कोरोना महामारीले बनायो उद्यमी : एमबीए गरेका दाजुभाइसँगै सिंगो परिवार पशुपालनमा (भिडिओ) – Nepal Press

कोरोना महामारीले बनायो उद्यमी : एमबीए गरेका दाजुभाइसँगै सिंगो परिवार पशुपालनमा (भिडिओ)

विराटनगर । भारतको दिल्लीमा चार्टर एकाउन्टेन्ट पढिसकेपछि विराटनगरका प्रगिश बस्नेतले एमबीए गरे । एमबीए सकेकामात्रै थिए, कोरोनाको महामारी सुरु भयो । उनी घर फर्किए ।

उनका भाइ विज्ञान बस्नेत देहरादुनमा एमबीए गर्दै थिए । उनी पनि कोरोना महामारीका कारण घर आए । प्रगिश र विज्ञानका बुवा गिरिराजको विराटनगरमा नाम चलेको होटलमा लगानी थियो । कोरोना महामारीका कारण होटल व्यवसाय थिलथिलो भयो ।

२० वर्ष बुद्ध एयरमा सिनियर स्टेशन म्यानेजर र १० वर्ष नेपाल एयरलाइन्समा काम गरेका गिरिराजलाई छोराहरु विदेश नजाऊन् भन्ने लाग्थ्यो । गैरसरकारी संस्थामा काम गर्ने आमा प्रतीक्षालाई पनि छोराहरुले यतै काम गरुन् भन्ने नै थियो । छोराका साथीहरु धमाधम विदेश गएर उतै बस्न थालेपछि पिरोलिएका बस्नेत दम्पतीलाई छोराहरुले यतै केही उद्यम गरुन् भन्ने लागिरहेको थियो ।

तर, छोराहरुलाई नेपालमै रोक्ने कसरी ? कुनै योजना थिएन । कोरोना महामारीमा परिवार सबै सँगै थिए । होटल व्यवसाय थिलथिलो थियो । यही असहज परिस्थितिमा उनीहरुको दिमागमा आयो ‘ग्रीन यार्ड एग्रो फार्म’को कन्सेप्ट ।

नेपालमै प्रयोग नभएको पूर्ण स्वचालित गाई फार्म र दूध उत्पादन गर्ने सपना कोरोना कालमा बुनियो । कोरोना महामारीकै बेला उनीहरुले कागजी योजना बनाए । तर, उनीहरुसँग पैसा थिएन । के गर्ने ?

कोरोना महामारीले धेरै उद्योग व्यवसाय थला परे । कतिले रोजगारी गुमाए । तर, एमबीए गरेका दाजुभाइसँगै सिंगो बस्नेत परिवारलाई त्यही कोरोना महामारीले सफल उद्यमी बनायो । जुन उद्यमपछि उनीहरुले पछाडि फर्कनु परेको छैन । एमबीए गरेका दुई छोराले रोजगारीको लागि विदेशिनु परेको छैन । उल्टै दर्जनौं स्थानीयलाई रोजगारी दिएका छन् । कोरोना महामारीकै कारण बस्नेत दम्पतीले दुई छोरालाई साथमै पाएको छ ।

गिरिराजले सुनाए, ‘जस्तोसुकै महामारीमा पनि प्रोडक्सन भयो भने दुःख पाइन्न । कोरोना महामारीले उत्पादनको भविष्य देखाएपछि होटलको शेयर बेच्ने निर्णय गरें ।’

परिवारको सल्लाहमा उनले होटलको शेयर बेचे । अनि गाई फार्मको योजना अघि बढाए । भारतको दिल्लीमा बस्दा छोरा प्रगिशले केही गाई फार्म हेरेका थिए । उनले कागजी प्रक्रिया र प्रविधिको बारेमा रिसर्च गरे । यो काममा विज्ञानले सहयोग गरे । आवश्यक लगानीको जोहो बुवा गिरिराजले गर्न थाले ।

कोरोना कालमा दुई वर्ष रिर्सच गरेपछि उनीहरुले मोरङको कटहरी गाउँपालिका- ७ टकियामा सुरु गरे अत्याधुनिक ग्रीनयार्ड एग्रो फार्म ।

विराटनगरबाट नजिकै रहेको ग्रामीण क्षेत्रमा उनीहरुले नौ विगा क्षेत्रमा सञ्चालित माछा फार्म किने । पछि उनीहरुले वरिपरिको जग्गा किन्दै फार्मका लागि भनेर १५ विगा पुर्‍याए ।

भारतको पुनेबाट डेभियल कम्पनीको गाईपालनसम्बनी प्रविधि नेपाल भित्र्याए । अन्तर्राष्ट्रिय कम्पनी डेभियलको प्रविधिअनुसार अत्यधुनिक गोठ निर्माण गरे । गाईका लागि आवश्यक पर्ने दाना बनाउने टीएमआर प्रविधि, मिल्क पार्लर, स्लरी र स्क्रेचर पनि नेपाल भित्र्याए ।

एमबीए गरेका दाजुभाइको नाममा बस्नेत परिवारले कम्पनी दर्ता गरे । यसपछि होलेस्टिन जातका दूधालु गाईहरु किने । उनीहरुको गाई फार्ममा अहिले १०५ वटा दुहुना गाई छन् । एउटा गाईले दिनको ३५ लिटरसम्म दूध दिन्छ । जसअनुसार दैनिक एक हजार ५०० लिटरसम्म दूध उत्पादन हुन्छ । यसको बजार मूल्य दैनिक एक लाख रुपैयाँ हो । फार्ममा उत्पादित दूध सीधै डेरीलाई बिक्री गर्दै आएका छन् उनीहरुले ।

फार्ममा अरु ५० वटा जति बाछी हुर्किंदैछन् । बाछी उत्पादनका लागि उनीहरुले सिमेन ब्रिडिङको काम थालेका छन् । ब्रिडिङका लागि सिमेन कन्टेनर फार्ममै राखेका छन् । सेक्सेड सिमेन ल्याएर गर्भधारण गराइन्छ ।

फार्ममा भेटिएका विज्ञानले भने, ‘सेक्सेड सिमेनबाट ९० प्रतिशतसम्म बाछी नै जन्मिन्छ । हामी अब वर्षको १०० वटा बाछी जन्माउने योजनामा छौं । हाम्रो लक्ष्य दूध उत्पादन गर्नेमात्रै होइन । नेपालमा अभाव रहेको उन्नत जातको गाईको बाछा उत्पादन पनि गर्नेछौं ।’

उनीहरुले फार्ममा गाईहरुको हेरचाह गर्न मासिक एक लाख रुपैयाँ दिएर मध्य प्रदेशबाट भेटेनरी डाक्टर ल्याएका छन् । उनी पूर्णकालीन कर्मचारीको रुपमा फार्ममा बसेर गाईको हेरचाह र व्यवस्थापन गर्छन् । डाक्टरले नै गाईलाई आवश्यक पर्ने आहारा निर्माण गर्छन् ।

प्रविधिको प्रयोग

ग्रीनयार्ड एग्रो फार्ममा तीनवटा प्याकेजमा यान्त्रीकरण गरिएको छ । गाईको दाना र आहार उत्पादन गर्ने टीएमआर । दूध दुहन र भण्डारण गर्न मिल्क पार्लर र गोठ सफा गर्न स्लरी र स्केपर । गाईलाई चाहिने हरियो घाँस, साइलेस, मिनरल र आवश्यक पौष्टिक तत्व मिसाउन टीएमआर प्रविधिको प्रयोग फार्ममा भएको छ ।

गाईको आहारा निर्माण गर्ने र मिक्सिङ गर्ने काम बल्क मिक्सिङ मेसिनले गर्छ । मेसिनको सहयोगले घाँसलाई टुक्रा बनाइन्छ । हरियो घाँसलाई बङ्करमा राखेर निश्चित मापदण्ड र समयसम्म राखपछि साइलेस तयार हुन्छ ।

हरियो घाँस, साइलेस, कन्सन्ट्रेड फिड, मिनरल हालेर मिक्स गरिन्छ । टीएमआर मेसिनले तयार पारेको गाईको खाना ट्याक्टरको सहायताले मेसिनबाट गाईसम्म पुर्‍याइन्छ

नेपालमै पहिलो पटक ग्रीन यार्ड एग्रो फार्मले फुली अटोमेटिक मिल्क पार्लरको स्थापना गरेको छ । पूर्ण स्वचालित मिल्क पार्लरमा यन्त्रको माध्यमबाटै दूध दुहिन्छ । मिल्क पार्लरमा गाईको दूध आफैं दुहिने, दुहेको दूध फिल्टर हुने र सीधै चिस्यान केन्द्रमा पुर्‍याउने व्यवस्था छ । चिस्यान केन्द्रमा सङ्कलन भएको दूध डेरीमा पठाउने गरिएको सञ्चालक विज्ञानले बताए ।

गाईको गोठ सफा गर्न स्लरी र स्केपर जस्ता मेसिनको प्रयोग भइरहेको छ । स्केपर मेसिनले गाई जहाँ उभिन्छ र जहाँ बस्छ, त्यहाँबाट आफैं सोहोरेर गोबर सङ्कलन गर्ने ठाउँमा पुर्‍याउँछ । स्लोरी मेसिनले मुत्र र गोबरको छुट्याउँछ । तरल पदार्थ ट्यांकीमा जान्छ । थिग्रिएको ठोस पदार्थ मलको रुपमा बाहिर जान्छ ।

झोललाई ट्याङ्करमार्फत खेतमा सीधै हाल्न सकिन्छ । थिग्रिएको चोक्टालाई भने प्याकेजिङ गरेर बेच्न सकिन्छ । खेतबारीमा सीधै पनि हाल्न सकिन्छ ।

‘यन्त्रको प्रयोगले हाम्रो लागत घटेको छ । डेढ घण्टामा १०५ वटा गाईको दूध दुहुन सकिन्छ । यसका लागि जम्मा दुई जना महिला कामदार राखेका छौं’, फार्मका निर्देशक गिरिराजले भने, ‘फार्ममा अहिले घाँस काट्ने, आहारा हेर्ने गरेर १२ जना जति नियमित कामदार राखेका छौं ।’

३ विगामा माछा, भैंसी र बाख्रा फार्म

एग्रो फार्मको २ विगामा अहिले माछा पालिएको छ । एक एक विगामा दुई वटा माछा पोखरी र १०-१० कठ्ठाका दुई वटा माछा पोखरी छन् ।

माछाबाट खर्च कटाएर वार्षिक २२ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको निर्देशक गिरिराजले सुनाए । उनले माछा हेर्न छुट्टै मजदुर राखेका छन् । सुरुमा माछा फर्म थियो । गाई नै पाल्ने उद्देश्य भए पनि गाईबाट उत्पादन नहुञ्जेलसम्म धान्न माछा पालेको उनले बताए ।

उनको फार्ममा २०० वटा जति खरी र बोयर जातका बाख्रा पनि छन् । फार्ममा रहेको चरिचरण क्षेत्रको सदुपयोगका लागि बाख्रापालन गरेको गिरिराजले बताए ।

‘हामीले दूध उत्पादनका लागि भैंसीसमेत पालेका छौं । २७ वटा दुहुनो भैंसी छन्’, उनले भने, ‘५ लाख हालेर गुजरातबाट बीउ राँगो ल्याएका छौं । यो राँगो ८ करोड मूल्य परेको युवराज नामक राँगोको सन्तान हो । यतिको राँगो नेपालमै छैन । प्रदेश सरकारले यसको सिमेन सङ्कलन गर्ने र भण्डारण गर्ने प्रविधि उपलब्ध गराए अरु किसानलाई पनि फाइदा हुने थियो ।’


प्रतिक्रिया

One thought on “कोरोना महामारीले बनायो उद्यमी : एमबीए गरेका दाजुभाइसँगै सिंगो परिवार पशुपालनमा (भिडिओ)

  1. अध्ययन गर्नु भनेकाे केवल जागीर खाने वा विदेश जाने हाेईन । बिदेश गएर देशकाे लागि खर्च गर्नु पर्ने बिध्या बिदेशीलाई सुम्पीने हुँदै हाेईन । बिध्या आर्जन पश्चात् मुलुक भित्रै ज्ञानलाई सिन्चित गर्न सफल यी उदाहरणहरुलाई नमन । असल कर्म चाहे जस्ताे सुकै हाेस तहकाे हाेस, त्याे देश भित्रै गर्नु असल नागरिक पहिचान हाे जसलाई मातृभुमिले सँदासर्वदा आशीर्वाद दिई रहन्छीन ।उत्प्रेरणादायी लेख प्रकासीत गर्नु भएकाेमा प्रकासक प्रति आभार व्यक्त गर्दछु । किन सँधैभरी फाेहरी राजनितीका कुरा मात्रै पढनु । देशका नेता तथा नीति निर्माताहरुले पनि यी उध्यमी हातहरुबाट सिकुन कसरी याेजना बनाएर लक्ष्य पूरा गर्ने । भबिश्यमा यस्तै खाेजमुलक तथा उत्प्रेरणादायी लेखहरु पढन पाईयाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *