नक्कली शरणार्थी प्रकरणको कनेक्सनबारे मुख्यमन्त्री चौधरीले दिए यस्तो प्रष्टीकरण
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिएका छन् ।
पूर्वगृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण र दाङ घर भई काठमाडौं बस्ने सन्देश शर्मा रेग्मी पक्राउ परेपछि चौधरीको कनेक्सन जोडिएको भन्दै केही मिडियामा समाचार सार्वजनिक भएपछि मुख्यमन्त्री चौधरीको सचिवालयले विज्ञप्तिमार्फत प्रष्टीकरण दिएको हो ।
शनिबार चौधरी आफैँ गृहजिल्ला पुगेर यो विषयमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । कांग्रेस नेता खाण पक्राउ परेपछि नेता चौधरी पूर्वनिधारित कार्यक्रम छाडेर काठमाडौं गएपछि झन् आलोचना बढेको थियो ।
प्रदेशको मुख्यमन्त्री बन्दा नेता खाणकै योजनमा बनेको, कांग्रेस नेतृ आरजु राण देउवासँग सहकार्यमा गैरसरकारी संस्था चलाएको, एमाले छाडेर कांग्रेससँग नजिकिएका र खाण गृहमन्त्री हुँदा सँगै हिंडडुल गरेका दाङका सन्देश रेग्मी पक्राउ परेको, दाङकै गजेन्द्र बुढाथोकी फरार रहेको र नक्कली भुटानी शरणार्थी प्रकरणमा दाङकै धेरैजना पीडित भएको, चौधरीका भाइमार्फत धेरै दंगाली विदेशमा गएकाले मुख्यमन्त्री चौधरीलाई यो विषयमा जोडिएको आशंका गर्दै समाचार आएका छन् ।
‘मेरो नाम विभिन्न सञ्चारमाध्यममा आएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ, पत्रकारितामा समाचार लेख्दा केही आधार र प्रमाण त चाहिन्छ होला नि, त्यसै चरित्रहत्या गर्न त पत्रकारिताको धर्म होइन नि’, प्रेस युनियन दाङको अधिवेशनमा चौधरीले भनेका छन् ।