मौद्रिक नीतिको समीक्षा सरकारले चाहे जस्तो आएन: अर्थमन्त्री महत (भिडिओ)
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सरकारले चाहेको जस्तो नभएको बताएका छन् ।
शुक्रबार अर्थ मन्त्रालयमा राजश्व परामर्श समितिले निजी क्षेत्रसँग आगामी बजेटको लागि सुझाव लिने कार्यक्रममा उनले राष्ट्र बैंकबाट अझ खुकुलो मौद्रिक नीतिको अपेक्षा गरे पनि सरकारले चाहेको जस्तो नभएको बताएका हुन् ।
अर्थमन्त्री महतले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सकारात्मक सन्देश दिने बताए । तरलता सहज बनाइ कर्जा प्रवाहमा पनि सहज बनाइने उनको भनाइ थियो ।
‘मौद्रिक नीतिको तेस्रो समीक्षा सरकारले चाहे जस्तो भएको छैन । तर पनि अर्थतन्त्रमा सकारात्मक सन्देश दिन्छ’, उनले भने, ‘निजी क्षेत्रले दिएका सुझाव सल्लाहलाई सम्बोधन गर्नसक्ने हदसम्म गहिराइमा गएर औचित्य र आवश्यकताका विषयमा छलफल गर्छौं । सरकारको मुख्य लक्ष्य भनेकै अर्थतन्त्रलाई चलायमान गराउने हो ।’
निजी क्षेत्र व्यापारको क्रियाशीलता नभई उत्पादन वृद्धि र रोजगारी सिर्जना नहुने भन्दै अर्थमन्त्री महतले भने, ‘उद्योग व्यवसाय नफस्टाइ राजश्व बढ्दैन । राजश्व बढेमात्रै बजेटको आकार बढ्छ । बजेटको आकार बढ्यो भनेमात्रै राज्यको लगानी गर्ने क्षमता बढ्छ । शिक्षा स्वास्थ्य सामाजिक सुरक्षा, पूँजीगत खर्च, पूर्वाधार विकासमा निजी क्षेत्र आउँदैन ।’
उनले अनावश्यक कानून, नियमावली वा निर्देशिकामा रहेका नीतिगत समस्या र अप्ठ्याराहरुलाई हटाउने कोसिस बजेटमार्फत गरिने बताए ।