बालकृष्ण खाणलाई कांग्रेसले तत्काल कारवाही नगर्ने, अदालतको निर्णय पर्खिनुपर्ने निष्कर्ष
काठमाडौं । नेपाली कांग्रेसले शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल कारवाही नगर्ने भएको छ । आज बसेको पदाधिकारी बैठकमा उनको विषयमा सामान्य छलफल भए पनि तत्काल कारवाही आवश्यक नभएको ठहर भएको हो ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले खाणले अनुसन्धानलाई सघाइरहेको बताए । पक्राउ पर्ने बित्तिकै दोषी भन्न नमिल्ने उनको भनाइ थियो ।
‘उहाँ बुटवल जानुभएको थियो । त्यतैबाट भाग्न पनि सक्नुहुन्थ्यो । तर निवासबाटै पक्राउ पर्नुभयो । उहाँले अनुसन्धानमा सघाइरहनुभएको छ । हामीले अदालतको निर्णय पर्खिनुपर्छ’, उनले भने ।
कांग्रेस दोषीलाई उम्काउने पक्षमा नभएको उनले बताए । अनुसन्धानलाई पार्टीले सघाउनुपर्नेमा सबै सहमत रहेको उनको भनाइ थियो ।
परियारले तत्काल कारवाही नगर्ने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको दाबी गरे । हिजोको बैठकमा केही नेताले निलम्बन गर्नुपर्ने धारणा राखेको भनि प्रकाशित समाचारको उनले खण्डन गरे ।
‘यो विषयमा कसैले पनि फरक मत राख्नुभएको छैन, समाचारले भ्रम सिर्जना गरेको मात्र हो,’ उनले भने ।
तर बैठकमा खाणलाई कारबाही गर्ने कि नगर्ने विषयमा विभिन्न नेताहरुले आफ्नो धारणा राखेका थिए । जसमा महामन्त्री गगन थापाले खाणले आफूमाथि आरोप लागेपछि आफैं राजीनामा दिनुपर्ने बताएका थिए ।
बैठकमा एक सहभागी नेताका अनुसार खाणले सफाइ पाए फेरि फूलमालाले स्वागत गरिने थापाको भनाइ थियो । तर अहिले खाणले नै यति मोरल देखाउनुपर्ने थापाको जोड थियो ।
बैठकमा पूर्वपदाधिकारीसहित नेताहरुको उपस्थिति रहेको थियो ।