पक्राउ पुर्जी जारी नहुँदै बालकृष्ण खाणकी कान्छी श्रीमती ‘फरार’, सिड्नी पुगेको खुलासा – Nepal Press

पक्राउ पुर्जी जारी नहुँदै बालकृष्ण खाणकी कान्छी श्रीमती ‘फरार’, सिड्नी पुगेको खुलासा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेसँगै उनकी कान्छीपत्नी मञ्जु खाण सम्पर्कविहीन छिन् । उनी श्रीमानलाई भेट्न हिरासत नपुगेका कारण विभिन्न अड्कलबाजी भइरहेका छन् ।

खाण पक्राउ पर्ने दिनसम्म मञ्जु काठमाडौंमा नै थिइन् । तर, श्रीमान र श्रीमती अलग-अलग बसिरहेका थिए । खाण मैजुबहालमा रहेको एक कांग्रेस नेताको घरबाट पक्राउ परेका हुन् । मञ्जु भने कुपण्डोलस्थित आफ्नै घरमा बस्दै आएकी थिइन् ।

गत वैशाख २७ गते बुधबार बालकृष्णलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीसँग जानुअघि उनले श्रीमतीसँग भिडियो कल गरेको समाचारहरुमा जनाइएको छ । खाण पक्राउपछि मञ्जुको मोबाइल अफ भएको थियो । अहिलेसम्म पनि निरन्तर अफ छ ।

मञ्जु कहाँ छिन् भन्ने विभिन्न अड्कल भइरहँदा उनी अष्ट्रेलियाको सिड्नी पुगेको विश्वसनीय सूचना नेपाल प्रेसलाई प्राप्त भएको छ । स्रोतका अनुसार श्रीमान पक्राउ परेको पर्सिपल्ट शुक्रबार बिहान ७ बजेतिर उनी सिड्नीको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकी थिइन् ।

मञ्जुका छोरा क्षितिज कार्की र दाइ लामो समयदेखि सिड्नीमा बस्दै आएका छन् । छोराले नै मञ्जुलाई विमानस्थलमा रिसिभ गरेका थिए । अहिले छोरासँगै बसिरहे पनि उनी सार्वजनिक सम्पर्कमा छैनन् । उनले सोसल मिडिया पनि डिएक्टिभ गरेकी छन् ।

बालकृष्ण र मञ्जुको विवाह विवादित पनि छ । बालकृष्णले जेठी श्रीमतीसँग छोडपत्र नगरी मञ्जुसँग दोस्रो विवाह गरेका हुन् । मञ्जुको पनि यो दोस्रो विवाह हो । सिड्नीमा रहेका छोरा क्षितिज मञ्जुको पहिलो श्रीमानपट्टिका हुन् । पहिलो श्रीमानबाट मञ्जुका एक छोरी पनि छन् ।

बालकृष्णको पहिलो श्रीमती भने दिलमाया खाण हुन्, जो अहिले पनि रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ मा बस्दै आएकी छन् । त्यहाँ बालकृष्णको पुर्ख्यौली घर छ । दिलमाया सरकारी स्थायी शिक्षिका हुन् । बालकृष्ण र दिलमायाको २०४३ सालमा मागी विवाह भएको थियो । सञ्चारमाध्यममा आएअनुसार उनीहरुका दुई छोरी छन् । एउटी छोरी बंगलादेशमा डेन्टिस्टका रुपमा काम गर्छिन् भने अर्की छोरी काठमाडौंकै एउटा अस्पतालमा नर्सिङ अधिकृत छिन् ।

बालकृष्ण र मञ्जुको भने २०५२ सालतिर विवाह भएको बताइन्छ । मञ्जु पनि राजनीतिक पृष्ठभूमिबाटै आएकी हुन् । नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय रहँदा उनीहरुको प्रेम सम्वन्ध भएको थियो । मञ्जु अहिले नेपाली कांग्रेसकी समानुपातिक सांसद छिन् ।

बालकृष्णका जेठी र कान्छी श्रीमतीको अहिलेसम्म भेट भएको छैन । दिलमाया काठमाडौं आउँदा बालकृष्णको घरमा बस्दिनन् । मञ्जु पनि अहिलेसम्म बालकृष्णको पुर्ख्यौली घरमा पुगेकी छैनन् । दुई श्रीमतीमध्ये दिलमाया सोझी छिन् भने मञ्जु कडा स्वभावकी छिन् ।

शरणार्थी प्रकरणमा आफू पनि तानिन सक्ने डरले मञ्जुले देश छोडेको दाबी गरिएको छ । सामाजिक सञ्जालमा एउटा अडियो पनि भाइरल भएको थियो, जसमा अज्ञात व्यक्तिले मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवालाई करोडौं रुपैयाँ दिएको दाबी गरेका छन् । यद्यपि, प्रहरीले यो अडियोको आधिकारिकता पुष्टि गर्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर