एमाले बैठक- आज चार आयोग र तीन प्रदेशको समीक्षात्मक रिपोर्ट पेश
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टीको सचिवालयले बैठकमा पेश गरेको कार्यसूची अनुमोदन गरेको छ ।
बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष ओलीको प्रतिवेदन पेश गर्नका साथै भुटानी शरणार्थी प्रकरण, अर्थतन्त्र, पछिल्ला समसामयिक राजनीतिक परिवेशको बारेमा ब्रिफिङ गरेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
सम्बोधनको क्रममा अर्थतन्त्र उकास्ने विषयमा सरकारको कुनै तयारी नभएको चर्चा गरेको उनको भनाइ छ ।
यस्तै, बैठकमा केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष आफ्नो सुझाव सल्लाह पेश गरेको बताए । अनुशान आयोगका अध्यक्ष केशव बडालले पार्टीभित्रको अनुशासनको स्थितिबारे, पार्टीको लेखा परिषद्को अध्यक्ष डा. पुष्प कँडेलले पार्टी आर्थिक प्रणालीको बारे र केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष विजय सुब्बाले निर्वाचनको सम्बन्धमा बैठकलाई जानकारी गराएको बताए ।
यस्तै, मिसन ग्रासरुट अभियानको समीक्षाअन्तर्गत सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले, कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रस्तुत गरेको बताए । अन्य प्रदेशको भोलिको बैठकमा पेश गरिने गुरुङले जानकारी दिए ।