टोपबहादुर रायमाझीलाई निलम्बन गर्न एमालेमा बढ्दो दबाब
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गर्न आन्तरिकरूपमा दबाब परेको छ ।
पक्राउ पूर्जी जारी भएपछि फरार रहेका सांसद रायमाझीलाई निलम्बन गर्ने पार्टीभित्रबाटै दबाब आइरहेको एक पदाधिकारीले बताए ।
उनले भने, ‘पार्टीभित्रबाटै साथीहरूले निलम्बन गर्नुपर्छ भनेर दबाब दिइराख्नुभएको छ । अहिले बैठकमा पनि छलफल हुन्छ । तर, मलाई लाग्छ आजको बैठकले निलम्बनको निर्णय नलिनसक्छ ।’
अहिले एमालेको सचिवालय बैठक बसिरहेको छ । उनले एमालेले नै रायमाझीलाई लुकाएको आरोप चिर्न पनि पार्टीलाई निलम्बनको निर्णय लिनको लागि नेताहरूले दबाब दिएको बताए ।
‘अहिलेको परिस्थितिमा कारबाही प्रक्रिया अघि बढाए जनतामाझ पनि राम्रो सन्देश त जान्थ्यो । तर, सरकारले छानबिन गर्नुपर्ने विषय भएकाले हामी उसैले खोजेर ल्याओस् भन्ने पक्षमा छौं’, ती नेताले थपे ।
त्यसो त एमाले उपाध्यक्ष विष्णु पौडेलले रायमाझीबारे पार्टीमा छलफल भइरहेको बताए ।
उनले भने, ‘हामी अहिले छलफलमै छौं । तर, निलम्बन गर्ने तयारी छैन ।’