरपाटनको उपल्लो भेग गण्डकी प्रदेशकै निकै पिछडिएको ठाउँ हो । तीन वटै पालिकामा हामी पार्टीगत हिसाबले असाध्यै कमजोर छौं । ढोरपाटनमा प्रमुख हाम्रै पार्टीको हुनुहुन्छ । त्यहाँको उपप्रमुख र अन्य दुई पालिकाको प्रमुख-उपप्रमुख हामीले जित्न सकेनौं । मध्य बागलुङबाट टाढा भएकाले म खटिएका पालिकाको प्रतिनिधित्व गर्ने गरी त्यहाँबाट केन्द्रमा पनि साथीहरू निकै कम हुनुहुन्छ ।
बागलुङमा सधैं अरूसँग मिलेर चुनाव लड्थ्यौं । लड्दा अरूलाई त्यही क्षेत्र छुट्याइन्थ्यो । म जाँदा त्यहाँका स्थानीय साथीहरूले हामीले अहिलेसम्म सूर्यमा जम्मा दुईपटक भोट हाल्न पायौं, अनि कसरी पार्टी बन्छ भन्नुहुन्थ्यो । मंसिरको चुनावमा गठबन्धनविरुद्ध र त्योभन्दा पहिला एक पटक मत हाल्नुभएको रहेछ । बागलुङ जनमोर्चा पक्षधर राम्रो भएको जिल्ला मानिन्छ । जनमोर्चाको गुण्डागर्दी शैली र माओवादीको पनि त्यस्तै रबैया रहेछ ।
एक जनामात्रै पार्टी सदस्य !
म गएका तीन पालिकामध्ये तमानखोला कमजोरमध्ये पनि निकै कमजोर रहेछ । तमानखोला-५ खुङ्खानी गएको थिएँ । बुर्तिबाङबाट तीन घण्टा स्थानीय जिप चढेर गएका थियौं । पार्टीको ढोरपाटन कमिटी अध्यक्ष गणेश थापामगर, तमानखोलाका कमरेड गजेन्द्र छन्त्याललगायत स्थानीय साथी खुङ्खानी गएका थियौं ।
तमानखोला- ५ मा जम्मा एक जनामात्रै पार्टी सदस्य हुनुहुन्थ्यो । त्यहाँ हाम्रो कमिटी नै छैन । हामीले अहिले पार्टी सदस्यता फारम भरेर १० जना पु¥याएका छौं । खुङ्खानी निकै अनकन्टार ठाउँमा छ । हाम्रो संगठन कमजोर छ भनेर हामी जोसँग मिल्थ्यौं, उसलाई भाग दिन्थ्यौं । अब त्यसलाई सुधार गर्नुपर्छ । अब संगठन पनि विस्तार गर्नुपर्नेछ ।
बागलुङमा सधैं अरूसँग मिलेर चुनाव लड्थ्यौं । लड्दा अरूलाई त्यही क्षेत्र छुट्याइन्थ्यो । म जाँदा त्यहाँका स्थानीय साथीहरूले हामीले अहिलेसम्म सूर्यमा जम्मा दुईपटक भोट हाल्न पायौं, अनि कसरी पार्टी बन्छ भन्नुहुन्थ्यो ।
त्यो वडामा हामीलाई गत मंसिरको चुनावमा समानुपातिकमा २३२ मत आएको थियो । त्यो अहिलेसम्मकै धेरै पनि हो । २०७९ को वैशाखको स्थानीय तह चुनावमा तमानखोला- ५ मा त हाम्रो उम्मेदवार नै उठाउन सकेनौं । तमानखोला र निसीखोलामा हामी कतिसम्म कमजोर छौं भने हाम्रो पार्टी वडाध्यक्ष लड्दा पनि तेस्रो भएको थियो । निसीखोला- २, ५ मा त स्वतन्त्र उम्मेदवारले हामीलाई जितेका थिए ।
तमान र निसीखोलामा हाम्रो जनप्रतिनिधि नै हुनुहुन्न । ढोरपाटनमा मेयरको व्यक्तित्वकै कारणले पार्टीको प्रभाव छ । तर, संगठनात्मक हिसाबले हामी कमजोर छौं । अहिलेको अभियानमा हामी जुट्यौं, त्यसले केही आशा जगाएको छ । बागलुङबाट प्रदेशसभामा समानुपातिकबाट चार जना र प्रतिनिधिसभामा एक जना हुनुहुन्छ । त्यो पनि हाम्रो पूँजी हो । यसले गर्दा आगामी दिनमा पार्टी संगठन विस्तार, चुनाव जित्ने आधार बनेको छ । जनमोर्चा र माओवादीबाट हाम्रो पार्टीमा आउने क्रम पनि जारी छ ।
कमिटी विस्तार, छलफल गर्यौं । ढोरपाटन नगरपालिका- ७ र ८ को अधिवेशन गर्यौं । टोलटोलमा पुग्यौं । मलाई के लाग्यो भने कमजोर रहेका क्षेत्रमा जिल्लाका पार्टी नेतृत्व र केन्द्रीय कमिटी सदस्यले ध्यान दिनुपर्छ । म दुर्गम वडामा गइरहँदा त्यहाँका साथीले सोध्नुभयो- कसरी आइपुग्नुभयो ? यहाँ त आजसम्म कुनै केन्द्रीय कमिटीको सदस्य, जिल्लाको नेतृत्व पनि आउनुभएको छैन ।
म गएका भूगोलमा सबैभन्दा समस्या यातायातको छ । कुनै ठाउँमा ८-१० किलोमिटर बाटो कच्ची छ । त्यहाँ जीप चढेपछि केही नभए पनि ५/७ सय रूपैयाँ भाडा तिर्नुपर्छ । पोखराबाट गाडीले बुर्तिबाङ गएको १४-१५ सय रूपैयाँ लिन्छ । दुरी १६० किलोमिटर जति हो । तर, बाटो बागलुङबाट उकालो लागेपछि राम्रो नहुँदा महँगो भाडा तिर्नु परिरहेको छ ।
तमानखोला, निसीखोलातिर मगर समुदाय बाहुल्य छ । म ढोरपाटन नगरपालिका- ८ सेराबाङ पुगेको थिएँ । त्यहाँ ७० प्रतिशत जति दलित समुदायको बसोबास छ । जुन समुदाय छ, त्यसअनुसार नै कमिटी रहनुपर्छ भनें । त्यसो हुँदा त्यहाँ अध्यक्ष, सचिवसहित पदाधिकारी दलित समुदायबाटै बनायौं । त्यहाँको मान्छेलाई वृद्धभत्ता एमालेले दिएको हो, देश चलाउने पार्टी हो भन्ने नै छैन । मैले त्यहाँ जनमोर्चासँग केन्द्रित रहेर एउटा कुरा राखें । मैले त्यहाँका स्थानीयलाई भनें- एउटा, जिल्ला, टोलमा पार्टी भएर देश चल्छ ? जनमोर्चा बागलुङमा मात्र भएर देश बन्छ ? चल्छ ? कसैसँग यसको जवाफ नै थिएन ।
मिसन ग्रासरूटलाई यत्तिकै छोडेर हुँदैन । त्यहाँ देखेका, सुनेका कुरालाई अझै घच्घचाउनुपर्छ । त्यहाँ पार्टी अझै केन्द्रित हुनुपर्छ । त्यस्तो ठाउँलाई पार्टीले विशेष रूपमा हेर्नुपर्ने क्षेत्र भनेर तोकिनुपर्छ र त्यस्तो भयो भने त्यहाँ हाम्रो पार्टीको सम्भावना पनि धेरै छ ।
पोखराको मेयर (२०५४ सालमा) भएको, सांसद (प्रदेशसभा) भएको मान्छे, पोखरामा बसेको मान्छे दुर्गम ठाउँमा आउनुहुन्छ र भन्ने शंका रहेछ । उहाँहरूले त बुर्तिबाङसम्म आउनुहोला त्यहाँभन्दा माथि गाउँठाउँ उक्लनुहुन्न भन्ने सोच्नुभएको थियो ।
पोखरा भनेको नेपालको ‘यूरोप-अमेरिका’ नै हो । निसीखोला, तमानखोला, ढोरपाटन शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र जनताको आम्दानीको हिसाबले पछाडि छ । ती ठाउँ त राज्यको पहुँचबाट धेरै पछाडि छन् । पोखरेलीले राज्यबाट जे पाएका छन्, त्यो ठाउँले पनि पाउनुपर्छ ।
जापानीहरू जाइका प्रोजेक्टमा नेपालका दुर्गम ठाउँमा गएर दुई-चार वर्ष काम गरेका हुन्छन् । पहिला पहिला अमेरिकीहरू स्वयंसेवी भएर नेपालमा काम गर्थे । अहिले दक्षिण कोरियाका नागरिकहरू कोयका परियोजनाबाट आएर काम गर्छन् ।
पोखरा र त्यो ठाउँको तुलना गर्नै मिल्दैन । पोखरा भनेको नेपालको ‘यूरोप-अमेरिका’ नै हो । निसीखोला, तमानखोला, ढोरपाटन शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र जनताको आम्दानीको हिसाबले पछाडि छ । ती ठाउँ त राज्यको पहुँचबाट धेरै पछाडि छन् । पोखरेलीले राज्यबाट जे पाएका छन्, त्यो ठाउँले पनि पाउनुपर्छ । मैले पार्टीले संगठन विस्तार गर्न ‘विशेष जोन’ बनाउनुपर्छ भने जस्तै सरकारले पनि त्यहीअनुसार सोच्नुपर्छ ।
एक जना दिलबहादुर कुमाल (ढोरपाटन-२ सिमरचौर) भन्ने साथीकहाँ बसेको थिएँ । विप्लव नेतृत्वको पार्टीबाट हाम्रोमा आउनुभएकाले उहाँसँग राजनीतिक कुरा पनि गरौं भनेर त्यहाँ गयौं । डाँडाको भित्तामा दुई वटा कोठाको घर छ । पाँच जना छोराछोरी र श्रीमतीसहित सात जनाको परिवार छ ।
उहाँले जालबाट माछा मार्ने गर्नुहुने रहेछ । उहाँले मलाई भन्नुभएको थियो- ‘आज म आफैंले मारेको माछा खुवाउने हो है कमरेड !’ उहाँले ल्याउनुभयो । तारे होटलमा बस्दा पनि मान्छेको मनले शान्ति नपाउन सक्छ । तर, त्यो गाउँ र माया देखाएको देख्दा आनन्द दिन्छ । म उहाँको घरमा खाएको बसेको कहिल्यै बिर्सिन्नँ ।
ढोरपाटनको सेराबाङ भन्ने ठाउँमा एकजना पुरानो कमरेड हुनु हुँदोरहेछ । उहाँले सुनाउनुभयो- ‘पहिला यहाँ एक-दुई जनामात्रै थियौं । साह्रै हेप्थे । जनमोर्चाको बिगबिगी थियो ।’ हामी सुगम ठाउँमा बसेर एउटा स्कुलिङ र अवस्थामा हुर्कियौं । उहाँहरूको दुःख अर्कै छ । कति साथीलाई जनमोर्चा, माओवादीले मर्यो भनेर पनि फालेका थिए ।
निसीखोला- ३ लाम्आले भन्ने ठाउँ छ । त्यहाँ उद्दीप भन्ने पुरानो कमरेड हुनुहुन्छ । पञ्चायतको थिचोमिचो हुँदा पनि त्यहाँ जुध्नुभएको रहेछ । त्यस्तो ठाउँ बसेर, जुधेर साथीहरूले गरेको योगदान निकै महत्वपूर्ण छ । त्यसरी नै संघर्ष गरेका एक जना साथी ढोरपाटन नगर संगठन कमिटीको अध्यक्ष गणेश थापा मगरलाई माओवादीले आक्रमण गरेर मर्यो भनेर फालिएको थियो । एकपटक जनमोर्चाको मान्छेले पनि त्यस्तै गरे । त्यसरी जुधेर साथीहरू काम गर्नुभयो । तर, सत्तामा कहीं पुग्नुभएको छैन नि ! त्यो कुरा हाम्रो लागि ठूलो प्रेरणा र पार्टीलाई ठूलो पूँजी हो । त्यस्ता कार्यकर्तालाई संरक्षण गर्नुपर्छ ।
वास्तविक अप्ठ्यारो गाउँ र दुर्गम भूगोलमा रहेकालाई छ । त्यहाँ गाडी लिएर हिँड्न साध्य हुँदैनथ्यो । कच्ची बाटो भए पनि गाउँगाउँ पुगेको छ । हामी मोटरसाइकलमा गयौं । म पुगेका पालिकामा बाटो निकै अप्ठेरो छ । कथंकदाचित मान्छे बाटोबाट खस्यो भने हाड पनि भेट्टाउन गाह्रो पर्छ ।
हामी एक दिनमा एउटा वडामा पुग्यौं । मोटरसाइकलमा जान आउनै ३-४ घण्टा लाग्ने ठाउँ थियो । पोखराको जुन भूगोलमा भए पनि हामी एक घण्टामा मुख्य बजार आउन सक्छौं । तर, तमानखोला, निसीखोलाको गाउँका बासिन्दालाई त्यस्तो छैन । म फेरि त्यो ठाउँमा मेरो कामले जाने कुरा हुँदैन । त्यहाँ गाउँगाउँ जाँदा जे जति देखियो, आउँदा जाँदा दुःख भयो त्यो नै जीवनको शिक्षा हो ।
(थापा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं कास्की जिल्ला इन्चार्ज हुन् ।)