हुलाकी सडक निर्माणमा बेथिति : नसच्चिए कडा कदम चाल्ने संघीय, प्रदेश सांसद र पालिका प्रमुखहरूको चेतावनी – Nepal Press

हुलाकी सडक निर्माणमा बेथिति : नसच्चिए कडा कदम चाल्ने संघीय, प्रदेश सांसद र पालिका प्रमुखहरूको चेतावनी

विराटनगर । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मोरङ जिल्लामा रहेको पूर्व-पश्चिम हुलाकी सडक निर्माणमा बेथिति भएको भन्दै दुईजना संघीय सांसदसहित मोरङका प्रदेश सभा सदस्य र पालिका प्रमुखहरूले बेथिति रोक्न माग गरेका छन् ।

विज्ञप्ति जारी उनीहरूले हुलाकी सडक निर्माणमा बेथिति भएको र बेथिति नरोकिए स्थानीय तह समेतको सहभागितामा कडा कदम चाल्ने चेतावनी दिएका छन् ।

मोरङ क्षेत्र नम्बर १ का संघीय सांसद ऋषीकेश पोख्रेल ५ का योगेन्द्रप्रसाद मण्डल ६ जना कोशी प्रदेश सभा सदस्य र ५ जना पालिका प्रमुखहरूले हुलाकी सडक निर्माणको काम गुणस्तरीय नभएको दाबी गरेका छन् ।

उनीहरूले सडक निर्माणको काम गुणस्तरीय छ छैन, जनप्रतिनिधिको रोहबरमा मूल्याङ्कन र परीक्षण गरिनु पर्ने, आयोजना क्षेत्रको विभिन्न ठाउँमा अपुरो छोडिएका कामहरू तत्काल सम्पन्न गर्नु पर्ने माग राखेका छन् ।

यस्तै, निर्माणको क्रममा सर्वसाधारणलाई असुविधा सिर्जना गर्ने, जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने र सडक क्षेत्रको सौन्दर्यीकरण गर्ने कामलाई तत्काल व्यवस्थित गर्नु पर्ने,,आयोजनाको काम ठप्प रोकिएको विषयमा कारणसहित जानकारी गराउनु पर्ने माग राखेका छन् ।

माग सम्बोधन गरी हुलाकी सडक निर्माणको काम नभए आवश्यक कडा कदम चाल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्तिमा प्रदेश सभा सदस्यहरू गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी भीम प्रसाद पराजुली र गयानन्द मण्डल र अमृत अर्यालले ले हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा रतुवा माई नगरपालिकाका प्रमुख नागेश्वर प्रसाद सिंह सुनबर्षी नगरपालिकाका प्रमुख श्याम राजवंशी रङेली नगरपालिकाका प्रमुख दिलीप बगडिया, धन पाल थान गाउँपालिकाका जिवछ राय, कटहरी गाउँपालिकाका देवराज चौधरी र जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र प्रसाद साहले हस्ताक्षर गरेका छन् ।

मोरङमा हुलाकी सडकअन्तर्गत ४४ किलोमिटर क्षेत्र पर्दछ । रतुवा माई नगरपालिकादेखि विराटनगरको केशलीया सम्मको सडक निर्माणका लागि ५ टुक्रामा ठेक्का लगाइएको छ ।ठेक्का लागेको मध्ये रङेली नगरपालिका क्षेत्र भित्र पर्ने सडकको काम भने सकिएको छ ।

अन्यत्रको काम भने अधुरो हुँदा समस्या भएको सांसद ऋषीकेश पोखरेलले बताए । उनले पटक पटक ठेकेदार कम्पनी र आयोजनालाई भन्दा पनि अटेर गरेकाले बाध्य भएर संयुत रूपमा विज्ञप्ति जारी गर्नु परेको बताए ।

मोरङ खण्डको सडकको सडक निर्माण गर्न गजुरमुखी, मोती डन, कालिका, मैना चुली, कान्छाराम, श्रेष्ठ कन्स्ट्रक्सन, देव एन्ड सायर र भूमि कन्स्ट्रक्सनले ठेक्का पाएका छन् । केशलिया खण्डको बाहेक सबै ठेक्काको अवधि गत कात्तिकमै सकिएको हो । तर सडक निर्माणको ५० प्रतिशत पनि काम भने भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *