शरणार्थी प्रकरणमा कांग्रेस महामन्त्रीद्वयका दुःख- बाहिर कुरा चर्को, पार्टीभित्रको परिस्थिति अर्को
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाण पक्राउ परेपछिको कम्पन कांग्रेसभित्र अझै थामिएको छैन । सभापति शेरबहादुर देउवा निकट खाणलाई कांग्रेसले कुनै कारबाही नगरेपछि बाहिर चर्को आलोचना भइरहेको छ ।
खाण पक्राउलगत्तै सभापति शेरबहादुर देउवाले पदाधिकारी वैठक डाकेका थिए । तर, सो बैठकले उनीमाथि कारबाहीबारे कुनै निर्णय लिएन । बरु अदालतको निर्णय पर्खने भन्दै नेताहरु पन्छिए । त्यसको भोलिपल्ट बसेको बैठकमा खाणका विषयमा गम्भीर छलफलसमेत नभएको सहमहामन्त्री जीवन परियारले बताएका छन् ।
गम्भीर कसुरमा पक्राउ परेर हिरासतमा बसिरहेका नेतालाई पार्टीले निलम्बनसमेत गर्न नसक्ने विडम्बनापूर्ण स्थिति कांग्रेसमा देखिएको छ । यसअघि एमालेले पनि आफ्ना सचिव टोपबहादुर रायमाझीमाथि पक्राउ पुर्जी जारी गरेपश्चात तत्काल कारबाही गर्न सकेको थिएन । तर, चर्को जनदबाबपछि उसले सचिवबाट निलम्बन गरेको छ । कांग्रेसले भने त्यो पनि गर्न सकेको छैन ।
खाणलाई कारबाही नगर्दा सबैभन्दा बढी दबाबमा परेका छन् कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा । ‘पपुलिस्ट’ नेताको छवि बनाएका उनीहरु बाहिर शरणार्थी प्रकरणमा कडा कुरा गर्न छाडेका छैनन् । तर, पार्टीभित्रको परिस्थिति अर्कै छ । उनीहरु दुवैले पार्टीको बैठकमा खाणमाथि कारबाहीको अडान लिन सकेनन् । यद्यपि, उनीहरुले पदाधिकारी बैठकमा आफूले निलम्बनको माग राखेको भनेर निकटका मिडियाबाट प्रचार गराइरहेका छन् ।
यो प्रकरणको लहरो अन्तिममा सभापति देउवाकी धर्मपत्नी आरजु राणामा गएर ठोक्किनसक्ने सम्भावनाका कारण कांग्रेस नेताहरु आतंकित बनेको देखिन्छ । देउवा पत्नी आरजु र खाणकी पत्नी मञ्जुलाई करोडौं रकम दिएको दाबी गरिएको अडियोसमेत सार्वजनिक भइसकेको छ ।
श्रीमानलाई पक्राउ गरिएपछि मञ्जु सम्पर्कविहीन बनेकी छन् भने आरजु मिडियामा अन्तर्वार्ता दिएर आफूले घुस नखाएको भन्दै छोराको नाममा कसम खाइरहेकी छन् । उनीहरु दुवैमाथि अहिलेसम्म पक्राउ पुर्जी जारी भएको छैन । आफ्नी पत्नीलाई पक्राउ नगर्न देउवाले प्रहरी नेतृत्वलाई तीव्र दबाब दिइरहेको समाचार मिडियामा आएका छन् ।
पार्टीभित्र देउवाको विश्वासपात्रमध्येका एक हुन् खाण । उनी गृहमन्त्री छँदा मन्त्रालयमा देउवापत्नी आरजुको रजगज थियो । टेकनारायण पाण्डेलाई आरजुकै चाहनामा गृह सचिव बनाइएको बताइन्छ । त्यसले गर्दा हिरासतमा रहेका खाण वा पाण्डे दुवैले आरजुलाई मुछ्नसक्ने सम्भावना टड्कारो छ । देउवा दम्पती यही त्रासमा छन् । खाणलाई कारबाही गर्ने हो भने उनले आफूहरुलाई अप्ठेरोमा पार्नसक्ने चिन्ता उनीहरुलाई छ । त्यसैले कुनै पनि हालतमा देउवाले खाणमाथि निलम्बनको निर्णय नलिने कांग्रेस सूत्रहरु बताउँछन् ।
देउवाइतर पक्षका नेताहरु भने पार्टीको बैठकमा गगन थापा र विश्वप्रकाशले निलम्बन गरेर जानुपर्ने कुरा गरेको दाबी गर्छन् ।
इतर पक्षका एक नेताले भने, ‘अस्तिकै बैठकमा गगनजीहरुले निलम्बन गर्दा राम्रो हुन्छ भन्ने कुरा राख्नुभएको रहेछ । तर, देउवा दाइले कुनै जवाफ नदिएर टार्नुभएछ । छलफल भइरहेको छ ।’
तर, कांग्रेस बैठकपछि सहमहामन्त्री परियारले भने बैठकमा कसैले पनि फरक कुरा नगरेको बताएका थिए । गगन–विश्वप्रकाशले बोलेको भनेर आएका कुराहरु भ्रामक भएको उनले टिप्पणीसमेत गरेका थिए ।
इतर पक्षका नेता गुरुराज घिमिरेले पक्राउ परेपछि पार्टीले तत्काल निलम्बन गर्नुपर्ने बताउँछन् ।
उनी भन्छन्, ‘अनुसन्धानको प्रक्रिया अघि बढिसकेपछि कारबाहीको प्रक्रिया टुंगिन्छ टुंगिँदैन । आफ्नो ठाउँमा छ । इतिहासमा के भएको थियो त्यो पनि हामीले हेर्नुपर्छ । जस्तोः विजय गच्छादार, खुमबहादुर खड्का र गोविन्दराज जोशीलाई के गरिएको थियो, त्यो पार्टी नेतृत्वले हेर्नुपर्छ ।’
अहिलेको जनमतलाई ख्याल गर्दै पार्टी एक्सनमा जानुपर्ने उनको ठम्याइ छ ।
‘अनुसन्धानलाई सघाउनुपर्छ पार्टीले पनि । तर, जनमतले निलम्बन गर्न माग गरिरहेको छ । त्यही प्रकरणमा एमालेले पनि टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको छ’, नेता घिमिरेले भने, ‘निलम्बन भनेको कारबाही पनि होइन । छानबिन नसकेसम्मलाई जिम्मेवारी स्थगित गरिएको न हो । त्यसैले जनताको चाहनाअनुसार के गर्दा राम्रो हुन्छ । त्यो गर्नुपर्छ ।’
पार्टीको केन्द्रीय कमिटीको बैठक राख्नलाई नेतृत्वमाथि आफूहरुले दबाब बढाइरहेको पनि उनले बताए ।
पार्टीका अर्का नेता नैनसिंह महर पार्टीमा छलफल भइरहेको बताउँछन् । उनी भन्छन्, ‘अहिले पार्टीका बैठकहरुमा छलफल भइरहेको छ । त्यसबारेमा अब बस्ने भनिएको पदाधिकारी बैठकमा टुंग्याउने भन्ने पनि भएको थियो । तर, अर्को बैठक बसेको छैन । त्यसैले आगामी बैठकले के गर्ने भन्ने निर्णय लेला ।’
त्यसो त सहमहामन्त्री डिना उपाध्याय निलम्बनको विषयमा पार्टीमा प्रारम्भिक छलफल भएको बताउँछिन् । उनले भनिन्, ‘उहाँबारे के गर्ने भन्नेबारे अस्तिको बैठकमा सामान्य छलफल भएको थियो । तर, निर्णय केही भएको छैन । अब बस्ने बैठकमा थप छलफल होला ।’
प्रवक्ता प्रकाशशरण महतले भने खाणले अनुसन्धानमा सहयोग गरिरहेकाले तत्कालै कारबाही प्रक्रिया अघि बढाउनु नपर्ने बताएका थिए ।
बुधबार बसेको पदाधिकारी बैठकपछि उनले भनेका थिए, ‘अनुसन्धानलाई सहयोग गरिरहनुभएको छ । कतै फरार हुनुभएको छैन । बालकृष्णजीले आफैंले अनुसन्धानलाई सहयोग गर्छु भन्नुभएको छ । अनुसन्धान परिपक्व होस्, पछि पार्टीले कुनै निर्णय गर्नुपरे त्यसैबेला गर्छ ।’
गगन थापा र विश्वप्रकाश पार्टी बैठकमा खुलेर बोल्न नसके पनि बाहिर भने आफ्नो दुनो सोझाउन तल्लीन छन् । उनीहरु शुक्रबार प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । उनीहरुले भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही गर्न आफ्नो साथ रहेको भन्दै खुट्टा दह्रोगरी टेक्न आग्रह गरेर फर्किए ।
खाण पक्राउ पर्नुअघि गगनले शरणार्थी प्रकरणबारे संसदमा पनि कडा बोलेका थिए । उनले भनेका थिए– ‘नेता होस् कि नाता, यस प्रकरणमा दोषी कसैले पनि उन्मुक्ति पाउनुहुँदैन ।’
खाण पक्राउ परेपछि भने उनी सार्वजनिक रुपमा बोलेका छैनन् । उनले शनिबार आयोजना गरिएको भ्रष्टाचारविरोधी प्रदर्शनप्रति सामाजिक सञ्जालबाट ऐक्यबद्धता प्रकट गरेका थिए । तर, आफैं सो कार्यक्रममा सहभागी भएनन् । जबकि गगनका एक विश्वासपात्र ट्विटर अभियन्ता डा. रामेश कोइराला उक्त प्रदर्शनका अगुवामध्ये एक थिए ।