टीकापुर हत्याकाण्ड: लक्ष्मण थारुको सजाय घट्यो, दुईजनालाई सफाइ (फैसलासहित/भिडिओ)
काठमाडौं । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका लक्ष्मण थारुको जेल सजाय सर्वोच्च अदालतले घटाएको छ । सर्वोच्चले उच्च अदालत दिपालयको फैसला संशाेधन गर्दै जन्मकैदकाे सजायलाई ३ वर्षमा झारेको हो ।
यसअघि कैलाली जिल्ला अदालतले लक्ष्मणलाई ३ वर्षको जेल सजाय सुनाएकोमा उच्चले बढाएर जन्मकैद पुर्याएको थियो । अहिले सर्वोच्चले जिल्ला अदालतको फैसला सही ठहर्याएको छ ।
२०७५ सालको फागुन २२ गते जिल्ला अदालतले लक्ष्मणलाई ३ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाअघि नै लक्ष्मणले ३ वर्ष पुर्पक्षमै बिताइसकेका थिए ।
त्यसैले उनी फैसलापछि तत्कालै रिहा भए । तर, जिल्ला अदालतको निर्णय उल्टाउँदै उच्च अदालते लक्ष्मणलाई फेरि जन्मकैदको सजाय सुनायो ।
२०७७ साल पुस ३ गते उच्च अदालतले उनलाई जन्मकैद सजाय सुनाए पनि उनी पक्राउ परेका थिएनन् ।
गत वर्षको असारमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा लक्ष्मण प्रवेश गरेका थिए । सर्वोच्चले जन्मकैदको सजाय उल्टाएर ३ वर्षमा झारेपछि उनले अब जेल बस्नु नपर्ने भएको छ ।
यसैगरी, टीकापुर हत्याकाण्डमा दोषी ठहरिएका दुईजनाले सफाइ पाएका छन् । विद्रोह भनिने सीताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका हुन् । उनीहरूलाई कैलाली जिल्ला अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो भने त्यसलाई दिपायल उच्च अदालतले सदर गरेको थियो ।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मुख्य आरोपी रेशम चौधरीको सजाय भने सदर गरिदियो । जिल्ला र उच्चको फैसलाअनुसार रेशम जन्मकैदको सजाय खेपिरहेका छन् ।