पीएसजीमा अनिश्चित मेसीको भविष्य: अबको यात्रा बार्सिलोना, साउदी अरबिया कि मियामी ?
काठमाडौं । लियोनल मेसीले यो सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मन (पीएसजी) छोड्ने भएका छन् । पीएसजीले दुई हप्ताका लागि निलम्बन गरेको भोलिपल्ट नै स्टार अर्जेन्टिनी फरवार्ड मेसी क्लबमा रहने कि नरहने भन्ने आशंका गरिएको थियो ।
तर, उनका बुवा जर्जले केही महिनाअघि पीएसजीलाई मेसीले यो सिजनको अन्त्यमा पीएसजी छोड्न चाहेको बताएका थिए । त्यसैले पनि उनले यो सिजनको अन्त्यमा पीएसजी छोड्ने पक्का जस्तै छ ।
बार्सिलोनाले पनि मेसीलाई पुनः टीममा भित्र्याउन चाहिरहेको छ । तर, बार्सिलोनासँगको अर्थिक मन्दीका कारण उनी त्यतै फर्किन असम्भव जस्तै छ ।
बार्सिलोनाले क्लबमा रहेका गाभी, रोनाल्ड अरौजो, अलेजान्ड्रो ब्लादे, मार्कोस अलोन्सो र सेर्जि रोबर्टोसँग नयाँ सम्झौता गर्न बाँकी छ । बार्सिलोनाको आर्थिक स्थितिका कारण यी खेलाडीहरुलाई लालिगाको तलब नियमका अनुसार सम्झौता नवीकरण गर्नुपर्ने हुन्छ ।
उनलाई अरु क्लबहरुले महँगो मूल्यमा भित्र्याउन चाहेका छन् । साउदी अरबियन क्लब अल हिलालले मेसीलाई वार्षिक ३५० मिलियन यूरो प्रस्ताव गरेको छ । बाँकी एक वर्ष पीएसजीमा रहने सम्भावना रहँदा विश्वमा ५८औं स्थानमा रहेको साउदी प्रो-लिग खेल्न जानु उनको लागि उत्कृष्ट विकल्प पक्कै होइन ।
मेसी सन् २०२४ मा अमेरिकामा आयोजना हुने कोपा अमेरिकासम्म यूरोपमै बस्न चाहन्छन् । उनको त्यो सोच अहिले परिवर्तन भएको हुन पनि सक्छ ।
यस्तै डेबिट बेकहामको इन्टर मियामी क्लबमा पनि मेसीलाई भित्र्याउने कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उठाइरहेका छन् ।
सउदी अरबियाको पर्यटन दूत रहेका मेसी क्लबको अनुमति नलिई दुई दिन साउदी भ्रमणमा गएका थिए । त्यसैले पीएसजीले उनलाई दुई हप्ताका लागि निलम्बन गरेको छ । यो दुई हप्तामा उनले तलब पनि पाउनेछैनन् र टीमसँग प्रशिक्षण गर्न पनि पाउने छैनन् ।
करिब दुई महिनाको अन्योल र बहसपछि मेसीको पीएसजीसँगको सम्झौता यही जुनमा सकिने पक्का छ । उनी सन् २०२१ मा २ वर्षको सम्झौता गर्दै बार्सिलोनाबाट पीएसजी भित्रिएका थिए ।