‘नक्कली शरणार्थी’ बनाउने आश्वासनमा मेरो नाम लिएर कसैले पैसा उठाएको छैन : सांसद जुग्जाली
पोखरा । गण्डकी प्रदेशसभाका सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले ‘नक्कली शरणार्थी’ बनाउने आश्वासन दिएर मेरो नाम लिएर कोही कसैले पैसा नउठाएको बताएका छन् ।
‘नक्कली शरणार्थी’को विषयमा प्रदेश सांसद जुग्जालीको संलग्नता रहेको समाचार बाहिरिएपछि शनिवार प्रेस विज्ञप्ति जारी गर्दै उनले ‘नक्कली शरणार्थी’ को विषयमा आफ्नो कुनै पनि संलग्नता नरहेको बताएका हुन् ।
‘राजनीतिक पूर्वाग्रह, प्रतिसोध साध्न, भ्रम सिर्जना गराउन र विवादमा ल्याएर चरित्रहत्या गर्ने गलत नियतका साथ प्रेषित काल्पनिक सूचनालाई आधार बनाएर नक्कली शरणार्थी प्रकरणमा मलाई जोडेर प्रकाशित समाचारको खण्डन गर्दछु । यो विषयमा मेरो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्दै भ्रममा नपर्नुहुन सम्पूर्णमा अनुरोध गर्दछु’, उनले भने ।