गलत राजनीतिक संस्कारको उत्पादन : गम्भीर अपराधमा आरोपितलाई खोइ निलम्बन ? – Nepal Press

गलत राजनीतिक संस्कारको उत्पादन : गम्भीर अपराधमा आरोपितलाई खोइ निलम्बन ?

केही दिनयता गम्भीर अपराधमा विभिन्न दलका शीर्ष नेताहरु मुछिएका समाचार दिनहुँ आइरहेका छन् । तर, यस्ता गम्भीर विषयमा नाम जोडिएका नेताहरुलाई सम्बन्धित पार्टीले निलम्बन गरेर छानबिनका लागि सघाउनुको साटो उल्टै संरक्षणका लागि पहल गरिनु किमार्थ जायज होइन । कुनै पनि व्यक्तिलाई लागेको आरोपबारे हुने छानबिन प्रभावित हुन नदिन उनी सरकारी वा दलीय तथा संस्थागत जिम्मेवारीबाट छानबिन अवधिभर मुक्त हुनुपर्दछ । आरोप प्रमाणित नभए उनीहरु पुनः आफ्नो जिम्मेवारीमा फर्कन पाउने छुट रहन्छ नै ।

छानबिनका लागि हुने यस्तो विषयबाट जोगिन खोज्नु पहिलो गल्ती हो, गल्ती नगरेकाहरुको लागि पनि । केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसद ढाकाकुमार श्रेष्ठलाई व्यवसायीसमक्ष रकम मागेको आरोपपछि तत्काल निलम्बन गरेर अनुसन्धान सुरु गर्‍यो र पछि दोषी पाइएपछि पार्टीको साधारण सदस्य तथा सांसदबाटै हटायो । छोटो समयमा त्यो पार्टीले देखाएको असल नजिर ठूला भनिएका पार्टीले सुरु गर्न सकेनन् । यसको घाटा उनीहरुले आउने चुनावमा व्यहोर्नुपर्नेछ नै ।

कुनै व्यक्तिलाई लागेको आरोप छानबिन हुनुपर्दछ र बल्ल दोषी करार हुन्छ । छानबिन नहुँदै अपराधीकै नजरको व्यवहार गर्ने हाम्रो समाजको गलत अभ्यासले पनि धेरैलाई त्रसित बनाएको हुनसक्छ । यसलाई पनि क्रमशः सुधार गर्दै लैजानुपर्दछ । गम्भीर अपराधमा नाम जोडिएका नेताहरु आफैं छानबिनमा गएको खण्डमा उनीहरुलाई हेर्ने नजर पनि राम्रो हुने थियो । तर, अनेक बहानामा भाग्न खोज्ने, लुक्न खोज्ने र मुद्दा कमजोर बनाउने प्रपञ्च गरेमा त्यो विषयमा गल्ती नै नगरेको रहेछ भने पनि आमनागरिकको नजरमा उसको कमजोरी रहेको प्रस्ट हुन्छ । कसैलाई डाम्ने र कसैलाई जोगाउने छुट कसैलाई हुँदैन । तर, जसले छानबिनका लागि तयार भएको सन्देशसमेत पहिले दिन तयार हुँदैन र दिँदैन, त्यसको केही कमजोरी छ भन्ने संशय हुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसद ढाकाकुमार श्रेष्ठलाई व्यवसायीसमक्ष रकम मागेको आरोपपछि तत्काल निलम्बन गरेर अनुसन्धान सुरु गर्‍यो र पछि दोषी पाइएपछि पार्टीको साधारण सदस्य तथा सांसदबाटै हटायो । छोटो समयमा त्यो पार्टीले देखाएको असल नजिर ठूला भनिएका पार्टीले सुरु गर्न सकेनन् । यसको घाटा उनीहरुले आउने चुनावमा व्यहोर्नुपर्नेछ नै ।

पछिल्लोपटक नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबै नेताहरु स्वयं उपस्थिति भएर छानबिनमा सहयोगी बन्नुपर्नेमा आफ्नो दल, विगतको पदको दम्भ देखाएर ढिलाइ गरेपछि थप आलोचित बनेका छन् । नेपाली नागरिकलाई अर्को देशको नागरिक बनाएर त्यसवापत रकम असुल्ने असाधारण, जघन्य र अक्षम्य अपराधी कुनै राजनीतिक दलको पर्खालभित्र सुरक्षित हुनुहुँदैन र यसको तथ्यमा गएर अपराधी पत्ता लगाउनुपर्ने हुन्छ । तर, दल तथा यसका नेताहरु, सरकारी कर्मचारीहरु आफ्नो मान्छे परेको, भोलि आफू पनि तानिन सक्ने अनेक त्रासमा छट्टपटाइरहेका छन् ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने र पैसा असुल्ने अपराध सामान्य विषय हुँदै होइन । यसले देशकै शीर निहुराएकाले नाम जोडिएका सबै नेताहरुले तत्काल प्रहरीसमक्ष उपस्थित भएर यथार्थ बाहिर ल्याउनुपर्नेमा उल्टै भाग्ने प्रवृत्ति गलतमात्रै होइन अर्को अपराध हो । एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण, सांसद मञ्जु खाँण तथा उच्चपदस्थ कर्मचारी र प्रहरीसमेतको नाम जोडिएपछि यसले थप चर्चा पाएको छ । उनीहरुको नाम आरोपितमा आए पनि यसको वास्तविक दोषी छानबिनपछि पत्ता लाग्छ नै । तर, यस्ता अपराधमा जोडिएका कोहीलाई पनि राजनीतिक संरक्षण गर्न नहुने बढ्दो जनदबाबविपरीत दलका नेताहरुले जोगिन र जोगाउन अनेक तिकडम गर्नु उचित होइन । नक्कली शरणार्थी अपराध, अथोरिटी अपराधी बन्दा राज्यको प्रभाव र विश्वसनीयता समाप्त हुन्छ । यो राष्ट्रियताको प्रश्न पनि हो । विश्व समुदायले हाम्रो देश र सत्तालाई कसरी हेर्ने भन्ने प्रश्न जन्मिन्छ । देशकै शीर निहुरिन्छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने र पैसा असुल्ने अपराध यही कोटीको अपराध हो । यस किसिमका अपराधलाई कुनै दल वा व्यक्तिमाथि पूर्वाग्रह साँध्ने औजार पनि बनाइनुहुँदैन । कसैलाई डाम्ने र कसैलाई जोगाउने गरिनु हुँदैन । नाम जोडिएका नेताहरु स्वयं उपस्थित भएर छानबिनमा सहयोगी बन्नु नै श्रेयस्कर छ । देश, लोकतन्त्र, गणतन्त्र अर्थात मुलुक र समग्रमा परिवर्तनलाई सुरक्षित र बलियो बनाउन ओहोदामा बसेर गल्ती र कमजोरी गर्ने नेताहरुले आफ्ना गल्ती र कमजोरीलाई स्वयंले ओकल्ने बेला आएको छ । त्यसले मात्रै देश र परिवर्तनलाई बलियो बनाउँछ । सफाइ दियौं र अपराध छ भने स्वयं दण्डित हुने प्रायश्चितको बाटो समाऔं । उल्टै राजनीतिक आवरणमा जोगाउन खोजे ती दल र नेताले थप क्षति व्यहोर्नुपर्नेछ ।

गम्भीर अपराधमा नाम जोडिएका नेताहरु आफैं छानबिनमा गएको खण्डमा उनीहरुलाई हेर्ने नजर पनि राम्रो हुने थियो । तर, अनेक बहानामा भाग्न खोज्ने, लुक्न खोज्ने र मुद्दा कमजोर बनाउने प्रपञ्च गरेमा त्यो विषयमा गल्ती नै नगरेको रहेछ भने पनि आमनागरिकको नजरमा उसको कमजोरी रहेको प्रस्ट हुन्छ ।

अदालतले पक्राउ पुर्जी जारी गरेको व्यक्ति, प्रहरीको अनुसन्धानमा जोडिएको व्यक्ति र दोषी देखिएका व्यक्तिले प्रहरीको बयानमा भनेका व्यक्तिलाई बाहिर बसेर तर, किंवा, तथापि, किनकि, या, वा नभनी सीधै निलम्बन गरेर छानबिन गर्न सघाउनुको साटो उल्टो अनेक बहाना खोज्ने गल्ती गरिनुहुँदैन । अब पनि यस्तो भए जिल्ला-जिल्लाबाट यस्तो संरक्षण गर्नेहरुको बहिष्कार अभियान थालनी हुनेछ । त्यसको मार अहिलेका नेताहरुलाई थप पर्नेछ । आपराधिक तथा भ्रष्टाचारी क्रियाकलाप ठहर्ने मान्छेलाई यदि पार्टीले अहिलेको परिस्थितिमा पनि ओत्ने प्रयास ग¥यो भने त मान्नुस्, त्यो पार्टी सिलपाटी हुनेछ । नागरिक सचेत भए, उनीहरुको पनि प्रविधिमा पहुँच पुग्यो भन्ने अब पनि भ्रममा पर्नुहुँदैन ।

धेरै पढेर वाञ्छित योग्यता बनाएका हजारौंमध्येबाट अब्बल ठानेर लोकसेवा आयोगले मेरिट लिष्टमा छनोट गरेका नै अपवादलाई छाडेर भ्रष्ट, कामचोर, राजनैतिक दलका झोले बनेका कर्मचारीले दलका नेताहरुलाई यस्तो काममा साथ दिएका छन् । त्यसो त न्यायको अन्तिम याचना गरिने निकायका न्यायाधीश, उनीहरुलाई सघाउने कानून व्यवसायी, यी सबैको भण्डाफोर गर्ने पत्रकारहरु पनि विभिन्न विषयमा नमुछिएका होइनन् । तर, अहिलेको विषय अझै गम्भीर छ । यो देश कैयौं कालखण्डदेखि यस्तै, यसैगरी चलेको छ भनेर अब पनि अल्झाउन खोजिए थप विस्फोट हुनेछ । प्रणाली परिवर्तन जनता ढाँट्ने, अल्मल्याउने हदसम्म मात्र उपयोग नहोस्, नागरिकको निराशा अब बदल्ने आँट गर्नुपर्दछ । उत्पादन र निर्यात नगन्य भएको, देशको कूल बजेटभन्दा डेढ गुणा अधिक रकमको आयात गर्नुपर्ने र राजस्वबाट धान्नुपरेको समयमा भएका यस्ता जघन्य अपराध र भ्रष्टाचारका विषयले स्थान पाउन देशलाई झन थिलो पार्नुबाहेक केही होइन ।

विगतमा जे भयो भयो, अब नेपाली जनताका अगाडि घुँडा टेकेर हात जोड्दै गल्ती गर्‍यौं आइन्दा संसदीय अभ्यासमा गल्ती गर्नेछैनौं भन्दै श्वेतपत्र जारी हुनुपर्दछ । पश्चाताप गरिए क्षमा हुनसक्छ । तर, कानूनबाटै भाग्न खोज्ने, तथ्य लुकाउन खोज्नेहरुका दिन सकिनुपर्दछ । कानूनका छिद्र र न्यायिक निकायको भ्रष्टीकरणले अभियुक्त उम्काएका सयौं उदाहरण छन् । भ्रष्टाचार, मानव तस्कर गर्नेहरु देशद्रोही हुन् । उनीहरुलाई जोगाउने गलत राजनीतिक संस्कार त्यागौं ।


प्रतिक्रिया

3 thoughts on “गलत राजनीतिक संस्कारको उत्पादन : गम्भीर अपराधमा आरोपितलाई खोइ निलम्बन ?

  1. भ्रष्टाचारि र मानव तस्कर देशद्रोहि हुन् । यीनिहरुलाई उम्किन दिनु हुदैन । तत्काल सम्वन्धित पार्टीहरुले कम्तिमा धरण सदस्यवाट समेत निलम्बन गरेर अनुसन्धानमा सघाउनु पर्छ । प्रिय रामप्रसादजीको यो विश्लेषण चाहिँ मन परो ।

  2. भ्रष्टाचारि र मानव तस्कर देशद्रोहि हुन् । यीनिहरुलाई उम्किन दिनु हुदैन । तत्काल सम्वन्धित पार्टीहरुले कम्तिमा साधरण सदस्यवाट समेत निलम्बन गरेर अनुसन्धानमा सघाउनु पर्छ । प्रिय रामप्रसादजीको यो विश्लेषण चाहिँ मन परो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *