स्वार्थ पक्षकाे प्रभावमा एकद्वार र समानुपातिक विज्ञापन नीति आएकाे भन्दै आनको आपत्ति
काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले सरकारको एकद्वार र समानुपातिक विज्ञापन नीतिप्रति आपत्ति जनाएको छ ।
अध्यक्ष सोमप्रसाद धितालले विज्ञप्ति जारी गर्दै सरकारको यस्तो कदमप्रति असमहित जनाएका हुन् ।
विज्ञापन क्षेत्रको विकृति र विसंगति न्यूनीकरणका लागि विज्ञापन बोर्ड तथा एजेन्सीको पहलमा जारी भएको विज्ञापन आचारसंहिता २०७९ को आधारमा सरकारले ल्याएको एकद्वार र समानुपातिक नीति कुनै पक्षको बहकाव, झुकाव तथा दबाबमा गैरजिम्मेवार ढंगबाट आएको आनको निष्कर्ष छ ।
मन्त्रिपरिषदको वैशाख २० गते बसेको बैठकले ल्याएको उक्त नीतिको विज्ञापन संघले आपत्ति जनाउँदै भर्त्र्सना गरेको हो ।
सीमित स्वार्थ समूहको आडमा सरकारले यस्तो नीति ल्याएको संघको भनाइ छ ।
‘खुला बजार अर्थनीति, उपभोक्ताको वस्तु वा सेवाको छनौटको अधिकार र सार्वजनिक खरिद ऐनको प्रावधानसमेतको विपरित ल्याउन खोजिएको यो एकद्वार नीति सरोकारवालाहरूसँग छलफल नै नगरी केही सीमित स्वार्थ समूहको दबाबमा ल्याइएको हाम्रो बुझाइ छ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यस कदमबाट विज्ञापन बजारमा पर्ने दुरगामी असरको जिम्मेवार सरकार स्वयम हुनुपर्नेछ ।’
संघले विज्ञापन क्षेत्रमा भएका र देखिएको विकृति विसंगति हटाउने कुरामा सहकार्य गर्न तयार रहेको बताउँदै तर समानुपातिक एकद्वारका नाममा सरकारबाट विज्ञापन बोर्डमार्फत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने अडान राखेको छ ।
संघले सरकारले आफूहरुसँग समन्वय गरी अगाडि बढ्न आग्रह गरेको छ । त्यसो नभए विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी संघले दिएको छ ।