अहिले मौद्रिक नीतिले केही गर्न सक्ने अवस्था छैन: गभर्नर अधिकारी (भिडिओ) – Nepal Press

अहिले मौद्रिक नीतिले केही गर्न सक्ने अवस्था छैन: गभर्नर अधिकारी (भिडिओ)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका छन् ।

काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आइतबार आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ मा गभर्नर अधिकारीले राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेको तर क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका हुन् ।

उनले अन्य क्षेत्रबाट कुनै सहारा नपाएकाले राष्ट्र बैंकसँग सरकार र निजी क्षेत्रको समेत धेरै अपेक्षा रहेको बताए ।

मौद्रिक नीतिका आफ्नै सीमा रहेकाले राष्ट्र बैंक त्यो सीमाभन्दा बाहिर गएर मौद्रिक नीतिले केही गर्नसक्ने अवस्था नभएको उनको भनाइ थियो ।

गभर्नर अधिकारीले सीमाभन्दा बाहिर गएर केही काम गर्न खोज्यो भने समग्र वित्तीय प्रणाली संकटमा पर्नसक्ने उल्लेख गरे ।

‘बारम्बार राष्ट्र बैंकको नीतिका विषयमा प्रश्नहरु आउने गर्छन् । राष्ट्र बैंकले लिने नीतिहरु धेरै गहन छलफलका आधारमा लिइन्छ । राष्ट्र बैंकले कैयौं स्टेकहोल्डलरहरुसँग छलफल गरिरहेको हुन्छ । आफ्नो इन्ट्रेस्टका मागहरु सम्बोधन भएनन् भन्दैमा हाम्रा कुरा सुनिएनन् भन्नुभएन’, उनले भने, ‘सौद्धान्तिक र व्यवहारिक रुपमा गर्नुपर्ने काम गरेको छ वा छैन, त्यो महत्वपूर्ण हो । राष्ट्र बैंकप्रतिको आशा अत्यन्तै बढेर गएको छ ।’
गभर्नर अधिकारीले मौद्रिक नीति बनाउँदा आएको कसैको निजी स्वार्थ पूरा गर्ने सुझावहरु आएको र त्यो राष्ट्रले नगन्ने र नसुन्ने स्पष्ट पारे ।

उनले बैंक, व्यवसायीलगायतका समग्र वित्तीय प्रणालीलाई जोगाउन राष्ट्र बैंकले कोरोना महामारीको सुविधा दिएको उल्लेख गरे । अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढे पनि अन्य देशको तुलनामा निकै सहज भएको उनको भनाइ छ ।

उनले मौद्रिक नीतिको त्रैमासिक समीक्षा वैशाख अन्तिमसम्म गरिसक्ने तयारी भइरहेको जानकारी दिए ।


प्रतिक्रिया

One thought on “अहिले मौद्रिक नीतिले केही गर्न सक्ने अवस्था छैन: गभर्नर अधिकारी (भिडिओ)

  1. एउटा निजी क्षेत्रको जाति हुन अर्को निजी क्षेत्र ( बैंक) लाई मार्ने काम नहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *