राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई
रुपन्देही । पाल्पाको रानी महलमा सम्पन्न राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
शनिवार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि चुमेको हो ।
उपाधिसहित आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको पुलिसले एक लाख रुपैयाँमा चित्त बुझाएको छ ।
आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हरायो ।
अर्को विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बन्यो ।
एपीएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गर्यो । आर्मीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
चैत २८ गतेबाट रानी महल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस गरी ५ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी ९ टोली सहभागी थिए ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता रानी महललाई बिच भलिबलको हब बनाउने उद्देश्यका साथ गतवर्षदेखि सुरुआत गरिएको थियो ।
खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्जय मेमोरियल फाउन्डेसनले कार्यक्रम आयोजना गर्दै आएको छ ।
समापन समारोहमा पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य वीरबहादुर राना, फाउन्डेसनकी अध्यक्ष निरोज मास्केलगायतले विजेता खेलाडी र टिमलाई पुरस्कृत गरे ।
कार्यक्रममा तानसेन नगरपालिका मेयर सन्तोषलाल श्रेष्ठ र बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले रानी महल क्षेत्रलाई बिच भलिबलको केन्द्र बनाउने घोषणा गरेका छन् ।