गाउँपालिका अध्यक्षले ‘खेताला लगाएर’ कक्षा १२ को परीक्षा दिएको पुष्टि, तीनवटै परीक्षा रद्द गर्ने निर्णय – Nepal Press
नेपाल प्रेस-फलोअप

गाउँपालिका अध्यक्षले ‘खेताला लगाएर’ कक्षा १२ को परीक्षा दिएको पुष्टि, तीनवटै परीक्षा रद्द गर्ने निर्णय

विद्यालयका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक पनि कारबाहीमा

सिन्धुली । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातले खेताला परीक्षार्थी लगाएर कक्षा १२ को परीक्षा दिएको पुष्टि भएको छ । उनले दिएका तीनवटै परीक्षा रद्द हुने भएका छन् ।

मोक्तानको सिम्बोल नम्बर २२००३१२७ का दुई उत्तरपुस्तिका फेला परेपछि विवाद उब्जिएको थियो । यस विषयमा माध्यामिकि शिक्षा परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षमा बसेको बैठकले मोक्तानले दिएका परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

कपिलाकोट मावि महादेवस्थान परीक्षा केन्द्रमा मोक्तानलाई पुस्तकालय कोठामा एक्लै राखेर परीक्षा दिन लगाइएको सूचनाका आधारमा सिडिओसहितको टोलीले २९ गते परीक्षा केन्द्रमा अनुगमन गरेको थियो ।

त्यस दिन सामाजिक अध्ययन तथा जीवनपयोगी विषयको परीक्षा थियो । सो परीक्षा सकिएपछि बाहिरबाट लेखेर ल्याइएको उत्तरपुस्तिका मिसाउन खोज्दा पोल खुलेको हो ।

याे पनि पढ्नुस्: गाउँपालिका अध्यक्षले किर्ते गरेर १२ को परीक्षा दिएको आरोप, एउटै नम्बरका दुई उत्तरपुस्तिका भेटिए

एउटै नम्बरका दुईवटा उत्तर पुस्तिका फेला परेको र सो उत्तरपुस्तिका केन्द्राध्यक्षले बोर्डमा लेखी पठाएको भन्दै बैठकले मोक्तानले दिएका परीक्षा पूर्णरुपमा रद्द गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले परीक्षालाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न नसकेको भन्दै केन्द्राध्यक्ष विष्णुमाया योन्जन, सहायक केन्द्राध्यक्ष शुक्रबहादुर माझी र निरीक्षक गोकर्णविक्रम साहलाई परीक्षा अवधिभर परीक्षासँग सम्वन्धित कुनै पनि काम गर्न नदिने निर्णय पनि गरेको छ । सो परीक्षा केन्द्रको परीक्षा सञ्चालनका लागि शिक्षक खेमहरि बराल नयाँ केन्द्राध्यक्ष तोकिएका छन् ।


प्रतिक्रिया

One thought on “गाउँपालिका अध्यक्षले ‘खेताला लगाएर’ कक्षा १२ को परीक्षा दिएको पुष्टि, तीनवटै परीक्षा रद्द गर्ने निर्णय

  1. पढ्ने उमेरमा बन्दुक पट्काउदै हिदे होला अब खेताला नलगाएर के गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर