इमरानको जमानत सुनुवाइ स्थगित, विरोध प्रदर्शन बढेसँगै अदालतबाट निस्किए न्यायाधीश
काठमाडौं । पाकिस्तानको इस्लामावाद उच्च अदालतमा अल-कादिर ट्रस्ट मुद्दामा इमरान खानको जमानतको सुनुवाइ स्थगित भएको छ । कडा सुरक्षा प्रवन्धसहित इमरान खानलाई उच्च अदालत पुर्याइँदा अदालत बाहिर इमरानका हजारौं समर्थकले उनको पक्षमा नाराबाजी तथा पक्राउविरुद्ध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रिपोर्टअनुसार नाराबाजी र विरोध प्रदर्शनकै बीचमा इमरानको जमानत सुनुवाइ सुरु भएको थियो । सुनुवाइ सुरु भएसँगै न्यायाधीशले शान्ति कायम राख्न अपिलसमेत गरे । तर, यसो हुन नसक्दा सुरु भएको केही क्षणमै सुनुवाइ शुक्रबार दिउँसोसम्मको लागि स्थगित भएको छ ।
यता पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार यस मामिलामा पीटीआई प्रमुख इमरानलाई गैरकानूनी रुपमा पक्राउ गरिएको भन्दै तुरन्त रिहा गर्न आदेशसमेत दिएको थियो । बीबीसीअनुसार सर्वोच्चले इमरान खानलाई इस्लामावाद हाईकोर्टमा जान भनेको थियो र उसले जे निर्णय गर्छ त्यो स्वीकार गर्नुपर्ने जनाएको थियो ।
सर्वोच्च अदालतबाट रिहा भएपछि पूर्वप्रधानमन्त्रीलाई प्रहरी लाइनको गेस्ट हाउसमा लगिएको थियो । सर्वोच्चले खानको घर जाने अपील अस्वीकार गर्दै उनी पुलिस लाइनमा बस्नुपर्ने बताएको थियो । तर, यस अवधिमा उनलाई कैदी जस्तो व्यवहार नगरिने र उनका १० समर्थकलाई पनि इमरानसँग बस्न अनुमति दिएको जनाइएको छ ।
उच्च अदालतमा सुनुवाइपछि इमरानले इस्लामावादको श्रीनगर राजमार्गबाट जनतालाई सम्बोधन गर्ने रिपोर्टमा उल्लेख छ ।