सदनमा आरजुको गुनासो- उजुरी दर्ता गर्न मलाई तीन घण्टा लाग्यो, ६ दिनसम्म पनि जवाफ आएन (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले फेक न्यूज र मिडियामाथि छानबिन गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो ‘फेक अडिओ’ बारे उजुरी दिन जाँदा दर्ता गर्न अलमल गरेको दाबी गरिन् ।
उनले भनिन्, ‘मैले ६ दिन अगाडि शरणार्थी प्रकरणमा संलग्न भएको भनेर आएको अडिओ फरेन्सिक टेस्टको लागि सीआईबी र साइबर क्राइम सेलमा दिएको थिएँ । साथीहरूले विश्वास गर्न मान्नुहुन्न होला दर्ता गर्न पनि मानिएको थिएन सत्ता पक्षको ठूलो नेताको श्रीमती भनेर । तीन घण्टा लाग्यो दर्ता गराउन । त्यसको पनि गृहमन्त्रालयबाट जवाफ चाहन्छु त्यो अलमल किन थियो ।’
आफूले उजुरी दिएको ६ दिनसम्मपनि अडिओबारे सत्यतथ्य ल्याउन नसकेकोप्रति आपत्ति जनाइन् ।
उनले भनिन्, ‘मेरोमात्रै होइन अरुको पनि बनाइएको छ त्यस्तो अडिओ तर, किन मेरोमात्रै नाम उच्चारण हुन्छ ।’
महिलालाई राजनीतिमा आउने नेपालमा धेरै कुरा व्यहोर्नुपर्ने भएको उल्लेख गरिन् । उनले सरकारले अडिओको सत्यतथ्य छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।