एमालेको नामबाट ‘कम्युनिष्ट’ शब्द हटाउन सुवास देवकोटाको सुझाव – Nepal Press

एमालेको नामबाट ‘कम्युनिष्ट’ शब्द हटाउन सुवास देवकोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सुवास देवकोटाले पार्टीको नामबाट ‘कम्युनिष्ट’ शब्द हटाउन सुझाव दिएका छन् ।

हालैको केन्द्रीय कमिटी बैठकमा उनले एमालेको सिद्धान्त र संगठनको अन्तरवस्तु जनताको बहुदलीय जनवाद र आन्दोलनको विरासत पनि यही हो भनेका छन् ।

‘हामीले लिने भविष्यको बाटो पनि यसैमा निहित छ । त्यसैले हाम्रो नाम यसैलाई झल्काउने हुनुपर्छ । नकि, एकदलीय, अति केन्द्रिकृत, बन्द समाज निर्माण गर्ने संयन्त्र भनेर चिनिने कम्युनिष्ट पार्टी’, देवकोटाले आफ्नो सुझावमा लेखेका छन् ।

सिद्धान्तअनुसार संगठन हुनुपर्ने विषय सातौं महाधिवेशनमा उठेको र आठौं महाधिवेशनले सम्पूर्ण संगठन संयन्त्रलाई बहुपदीयमा लगेकोमा संगठनको लोकतान्त्रीकरणको काम समयानुकूल बन्न बाँकी रहेको नेता देवकोटाले औंल्याएका छन् ।

उनले सहभागिताविनाको निर्णय प्रक्रियाले पार्टी सदस्यहरूले निर्णयमा अपनत्व नलिने व्यवहारमा देखिन थालेको टिप्पणीसमेत गरेका छन् ।

‘एमालेले लोकतान्त्रिक सिद्धान्त, त्यस अनुसारको संगठन प्रणाली अंगीकार गरेको तीन दशक बढइ भइसक्दा पनि एकदलीय र अधिनायकवादी प्रणाली / व्यवस्था अंगिकार गरेका संसारभरका सबैको दोष अझै बोक्नुपरिरहेको छ । त्यही कारण अन्तराष्ट्रिय समुदायको कर्के व्यवहार बेहोरिरहनुपरेको छ’, देवकोटाले भनेका छन्, ‘यता देशभित्र नीति / कार्यक्रम, सरकारमा हुँदा गरेका काम, नेताहरूको व्यक्तित्व र शैली, कार्यकर्ताहरुको जिवनशैली / व्यवहार मनपराउनेहरू पनि एकदलीय अधिनायकवाद ल्याउलान्, बहुलता समाप्त पार्लान् भन्ने आशंकाले हाम्रो आन्दोलनमा जोडिन हिचकिचाइरहेका छन् ।’

उनले थपेका छन्, ‘जननेता मदन भण्डारीले व्याख्या गर्नुभएको रूप र सारलाई राम्रोसँग आत्मासात् गर्ने हो भने हामीले मानेको सिद्धान्त, हामी हिँडेको बाटो, हामीले गरेका काम र हामी संगठित भएको ढाँचा सार हो भने नाम रूप हो । सारलाई बोक्न नसक्ने रूप किन बोकिरहने ?’


प्रतिक्रिया

One thought on “एमालेको नामबाट ‘कम्युनिष्ट’ शब्द हटाउन सुवास देवकोटाको सुझाव

  1. कस्ताकस्ता खुश्चेब भुषडीलाई केन्द्रीय सदस्य बनाउछ हो एमालेले। थुक्क गति!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर