संकटामाथि पुलिसको रोमाञ्चक जीत, मनाङ र हिमालयन शेर्पाले बाँडे अंक
काठमाडौं । रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको नेपाल पुलिसले शुक्रबाार सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लवलाई पराजित गरेको छ । अर्को खेलमा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय टोली पुलिसले संकटालाई २-१ गोल अन्तरले पराजित गर्दै रेलिगेशन क्षेत्र छाडेको हो । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा पुलिसले दोस्रो हाफमा गोल गर्दै स्पष्ट तीन अंक जोडेको हो ।
पुलिसलाई जिताउन दुवै गोल विदेशी खेलाडीले गर्दा संकटाका निशान खड्काले फ्रिकिकमार्फत गोल गरेका थिए । पुलिसका मोजेस ग्याबा र मोहमद आशिकले गोल गरेका थिए ।
पुलिसले जारी लिगमा पाँचौं जीत निकाल्न सफल भएको छ । स्पष्ट तीन अंकपछि पुलिस १७ खेलबाट १९ अंकसहित तालिकाको ११औं स्थानमा उक्लिएको छ । अहिलेसम्म पुलिसले ५ जीत, ४ बराबरी र ८ हार भोगेको छ ।
शुक्रबार पराजित संकटा १७ खेलमा ५ जीत, ५ बराबरी र ७ हारसहित २० अंकका साथ दशौं स्थानमा छ ।
लिगअन्तर्गत शुक्रबार नै ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी फुटबल क्लवले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा भएको नतिजा नै अन्तिम बनेको हो ।
खेलमा मनाङले १४औं मिनेटमा अग्रता लिएको थियो । तर, सम्हालिएको प्रदर्शन गर्न नसक्दा हिमालयन शेर्पा अंक खोस्न सफल भयो । १४औं मिनेटमा मनाङका निरञ्जन धामीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ३६औं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी अबायोनी फाकुन्लेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै मनाङ र हिमालयन शेर्पाले लिग तालिकामा समान २१ अंक बनाएका छन् । समान अंक भए पनि मनाङ सातौं स्थानमा अटाउँदा हिमालयन शेर्पा नवौं स्थानमा यथावत छ ।
लिगअन्तर्गत शनिबार तीन खेल हुनेछ । पहिलो खेल साविक विजेता मच्छिन्द्र र थ्रीस्टार क्लवबीच च्यासल मैदानमा हुँदा दोस्रो खेल दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लवबीच दशरथ रंगशालामा हुनेछ ।
अन्तिम खेल दशरथ रंगशालामै साँझ अर्को विभागीय टोली एपीएफ र सातदोबाटो युथ क्लवबीच हुनेछ ।