बनेपामा चण्डेश्वरी जात्राको उल्लास (तस्बिरहरू)
हेटौँडा । बनेपामा नेवारी समुदायले मनाउने प्रसिद्ध चण्डेश्वरी जात्रा शुक्रवारदेखि सुरू भएको छ। २५ सय वर्ष अगाडिदेखि नेवार समुदायले मनाउँदै आएको चण्डेश्वरी जात्रामा यो वर्ष पनि अझै उल्लासमय ढंगबाट सञ्चालन भइरहेको छ ।
जात्राको पहिलो दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) निकालिन्छ । बनेपाका बासिन्दाले धिमे, नाय्खिं, छुस्या लगायत विभिन्न बाजागाजा सहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लाय्कुमा जम्मा भई जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गरिन्छ । मत पूजासँगै औपचारिक रूपमा जात्रा शुरु भएको मानिन्छ ।
यस दिन जसिगाः अर्थात् जलेश्वर महादेवमा मेला नै लाग्ने गर्दछ । यहाँ स्नान गरेमा शुद्ध भइन्छ भन्ने धार्मिक मान्यता छ ।
पूर्णिमाकै दिन बनेपाको तीन धारामा बनाइएको पांग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजा सहित स्थानीय सयौँ युवाहरूले बोकेर ल्हाका पालुं हाः भन्दै चण्डेश्वरी पुर्याउने गर्दछ ।
‘ल्हाकाः पालु हाः अर्थात् सबैले एकैचोटी उचालौँ’ खटमा बसेका द्वारेले जब रथ उचाल्नको लागि यसरी बोलिरहन्छन्, तब खट बोक्ने युवाहरू एकैसाथ खट उचाल्छन् र कराउन थाल्छन् ‘हाः…’
दोस्रो दिन बिहानसम्ममा सोही स्थानमा रहेको देवी सहितको खटलाई विधिपूर्वक पूजाआजा सकेर पुनः खटलाई बनेपाको वकुटोलतर्फ ल्याउने गरिन्छ ।
खटलाई प्राचीन लायकू दरबारसम्म पुर्याइन्छ र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने गरिन्छ । मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्याएपछि जात्रा सकिने गर्छ ।
चण्डेश्वरी मन्दिरसम्म खट लैजाने क्रममा शीर मेमोरियल अस्पताल नजिकको उकालोको दृश्य भने निकै रोमाञ्चक हुन्छ र यसलाई धेरैले हेर्न छुटाउँदैनन् ।
यस उकालोमा खटलाई कतै नबिसाई एकैपटक माथि पुर्याउनुपर्छ भन्ने धार्मिक मान्यता रहिआएको छ । यसकारण ठाडो उकालोमा पनि खटलाई एकपटक पनि नबिसाई माथि पुर्याइन्छ ।
जात्राको क्रममा चण्डेश्वरी मन्दिर भित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बली दिने गरिन्छ । १२ वटा बोका मध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने चलन छ भने बाँकी बोकाको मासु कलंदान गरिन्छ । कलंदान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिन्छ ।
प्रायःजसो राति हुने यस जात्रामा कलंदान गरेको मासु समात्न तँछाड मछाड नै हुने गर्दछ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहक लगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकोले यो जात्रालाई विशेष महत्त्वका साथ लिइने गरिएको छ ।
जात्रालाई व्यवस्थापनको लागि स्थानीय युवा जमातहरू स्वयंसेवकको रूपमा रहेका हुन्छन् । बनेपाका नेवारी समुदायले चण्डेश्वरी जात्रालाई सबैभन्दा महत्त्वपूर्ण पर्वको रूपमा लिने गरेका छन् ।
जात्रा सकिएपछि जम्मा भएका आफन्तहरू एक आपसमा पारिवारिक रमाइलो गर्ने, भोज गर्ने, एक आफसमा खुसी साटासाट गर्ने गरेको बनेपाकी स्थानीय बिन्द्रा मानन्धरले बताइन् ।
जात्रामा बनेपा क्षेत्रका सबै नेवारी समुदायहरूको उल्लेख्य सहभागिता हुने भएको कारण चण्डेश्वरी जात्राको महत्त्व दिनानुदिन बढिरहेको उनको भनाई रहेको छ ।