देवेन्द्र दाहालको प्रश्न- नक्कली शरणार्थी प्रकरणमा आरजु र मञ्जु खाणविरुद्ध पक्राउ पूर्जी किन जारी भएन ? – Nepal Press

देवेन्द्र दाहालको प्रश्न- नक्कली शरणार्थी प्रकरणमा आरजु र मञ्जु खाणविरुद्ध पक्राउ पूर्जी किन जारी भएन ?

काठमाडौं । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले नक्कली शरणार्थी प्रकरणमा आरजु देउवा राणा र मञ्जु खाँणविरुद्ध पक्राउ पूर्जी किन जारी नभएको भन्दै प्रश्न गरेका छन् ।

आइतबारको राष्ट्रियसभाको बैठकमा बोल्दै सो प्रकरणको बिषयमा सबैभन्दा पहिला संसद्मा एमालेले उठाएको दाबी गरे ।

उनले भने, ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा नेकपा एमालेका केही नेताहरूको नाम पनि जोडिएको छ । पक्राउ पुर्जी जारी भयो भनेर हल्ला पनि छ। फेरि उहाँ हराउनु भयो रे भन्ने हल्ला पनि छ । मैले त यसो हेरेँ, अडियो प्रकरण पनि आयो रे । यसमा आरजु देउवाले अढाई करोड र बालकृष्ण खाणकी श्रीमती मञ्जु खाँणले ६ करोड बुझेको भन्ने अडियो प्रकरण आएको छ। उनीहरूलाई सरकारले पक्राउ पुर्जी त जारी गरेको भन्ने सुनेको छैन ।’

उनले यस्तो प्रश्न गरेका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरूलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मानहानि गर्न नहुने बताए ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक कार्यक्रममा ट्रेलर मात्रै हो, वास्तविक फिल्म आउन बाँकी छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘अर्कोतिर प्रधानमन्त्रीले यो त ट्रेलर मात्रै हो, वास्तविक फिल्म त आउन बाँकी छ, के भनेको, के बोलेको ? कुन फिल्म देखाउनु हुन्छ । फिल्म हेर्दै जाने समय आएको छ । सरकारको नेतृत्व गरेर कसैले बदमासी गरे कारबाही गर्ने दिशामा लाग्नुपर्ने हो । कुनैपनि प्रकरणमा कसैको गल्ती भएको छ भने कारबाही हुनुपर्छ, नेकपा एमाले ढाकछोप गर्ने पक्षमा छैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर