आईजीपीको अमेरिका भ्रमण रोकियो, एआईजी नेतृत्वको टोली पठाइयो
काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको अमेरिका भ्रमण रोकिएको छ ।
अमेरिकामा आयोजना हुने लिडरशीप एक्सनेच्ज कार्यक्रममा कुँवर नेतृत्वको ६ सदस्यीय टोली सोमबार जाने कार्यक्रम थियो । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा एकपछि अर्को हाइप्रोफाइल मुछिइरहेको बेला सोही कारण देखाउँदै गृह मन्त्रालयले आईजीपी कुँवरलाई नजान निर्देशन दिएको हो ।
गृहको निर्देशनपछि सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको नेतृत्वमा अर्का एआईजी सुदीप गिरी, डीआईजी रामदत्त जोशी, एसएसपी एएम चन्द्रबहादुर धामी र एसपी सन्तोष खड्कालाई अमेरिका पठाइएको छ ।
वैशाख २७-२९ गतेसम्म वासिङ्टन डि.सी. र न्यूयोर्कमा सञ्चालन हुने कार्यक्रममा भाविष्यमा हुने सुरक्षा चुनौती र आतंकवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबारलगायतका वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रण र यससम्बन्धी ज्ञान तथा अनुभव आदान-प्रदान हुने बताइएको छ ।