अबको बजेटमा २-४ लाखका टुक्रे योजना प्राथमिकतामा पर्दैन : मन्त्री सिंह
कर्णालीमा कुन आवमा कति बजेट ?
सुर्खेत । कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले टुक्रे योजना २-४ लाख बजेटका योजनालाई प्राथमिकता नदिने बताएका छन् ।
सोमबार आगामी आर्थिक वर्षको बजेट सम्बन्धी पत्रकारको राय सुझाव माग गरेका सिंहले टुक्रे योजना वितरण भएको उक्त योजनाबाट कुनै राम्रो रिजल्ट नआएको भन्दै यसलाई प्राथमिकतामा नराख्ने जनाए ।
सिंहले प्रदेशको बजेटमा अब विचौलियाको घोचपेच आग्रह पुर्वाग्रह, कुनै खालको भेदभाव र कुनै छायामा परेर बजेट नल्याउने दाबी गरे ।
‘यसअघि प्रदेशमा अनुदानका रुपमा विचौलियाहरु हावी भयो अब त्यो हुने छैन । त्यसको अन्त्य गर्नका लागि म लागि परेको छु’, उनले भने, ‘यो नागरिकको बजेट हो, नागरिकमैत्री बजेट हुनुपर्छ । जनताको बजेट हो जनता मैत्री बजेट हुनुपर्छ ।’
अब आउने बजेटमा राजनीतिक पार्टी र नेताको कुनै प्रभाव नपर्ने मन्त्री सिंहले बताए । ‘कसैको दबाब र प्रभावमा बजेट ल्याउने र कार्यान्वयन गर्ने काम हुँदैन् जनताको पक्षमा बजेट आउँछ’, मन्त्री सिंहले भने ।
कर्णालीमा वितरणमुखी योजना र विचौलियाको रोकथामका लागि आफू मन्त्री भएदेखि नै लागिपरेको उनको भनाइ छ । संसदीय पद्धतिमा संसदको महत्व र सरकारको महत्व रहेको छ । यो सरकारको महत्व र गरिमा जोगाएर यो बजेट ल्याउने बताउँदै सिंहले वितरणमुखी योजना रोकथामका साथै बजारीकरणमा आधारित अनुदानमा अब ध्यान नदिइने बताए ।
साना साना योजना कार्यन्वयनका कठिनाइ हुने गरेको मन्त्री सिंहको भनाइ छ । योजना कार्यनवयनमा कठिनाइका कारणले धेरै योजनामा रकमान्तर गर्नुपर्ने परिस्थिति रहेको उनले बताए ।
कर्णालीमा कुन आवको कति बजेट ?
०७४/०७५ पहिलो आर्थिक वर्ष कुल बजेट १ अर्ब २ करोड ५ लाख
०७५/०७६ मा कुल बजेट २८ अर्ब २८ करोड २८ लाख
०७६/७७ मा ३४ अर्ब ३५ करोड ३७ लाख ७२ हजार
०७७/०७८ मा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार
०७८/ ०७९ मा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार
०७९/०८० मा ३२ अर्ब ६१ करोड ६१ लाख ३६ हजार