शरणार्थी प्रकरणमा सांसदहरुले भने- विषयान्तर गर्न मिल्दैन, गम्भीर छानबिन हुनुपर्छ (भिडिओ) – Nepal Press

शरणार्थी प्रकरणमा सांसदहरुले भने- विषयान्तर गर्न मिल्दैन, गम्भीर छानबिन हुनुपर्छ (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीर रुपमा छानबिन गरिनुपर्ने माग गरेका छन् ।

सोमबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले राष्ट्रलाई नै लज्जित बनाएको बताए । उनले सो प्रकरणमा मुछिएका सबै व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

सांसद केसीले यस विषयबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे ।

उनले भने, ‘जो, जहाँ, जुनसुकै पदमा भए पनि गम्भीर छानबिन गरी कारबाही गरिनुपर्छ । विभिन्न देशमा पूर्वप्रधानमन्त्रीसमेत विभिन्न प्रकरणमा परेर कारबाही भएका उदाहरण छन् । यो प्रकरणबारे भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्छ ।’

रास्वपा सांसद असीम शाहले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीर रुपमा छानबिन आवश्यक रहेको बताए ।

सांसद चित्रबहादुर केसीले राज्यसत्ताका महत्वपूर्ण ठाउँमा बसेका नै यो प्रकरणमा मुछिएको भन्दै संसद्ले यो विषयलाई गम्भीर रुपमा लिनुपर्ने बताए । यो प्रकरणलाई मोडेर विषयान्तर हुन खोजेकोबारे पनि संसद्को ध्यानाकर्षण गराए ।

उनले भने, ‘कुनै नयाँ काण्ड आउँछन् र त्यसपछि फेरि विषय अर्कोतर्फ मोडिन्छ । त्यसकारण यो काण्डबारे दूधको दूध पानीको पानी हुनेगरी छानबिन गरिनुपर्छ । यो विषय टुङ्ग्याएरमात्र संसद्ले आफ्ना काम अगाडि बढाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *