प्रधानमन्त्री भ्रष्टलाई जोगाउने र एमालेलाई फसाउने खेलमा रहेको ओलीको आरोप – Nepal Press

प्रधानमन्त्री भ्रष्टलाई जोगाउने र एमालेलाई फसाउने खेलमा रहेको ओलीको आरोप

‘तपाईंको हलमा कहिलेदेखि फिल्म लाग्छ ? हामी हेर्न आतुर छौं’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टलाई जोगाउने र प्रतिपक्षीहरुलाई मुद्दामा फसाउने खेलमा रहेको टिप्पणी गरेका छन् । उनले ट्रेलर मात्र नभएर सिनेमा नै देखाउन प्रचण्डलाई चुनौती दिए ।

आज राष्ट्रिय युवा संघको वैठकमा बोल्दै ओलीले पार्टीले भ्रष्टाचारको ढाकछोप नगर्ने बताए । तर, आफ्नो पार्टीविरुद्धमा षडयन्त्र हुन्छ भने त्यो सह्य नहुने उनको भनाइ छ ।

ओलीले भने, ‘केही मान्छेहरुलाई बदनाम गर्ने उहाँहरुको चेष्टा छ । उहाँहरु अगाडि देखि लागिरहनुभएको छ । प्रधानमन्त्री भ्रष्टाहरुलाई जोगाउने र प्रतिपक्षीलाई अनावश्यक रुपमा पोल्न लगाउने र मुद्दामा फसाउने प्रयासमा हुनुहुन्छ ।’
उनले निर्दोषलाई फसाउने कोशिष नगर्न चेतावनी दिए । आफूसँग भेटवार्तापछि बाहिर पत्रकारलाई प्रधानमन्त्रीले दिएको प्रतिक्रियामा पनि ओलीले आपत्ति जनाए ।

‘प्रचण्डलाई जनतलो चिनेकै छैनजस्तो गरेर, सेतो वस्त्र लगाएको, दुधले नुहाएको पवित्र अवतारका साथ मिडियामा प्रस्तुत हुन खोज्नुभो । म कसैको दवाव मान्दिनँ भन्नुभयो । के मैले उहाँलाई दवाव दिएको थिएँ ? मैले दवाव दिएको जस्तो पार्न खोज्नुभयो । उहाँ दुनियाँ लट्पटाउन सिपालु हुनुहुन्छ ।’ओलीले भने ।

उनले थपे, ‘उहाँलाई कार्यकर्ताले दुवोका माला लगाइदिए । त्यसपछि भन्नुभयो, यो त ट्रेलर मात्रै हो । फिल्म आउँदैछ । सिंगै फिल्म आउँदैछ भन्नुभयो । तपाईंको सिनेमाहलमा फिल्म कहिलेदेखि लाग्छ प्रचण्डजी ? अन्त त धुमधाम भइसक्यो । सँधै टेलर मात्र किन सिनेमा चलाउनुस । किन हल रित्तै ? किन ताला लाग्या छ ? सञ्चारमाध्यममा फिल्म आइराख्या छ, तपाईं किन चुप ? देखाउनुस त फिल्म ।’

क-कसलाई फसाउने र क-कसलाई उम्काउ भन्ने निर्देशन प्रधानमन्त्रीबाट भएको ओलीले दावी गरे । तर त्यसबारेमा पछि विस्तृत बताउने उनको भनाइ थियो ।

‘प्रधानमन्त्री भएर यसप्रकारको खेल चल्दैन । प्रधानमन्त्रीले यस्ता भ्रष्टाचारको छानविन दृढताका साथ गराउनुपर्छ, हिरोइज्मको व्यापार गर्ने होइन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर