सुदूरपश्चिम नागरिक उन्मुक्ति संसदीय दलको नेताबाट हटाइए रामेश्वर, प्रमुख सचेतकमा खुसीराम चौधरी
कैलाली । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाइएको छ । आज संसदीय दलको कार्यालयमा बसेको बहुमत सदस्यहरूको बैठकले चौधरीलाई संसदीय दलको नेताबाट हटाउँदै घनश्याम चौधरीलाई जिम्मेवारी दिएको हो ।
उक्त बैठकमा रामेश्वर भने उपस्थित थिएनन् । सात जना प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्तिमा चार जनाको हस्ताक्षरसहित संसदीय दलको नेता परिवर्तन गरेको सूचना प्रदेशसभा सचिवालयमा दिइएको छ ।
त्यस्तै प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिइएको छ । यसअघि लक्ष्मणकिशोर चौधरी प्रमुख समेतक थिए । सचेतकको जिम्मेवारी कैलाश चौधरीलाई दिइएको छ ।
संसदीय दलको नेतासहित अन्य जिम्मेवारी परिवर्तन गर्न बसेको बैठकमा लक्ष्मण किशोर चौधरी, धनश्याम चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी उपस्थित थिए । इन्दिरा गिरीले बैठकमा उपस्थित भएर पनि निर्णयमा हस्ताक्षर गरिनन् । प्रदेश सांसदहरु रामेश्वर चौधरी र टीका थापा भने बैठकमा उपस्थित थिएनन् ।