सदनमा लडाकु शिविरदेखि भुटानी शरणार्थी प्रकरणसम्मका कुरा, कसले के भने ?
काठमाडौं । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताएकी छन् ।
मंगलबारको बैठकमा उनले जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेको उल्लेख गर्दै अपराधलाई संरक्षण गर्नु नहुने बताइन् । भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रियरूपमा नै नेपालको छवि नराम्रो बनाएको सांसद देवकोटाको भनाई थियो ।
उनले भनिन्, ‘यो मुद्दाले अन्तर्राष्ट्रिय रूपमा नै नेपालको छवि नराम्रो बनाएको छ । निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याई दोषीलाई कारबाही गर्न माग गर्दछु ।’
राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्यान्टोनमेण्ट काण्डबारे छानबिन गर्न माग गरिन् । लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको भन्दै उनले माओवादी लडाकु शिविरको भ्रष्टाचार काण्डलाई न्यायसंगतरूपमा छानबिन गर्न आग्रह गरिन् ।
गुरुङले भनिन्, ‘धेरै लामो समयदेखि उठेको काण्डअन्तर्गत क्यान्टोनमेण्टको काण्ड पनि उठेको छ, यसलाई न्यायसंगत रूपमा कानूनी तवरबाट बाहिर ल्याउन जरुरी छ ।’
त्यस्तै राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरे ।
‘हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पत्ति छानबिन गरियोस्, भ्रष्टाचारबिरुद्ध कडा एक्सन सुरू गरियोस्, सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गरियोस् ।
आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै कटौती गरियोस् ’, पन्थले भने ।
उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलबबाहेकका सबै सुविधा कटौती गर्न सुझाव दिए ।