जुरे पहिरो पीडितले ८ वर्षपछि पाए राहत रकम – Nepal Press

जुरे पहिरो पीडितले ८ वर्षपछि पाए राहत रकम

सिन्धुपाल्चोक । १४२ जनाको ज्यान जाने गरी २०७१ साउनमा गएको जुरे पहिरो पीडितहरुले स्थानीय स्तरबाट संकलित भएको रकम ८ वर्षपछि पाएका छन् ।

साविकको मांखा गाउँविकास समितिको जुरेमा पहिरो जाँदा १ सय ३५ जनाको मृत्यु भएको थियो भने करोडौंको भौतिक सम्पत्ति क्षति भएको थियो । पहिरोपछि जुरे पहिरो पीडितहरुका लागि जनस्तरबाट २ करोड २४ लाख ६६ हजार ६५७ रुपैयाँ संकलन भएको थियो ।

तत्कालिन सर्वदलीय संयन्त्रले संकलित रकम पीडितहरुलाई वितरण गर्न नसकेपछि तत्कालिन जिल्ला दैवी प्रकोप उद्धार समितिको खातामा रकम जम्मा भएर बसेको थियो । विभिन्न सामाजिक संघ संस्थाहरुले पीडितहरुको नाममा जम्मा भएको रकम तत्काल वितरण गर्न माग गरेपनि राजनीतिक दलहरुबीच सहमति हुन नसक्दा वितरण हुन सकेको थिएन ।

तत्कालिन जिल्ला दैवी प्रकोप उद्धार समितिले संकलन भएको रकम वितरणका लागि जुरे पहिरो प्रभावित राहत वितरण मापदण्ड समिति बनाएर पीडितहरुको वर्गीकरण गरेको थियो । अहिले रकम वितरण गर्दा त्यही मापदण्डको आधारमा नै रकम वितरण गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी निरन्जन श्रेष्ठले जानकारी दिए ।

घरपरिवारको मृत्यु भएकाहरुको लागि ‘क’ घर जग्गा सम्पति क्षति भएकाहरुलाई ‘ख’ जग्गा मात्रै पहिरोमा परेकाहरुको लागि ‘ग’ वर्गमा विभाजित गरेर त्यही आधारमा रकम वितरण गर्ने मापदण्ड तयार पारिएको तत्कालिन मापदण्ड समितिका सदस्य समेत रहेका पत्रकार युवराज पुरीले जानकारी दिए ।

अहिले रकम पाउँदा पीडितहरुले ४ हजार देखि १ लाख ५४ हजार रुपैयाँ सम्म रकम पाएका छन् । जिल्ला विपद व्यवस्थापन समितिले बाह्रविसे नगरपालिका,बलेफी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुखहरुलाई पीडितहरुले पाउने चेक प्रदान गरेको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले तीन स्थानीय सरकारका प्रमुखहरुलाई रकमबापतको चेक हस्तान्तरण गरेका थिए । अब सम्बन्धित स्थानीय तहको खातामा रकम जम्मा हुने र स्थानीय तहले आफ्नो पालिका भित्रका पीडितहरुलाई तोकिएको मापदण्ड अनुसार रकम वितरण गर्ने छ ।

पीडितहरुले रकम पाउँदा मापदण्ड निर्धारण समितिले तोकेको मापदण्ड अनुसार नम्बर प्रदान गरेर रकम हस्तान्तरण गरिएको छ । बलेफी गाउँपालिकाको १ सय १६ परिवार पीडित भएका थिए भने १ सय १३ को मृत्यु भएको थियो । बलेफीले जम्मा २४२७ अंक प्राप्त गरेर सबैभन्दा बढी १ करोड २८ लाख ३ हजार ६६२ रकम पाएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाको २१ जनाको मृत्यु भएको थियो भने ७८ परिवार पीडित भएका थिए । उक्त गाउँपालिकाले १४९५ अंक प्राप्त गरेर ५३ लाख ७० हजार ५७६ रकम प्राप्त गरेको छ । बाह्रविसे नगरपालिकाबाट ८ को मृत्यु भएको थियो भने ८६ परिवार पीडित भएका थिए । बाह्रविसेले २०११ अंक प्राप्त गरेर ६८ लाख १२ हजार ४१९ रुपैयाँ पाएको छ ।

लामो समयपछि स्थानीय स्तरबाट संकलन भएको रकम पीडितहरुले पाउनु सुखद भएको वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बताए । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सासंद माधव सापकोटा ‘सुवोध’ ले आफूहरुको निरन्तरको पहल र प्रयत्न पछि पीडितहरुको नाममा संकलन भएको रकम प्रदान गर्न सफल भएको बताए ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनको प्रयास कार्यक्रममा पीडितहरुका लागि रकम बापतको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा वागमती प्रदेशका आन्तरिक मामिला मन्त्री गंगानारयण श्रेष्ठ , प्रदेश सभा सदस्यहरु सरल सहयात्री,मसिना भण्डारी, अमृता नेपाल, माइली तामाङ लगायत स्थानीय सरकारका प्रमुखहरुको सहभागीता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *