‘निरा ! तिम्रो अभावमा छोरी र म विचलित छौँ’ – Nepal Press
सरस्वतीनगर हत्याकाण्ड :

‘निरा ! तिम्रो अभावमा छोरी र म विचलित छौँ’

निरा हत्याकाण्डमा थप अनुसन्धानका लागि प्रहरीलाई श्रीमान् योगेन्द्रको आग्रह

काठमाडौं । सरस्वतीनगरकी निरा आचार्यको आफ्नै पसलभित्र गत ७ वैशाखमा बीभत्स हत्या भयो । उनका श्रीमान् योगेन्द्र आचार्य अहिले त्यो शोकबाट बाहिर निस्किन सकेका छैनन् ।

भाँडा पसलमा ग्राहकको भेषमा आएका एक व्यक्तिले लुटपाटकै लागि निराको हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । प्रहरीले घटना गराउने एक मात्र अभियुक्तका रूपमा विनोद विकलाई पक्राउ गरी गत १७ वैशाखमा सार्वजनिक गरेको थियो । विकले अपराध कबुल गरिसकेका छन् ।

अपराधी पक्राउपछि घटना भएको १२ औँ दिनमा गत वैशाख १९ गते निराको पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । अन्त्येष्टि पश्चात् पुर्ख्यौली घर बागलुङमा उनको १३ दिनको क्रिया गरिएको छ । निराको छोरा नभएकाले देवरले क्रिया गरेका हुन् ।

१३ दिनको क्रिया सकिएसँगै निराका श्रीमान् योगेन्द्र आचार्य (योगेश) ले पहिलो पटक घटनाका विषयमा सार्वजनिक रूपमा आफ्नो भावना पोखेका छन् ।

उनले लेखेका छन्, ‘निरा, तिमीलाई गुमाउनुपर्दाको पीडा असह्य छ, तिम्रो अभावमा म र छोरी दुवैजना विचलित भएका छौँ । त्यसमाथि त्यति बीभत्सपूर्ण हत्याको पीडा धान्न पनि मुस्किल भएको छ । म हाम्री छोरीको खुशी र भविष्यप्रतिको चिन्ताले छटपटिएको छु । तर यी सबै पीडालाई मनभित्रै दबाउन म बाध्य छु । किनकि मैले हाम्री १० वर्षकी छोरीलाई सम्हाल्नु छ । एउटा सन्तानको जीवनमा आमाको अभाव अपूरणीय हुन्छ । तर म हरपल कोसिस गर्नेछु, हाम्री छोरीलाई बाबाको माया र आमाको वात्सल्यको कमी हुन दिने छैन । यसका लागि मैले आफूलाई सम्हाल्नै पर्छ । किनकि म आफैँ विचलित भएँ भने छोरीलाई भरोसा कसले दिन्छ ?’

आचार्यले नेपाल सरकारको चासो र प्रहरीको अग्रसरताले हत्यारा पत्ता लागेको बताएका छन् । तर, यो घटनामा अरू व्यक्ति पनि संलग्न हुन सक्ने उनको आशंका छ ।

हत्याको प्रकृति हेर्दा एकै व्यक्तिले गरेको नहुन सक्ने भएकाले थप शंकित व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन उनले नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।

‘अनुसन्धानका लागि आवश्यकता अनुसारको सहयोगका मैले प्रारम्भिक चरणमा जसरी नेपाल प्रहरीलाई गरेको थिएँ, त्यसरी नै यो घटनाको किनारा नलागेसम्म म पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । दोषीलाई हदैसम्मको सजाय नभएसम्म मेरी श्रीमती निराको आत्माले शान्ति पाउने छैन र म, हाम्री छोरी र मेरो परिवारलाई न्यायको अनुभूति हुने छैन । तसर्थ दोषीलाई हदैसम्मको सजायको माग गर्दछु,’ उनले भनेका छन् ।

घटनामा निराको माइत पक्षले सुरुमा श्रीमानमाथि समेत शंका गरेका थिए । प्रहरीले पनि योगेन्द्रमाथि धेरै अनुसन्धान गर्‍यो । तर, श्रीमान् र श्रीमतीबीच सम्बन्धमा दरार आएको कुनै प्रमाण भेटिएन । माइती पक्षबाट भने अहिलेसम्म पनि योगेन्द्रलाई भेट्न आएका छैनन् ।

निराको मृत्यु हुँदा श्रीमान् योगेन्द्र करिब ३–४ मिनेटको दूरीमा थिए । सरस्वती नगरमा यो जोडीले दुईवटा पसल गर्दै आएको थियो । निराले भाँडाकुँडा पसल हेर्थिन् भने योगेन्द्रले अलिकति पर रहेको इलेक्ट्रिक पसल चलाउँथे । एक ग्राहक निराको पसलमा आउँदा रगत बगेको देखेपछि हल्लाखल्ला गरेका थिए ।

त्यसपछि निराका श्रीमानलाई खबर गरिएको थियो । योगेन्द्र पसलमा आउँदा निराको प्राणपखेरु उडिसकेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *