ओलीको चुनावी विश्लेषण- शीर्ष नेताले नै विपक्षीसँग साँठगाँठ गरे, प्रायोजित मिथ्या चिर्न सकेनौं – Nepal Press

ओलीको चुनावी विश्लेषण- शीर्ष नेताले नै विपक्षीसँग साँठगाँठ गरे, प्रायोजित मिथ्या चिर्न सकेनौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थायित्व राष्ट्रिय हितको रक्षा एवं समृद्धिका लागि नेकपा (एमाले) को बहुमत आवश्यक भएपनि सफल नभएको निष्कर्ष निकालेका छन् ।

केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले एमालेको बहुमत नआउनुमा केही कारणसमेत खोतलेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘कम्तीमा पनि सबैभन्दा ठूलो दलको रूपमा सरकारको नेतृत्व गर्दै मुलुकलाई सही दिशा दिने हाम्रो अपेक्षा थियो । तर, परिणाम त्यसअनुरूप आउन सकेन । यसमा तत्कालीन सत्ता गठबन्धनले खडा गरेका घेराबन्दी, षड्यन्त्र, दुष्प्रचार र आक्रमणको भूमिका त छ नै । तर पार्टीभित्र देखापरेका व्यक्तिवादी प्रवृत्ति, विकृति, सङ्गठनात्मक शिथिलता र अराजकता महत्वपूर्ण कारणका रूपमा रहेका छन् ।’

निर्वाचनमा ‘प्रत्येक पार्टी सदस्यसँग एउटै अपेक्षा, दुई मतको वृद्धि गर्नुस् पाँच मतको रक्षा’ भन्ने आह्वान गरेको भएपनि त्यो लक्ष्य पूरा हुन नसकेको बताए ।

उनले भने, ‘कतिपय कमिटीहरू क्रियाशील नै नभएको र जन-सम्बन्धबाट टाढिएको देखियो । कतिपय आकाङक्षीहरू आफूले उम्मेदवारी नपाउने बित्तिकै असमझदारी, असहयोग र अन्तर्घातसम्म गर्ने र विपक्षीसँग साँठगाँठ गर्ने प्रवृत्ति देखापर्‍यो । हिजोसम्म पार्टीको माथिल्लो ओहदामै रहेका कतिपय नेताहरू पार्टीविरूद्धको षड्यन्त्रमा संलग्न भए । पार्टीका स्थापित विचार र सिद्धान्त, पार्टीले सरकारमा हुँदा हासिल गरेका महत्वपूर्ण उपलब्धि एवं पार्टीका संकल्प र प्रतिबद्धताहरू जनताबीच प्रचार गर्ने र समाजमा स्थापित गर्ने काम प्रभावकारी हुन सकेन ।’

प्रायोजित मिथ्या र भ्रामक सूचनाको बाढीलाई परास्त गर्न नसकेको उल्लेख गर्दै युवा मतदाताहरू, सहरी जनमत र प्रवासी नेपालीहरूको बीचमा पार्टीप्रतिका आकर्षण र जनाघार सङ्कुचनमा परिणामतः जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि प्रतिनिधि सभाको पहिलो पार्टी बन्न नसकेको उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर