बेलायती राजा चार्ल्सको राज्यभिषेक आज – Nepal Press

बेलायती राजा चार्ल्सको राज्यभिषेक आज

लन्डन। बेलायतका राजा चार्ल्स तृतीयको आज राज्याभिषेक हुँदैछ ।लन्डनको वेस्टमिन्स्टर एबीमा बिशेष समारोहका बीचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सलाई राजमुकुट पहिराइने छ ।

सो बिशेष समारोहमा सहभागिताका लागि विश्वभरिबाट दुईहजार भन्दा बढी अति बिशिष्ट पाहुनाहरु बेलायत आइपुगेका छन् । यसरी आउने पाहुनाहरुमा बिभिन्न देशका राजा तथा राजपरिवारका सदस्यहरु, विश्वभरीका बिभिन्न मुलुकका राजनेताहरु, राष्ट्रपति, प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधिहरु सो समारोहमा सहभागी हुँदैछन् ।

आज हुने बिशेष समारोहमा राजा चार्ल्स तथा रानी क्वीन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्‍याइने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार २.२३ किलो ग्राम तौल भएको सुन र हीरा जवाहरातजडित राजमुकुटले राजा चार्ल्सको शिरमा सुशोभित गरिनेछ ।

सो राजमुकुट यस अघि सन् १९५३ मा महारानी एलिजाबेथको शिरमा सजाइएको थियो । बेलायतको इतिहासमै सबैभन्दा बढी शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गत सेप्टेम्बरमा निधन भएको थियो ।

महारानी एलिजाबेथको निधन भए पछि उनका ७३ वर्षीया छोरा चार्ल्स बेलायतको राजा बनेका हुन् । उनको आज हुन गइरहेको राज्यभिषेक समारोह भने झन्डै तीन घन्टा चल्ने जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर