कांग्रेसभित्रकै कलहले गण्डकीमा हुन सकेन मन्त्रिपरिषद विस्तार – Nepal Press

कांग्रेसभित्रकै कलहले गण्डकीमा हुन सकेन मन्त्रिपरिषद विस्तार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते विश्वास मत लिएपछि दौडेर काठमाडौं पुगे । पार्टीभित्रैबाट मन्त्री टुंगो लगाउन सकस भएपछि केन्द्रीय नेतृत्वसँग गाँठो फुकाइमाग्न काठमाडौं उनी पुगेका थिए ।

मुख्यमन्त्री बन्नुअघि सत्ता साझेदार दल माओवादीसँग नेतृत्वको समझदारीमा गाँठो पर्दा पनि पाण्डे काठमाडौंकै भर परेका थिए । त्यो गाँठो फुकिसकेपछि फेरि मन्त्रिपरिषद विस्तारमा उनको हलो अड्किएको छ ।

माओवादीसँगको भागबन्डा मिलिसक्दा आफ्नै पार्टीभित्र सन्तुलन मिलाउन उनलाई अप्ठेरो परिरहेको छ । मुख्यमन्त्रीकै पार्टी कांग्रेसको आन्तरिक विवादकै कारण मन्त्रिपरिषद् विस्तार अझै अन्योल बनेको छ ।

कांग्रेसका मुख्यमन्त्रीले आफ्नो पार्टीले ५ मन्त्रालय राख्ने गरी पार्टीका केही सांसदहरुलाई मन्त्री बनाउने आश्वासन दिइसकेका थिए । माओवादी केन्द्रलाई २ मन्त्रालय दिएर ५ कांग्रेसलाई राख्ने उनको मनसाय थियो ।

पाण्डेले गृहजिल्ला गोरखाबाट निर्वाचित सांसद नन्दप्रसाद न्यौपानेलाई कांग्रेस प्रमुख सचेतक पनि नियुक्त गरे । तर, सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले पनि एक मन्त्रालय पाउने केन्द्रमै सहमति भएपछि पाण्डेले पहिला ठानेजस्तो कांग्रेसले ५ मन्त्रालय पाउने भएन ।

केन्द्रकै सहमतिअनुसार स्वतन्त्र रुपमा जित हासिल गरेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाउन मुख्यमन्त्री पाण्डेलाई बाध्यता आइलागेपछि उनलाई अप्ठेरो आइलागेको हो ।

मुख्यमन्त्रीलाई परेको अप्ठेरो के भने अब कसलाई मन्त्री बनाउने ? जसलाई बनाउँदा पनि पहिला आश्वासन दिएका जति मन्त्री बन्ने परिस्थिति छैन । मुख्यमन्त्री पाण्डेले कांग्रेसका थप ३ सांसदलाई मन्त्री बनाउने आश्वासन दिइसकेका थिए । तर, अब कांग्रेसको भागमा २ मन्त्रालयमात्र छ ।

अहिले कांग्रेसबाट मुख्यमन्त्रीसहित २ जना र माओवादी केन्द्रबाट एउटा मन्त्री बनिसकेका छन् । अहिले कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिंखडा विनाविभागीय मन्त्रीको रूपमा मुख्यमन्त्रीसँगै शपथ लिएका हुन् ।

मुख्यमन्त्रीले कांग्रेसबाट ३ जनालाई मन्त्री बनाउने बचन दिएका थिए । तर, ३ मध्ये २ मात्रै मन्त्री बन्ने देखिएपछि कांग्रेसमा अहिले कलह बढेको छ ।

मुख्यमन्त्रीले नवलपुरका महेन्द्रध्वज जिसी, लमजुङका डा. टकराज गुरुङ र बागलुङका एक सांसदलाई मन्त्री बनाउने बचन दिएका थिए । यसो त अरु सांसद पनि मन्त्री बन्ने लाइनमा थिए ।

उनीहरुले पनि मन्त्री बन्न लबिङ गरिरहेका थिए । अहिले मुख्यमन्त्रीले कांग्रेसबाट थप २ जनामात्रै मन्त्री बनाउन सक्छन् । पार्टीमा विवाद आउने देखेपछि काठमाडौं हानिएका मुख्यमन्त्री पाण्डे काठमाडौंबाट फर्किएको २ दिन बितिसक्दा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

कांग्रेसले २ मन्त्रीमा नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दीपेन्द्र थापालाई समेट्ने सम्भावना उच्च छ । उनीसँगै मुख्यमन्त्रीले आश्वासन दिएका लमजुङ टकराज गुरुङको पनि मन्त्री बन्ने सम्भावना छ । मुख्यमन्त्री पाण्डेले मन्त्रालयको कार्यक्षेत्र हेरफेर गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मन्त्रालयको कार्यक्षेत्र हेरफेर बिहीबार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने तयारी छ ।

मन्त्रालयको कार्यक्षेत्र हेरफेर गर्दै प्रदेश सरकार

एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारले सुरुमै मन्त्रालयको संख्या १२ बाट ७ मा झारेको थियो । प्रदेशमा रहेका १२ मन्त्रालय गाभेर ७ मन्त्रालयमा बनाएको सरकार ढलेपछि नयाँ बनेको सरकारले मन्त्रालयको कार्यक्षेत्र हेरफेर गर्ने तयारी गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बस्ने बैठकले मन्त्रालयको कार्यक्षेत्र हेरफेर गर्ने सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । ‘बिहीबार बिहान मन्त्रिपरिषद् बैठक बस्दै छौं, उक्त बैठकमा मन्त्रालयको कार्यक्षेत्र परिवर्तन हुन्छ,’ उनले भनिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर