आन्दोलनले मौलाउँछ कि जोगाउँछ भ्रष्टाचार ? – Nepal Press

आन्दोलनले मौलाउँछ कि जोगाउँछ भ्रष्टाचार ?

आन्दोलनले के महाकली सन्धि, एमसीसी या नागरिकतासम्बन्धी गलत ऐन-नियम रोक्यो ? निर्मलाको हत्यारा पत्ता लाग्यो या तस्करी भएको सुन भेटियो ? हिजो आलम, खड्का, वाग्ले, गुरुङ, जोशीहरु आन्दोलनकै बलमा जेल परेका हुन् त ?

संविधानको कागजमा गणतन्त्र भनिए तापनि आजको राजनीति २०५२/०५३ साल वरिपरि नै छ । कुनै पनि पार्टीको बहुमत नभएकाले स्थानीय तहदेखि संघीय सरकार निर्माणसम्म भागबन्डा, लेनदेन कायम छ । पालिका सदस्यलाई प्रलोभनमा पारेर बहुमत जुटाउने होस् या प्रदेश र संघका सरकारमा मन्त्रीको पद बाँड्न मन्त्रालय फुटाएको होस् । अस्तिमात्र कांग्रेसका एक जना महामन्त्री धोक्रो फुल्ने गरि चिच्याउँदै थिए तनहुँमा- ‘राज्यले उद्योग खोलेर बस्दैन । हो, हामीले उद्योग कलकारखाना बेचेकै हो ।’ सायद यसपटक जनताले बुझे । उनले गरेको भाषण जनताले खारेज गरिदिए । अझै पनि पुरानो कुरा जोडौं । ससाना भाइबैनीलाई पनि गाउँमा कांग्रेस-कम्युनिष्ट बनाउँदै थियौं हामी । स्कुल छुट्टी भएपछि एकथरिले नारा लगाए- ‘महाकाली नदी साझा हो, पानी आधा आधा हो ।’

यो प्रसंग यहाँ किन जोड्नुपर्‍यो भने देश चलाउनेहरुसँग भिजन हुन्छ । कुनै कुनै बेला आफ्नै पार्टीले पनि गलत नीति लिँदा सांसदको पदबाट राजीनामा दिएका, ह्वीप नमानेका उदाहरणहरु पनि छन् । विकसित देशमा कुनै विषयमा पार्टीले लिएको नीतिविरुद्ध मतदान पनि गर्नसक्छ सांसदले । तर, खै त हाम्रो देशमा त्यस्ता सांसद ? तालीमात्र बजाउने तलब भत्तामात्र खाने अनि आफैंले लेखेको उभिएर पढ्न नसक्ने पनि सांसद छन् हाम्रो भाग्यमा । समाज राजनीतिले आक्रान्त थियो । कांग्रेस-कम्युनिष्टमा बाँडिएको समाजमा जन्ती र मलामी पनि बाँडिन्थ्यो । कम्युनिष्ट समर्थकका छाउराछाउरीले लगाएको नाराविपरीत कांग्रेसका छाउराछाउरीहरुले अर्काे नारा लगाए- ‘महाकाली नदी साझा हैन, पानी आधा आधा हैन ।’ यो क्रम चलिरह्यो । कांग्रेसले सूर्यबहादुर थापालाई प्रजातन्त्रप्रति नरम भनेर बोक्यो । एमालेले लोकेन्द्रबहादुर चन्दलाई राष्ट्रवादी भनेर काँध हाल्यो । कांग्रेस राप्रपामा सूर्यबहादुर जिताउन लाग्यो, एमाले लोकेन्द्र बोक्न ।

कुनै कुनै बेला आफ्नै पार्टीले पनि गलत नीति लिँदा सांसदको पदबाट राजीनामा दिएका, ह्वीप नमानेका उदाहरणहरु पनि छन् । विकसित देशमा कुनै विषयमा पार्टीले लिएको नीतिविरुद्ध मतदान पनि गर्नसक्छ सांसदले । तर, खै त हाम्रो देशमा त्यस्ता सांसद ?

राजाका पालामै खुलेका विश्वविद्यालय, उद्योग र त्यो बेलाका भौतिक पूर्वाधारलाई अझ परिस्कृत गर्नुपर्नेमा त्यहाँका सालिक भत्काउन, इतिहास मेट्नतिर नलागेको भए आज देश धेरै अगाडि बढेको हुन्थ्यो । एमाले र कांग्रेसको नेतृत्वले असल नियतका साथ काम गरेको भए माओवादी शक्ति जन्मिने र राजाले ‘कु’ गर्ने वातावरण नै सृजना हुने थिएन । अझै पनि समय छ हिजोका गल्ती नदोहोराउने गरी सबै मिलेर देशलाई अघि बढाउनेतिर लागौं । के बीपी, पुष्पलाल र मदन भण्डारीहरु गणतन्त्र र हाम्रो देशको भूराजनैतिक अवस्थाबारे अनभिज्ञ थिए र ? हामी व्यवस्थालाई फेर्ने नाममा राष्ट्रका तत्कालीन मूल समस्याहरुप्रति बेखबर भयौं । नीति, विधि बनाऔं, असल नियतका साथ काम गरौं । परिवर्तन हुन्छ, परिणाम निस्कन्छ । एउटाले गरेको राम्रो काम अर्काेले उल्टाउने होइन, अरुले बिगारेको सुधारेर लगे पनि हुन्छ । सुरुवात गर्नेकोमात्र होइन राम्रो गरेर सम्पन्न गर्नेको पनि नाम हुन्छ । सबैको अनुहार, क्षमता र आनीबानी थाहा भैसक्यो । अब मिलेर गर्न सिकौं ।

नयाँ बोतलमा पुरानै पेय बन्यो गणतन्त्र

एमाले, कांग्रेस र राजासहितको बहुदलले हुँदैन भनेर गणतन्त्र आयो । कसैको भाषामा आतङ्कवाद, कसैको भाषामा सशस्त्र विद्रोह त माओवादीले भनेको महान जनयुद्ध जेसुकै होस् । धेरै ठूलो मूल्य देशले चुकायो, हजारौंले जीवन गुमाए । अझ बेपत्ता, घाइते र सहाराविहीनहरुको पीडा त कति हो कति ? भाषण, कागज र गीतमा होइन देउवा, ओली र दाहालले चलाएका सरकारहरुले नीति, विधि र पद्धतिमा कुनै अन्तरको अनुभूति भयो र ? तिनै समस्यालाई देखाउँदै आम नेपाली जनताको मुक्तिदाता हौं भनेर आयो माओवादी । देशभित्रको जनजीविका, जातीय पहिचान र महिला, दलित, सिमान्तकृत सबैको समस्या समाधान गर्ने देश बाहिर खास गरेर भारतसँग भएका सम्पूर्ण असमान सन्धि सम्झौता खारेज गर्ने भन्दै । हजारौंले बलिदान गरेको र देशको खर्बौं सम्पत्ति नोक्सान भई विकासलाई ५० वर्ष पछि धकेलेको आन्दोलन कसरी टुङ्गियो ?

हिजो एमाले-कांग्रेसले पूर्वपञ्चहरु बोकेझैं आज माओवादीले आफ्नै नेताहरुको टाउकोको मोल तोक्नेसँग घाँटी जोड्नुपरेको छ । जनयुद्धबाट आएको शक्ति कहिले एमाले त कहिले कांग्रेसको पाउ मोलेर सत्तामा जानैपर्ने बाध्यतामा छ । बिचरा सोझा कार्यकर्ता उफार्न अझै देश माओवादीको एजेण्डामा चलेको छ भनेर चित्त बुझाउनु परेको छ । तीतो सत्य के हो ? ती नै अड्डा अदालत, पुरानै भ्रष्ट चरित्रका सेना, पुलिस र कर्मचारीतन्त्र ! पद, पावर र पैसा जसरी हासिल गरे पनि मान्यता दिने र वाहवाही गर्ने हाम्रो समाज । हामीले ल्याएको गणतन्त्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, भूमिसुधार के फेरियो ? जमिन झन खण्डीकरण भयो । शिक्षा र स्वास्थ्यमा गणतन्त्रले के फेरबदल गर्‍यो ? गफ र भाषणले हुन्छ ? हिजो कांग्रेस-एमाले नजिककाले लुटे । गणतन्त्रपछि माओवादीले पाएसम्म लुट्दैछ । अझ स्पष्ट भाषामा भन्दा हजुर हामी, के हाम्रो चरित्र फेरिएको छ आफ्नै मनलाई सोधौं त ? आफू फेरिनु नपर्ने अरुले फेरिदिएर समाज फेरिन्छ ? त्यसैले केही पात्र र व्यवस्थामात्र फेरिएर केही हुँदैन । चरित्र, आनीबानी र आचरण फेर्नुपर्छ सबैले, मैले, हजुरले । तबमात्र परिवर्तन सार्थक हुन्छ ।

पद, पावर र पैसा जसरी हासिल गरे पनि मान्यता दिने र वाहवाही गर्ने हाम्रो समाज । हामीले ल्याएको गणतन्त्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, भूमिसुधार के फेरियो ? जमिन झन खण्डीकरण भयो । शिक्षा र स्वास्थ्यमा गणतन्त्रले के फेरबदल गर्‍यो ? गफ र भाषणले हुन्छ ?

हलुङ्गो आन्दोलनको मन्त्र !

निष्ठा, नैतिकता र आदर्श भएका ऋषिमुनिहरुले, त्यस्तै कर्तव्यनिष्ठ आमा, दिदीबैनीहरुले दिएको श्राप लाग्ने हुनाले राजा, महाराजा तथा शक्तिशाली व्यक्तिहरु गलत कर्म गर्न डराउँथे भनेर हामीले पढ्यौं । वेद मन्त्रको प्रभावले वर्षा गराउँथ्यो, अनिष्ठ रोक्थ्यो भनेर कथाहरु सुन्यौं । एक जना निष्ठावान व्यक्ति अनशन बसेर सत्ता हल्लाइदिने कुराहरु खै कहाँ हराए आज ? गलत कुराको विरुद्ध आवाज उठाउनु हरेक नागरिकको कर्तव्य हो । बितेको चार दशकमा कुनै पनि आन्दोलनले सकारात्मक परिणाम दिएन । महाकाली सन्धि राष्ट्रघाती थियो, हामीले आन्दोलन गर्‍यौं । रोकिएन, सन्धि भएर छाड्यो । त्यसको परिणाम के भयो ? देखिएकै छ । शिक्षा क्षेत्रमा क्याम्पसबाट सर्टिफिकेट लेभल हटाउने कुराका विरुद्ध आन्दोलन गर्‍यौं, त्यो रोकिएन । आज देशभरका सरकारी क्याम्पस रित्तै छन् । अर्बौंको भौतिक पूर्वाधार खण्डहर भयो । त्यो रोकिएन, शिक्षा पूरै खरिद बिक्री भयो । हामीले संविधानमा संघीयता र धर्मनिरपेक्षता जस्ता कुरा नलाद भनेर आन्दोलन गर्‍यौं, एमसीसी, नागरिकता, नीतिगत भ्रष्टाचार, तस्करी, छोरीचेलीको बलात्कारपछि हत्या, रुकुममा भएको जातीय हिंसा जस्ता सयौं विषयमा आन्दोलन गर्‍यौं, ती रोकिएनन् ।

हुँदाहुँदा जो अति भ्रष्ट छ । कुनै इलम, व्यापार नभएका निम्छरा नेता रातारात राजधानीका बासिन्दा भए । ती नै भ्रष्टाचारविरोधी आन्दोलनका अग्रणी नेता ! कति आन्दोलन गरे किसानहरुले मल, बीउ पाउन, धान र उखुको मूल्य तय गर्न र किसानको बक्यौता रकम असुल गर्न । किन दशकौंदेखि ती समस्या ज्युँका त्युँ छन् ? यसबाट के बुझिन्छ भने फरक फरक नाम, झण्डा र नाराको आवरणमा नेपालको शासन व्यवस्था देश धराशायी पार्न र गरिबलाई झन गरिब बनाउन खोज्नेहरुकै हातमा छ । म सबैमा बिन्ती गर्छु, हामी आन्दोलनको नाममा उपयोग भैरहेका छौं । हामीले चुनेर पठाएका नै महाभ्रष्ट देखिए । पुलिस भ्रष्टाचारीलाई हत्कडी लगाउन डराइरहेको अवस्थामा आन्दोलन गरेर के होला ? न निर्मलाको हत्यारा भेटियो न त ३३ किलो सुनको तस्कर ! बरु भ्रष्टहरुलाई मजा भयो जनतालाई भ्रममात्र केही हुन्छ भन्ने !

त्यसै कङ्काल भएको होइन देश

संसारभरि सबैलाई कलम घुमाएर एअरकण्डिसनभित्र जागिर मिल्छ र ? सबैले सजिलो काममात्र गरेर कृषि, पशुपालन कसले गर्ने ? के खाने ? कुनै पनि काम सानो हुँदैन । लाखौं तलब खाने भए पनि जागिर त जागिर नै हो । जागिरेले चिया पसलेको जत्तिको आत्मसम्मान जीवनभर भेट्न सक्दैन ।

हामी आन्दोलनको नाममा उपयोग भैरहेका छौं । हामीले चुनेर पठाएका नै महाभ्रष्ट देखिए । पुलिस भ्रष्टाचारीलाई हत्कडी लगाउन डराइरहेको अवस्थामा आन्दोलन गरेर के होला ? न निर्मलाको हत्यारा भेटियो न त ३३ किलो सुनको तस्कर !

कति भनिरहनु बाबुले कामदार र छोराछोरीले काम नपाइरहे अवस्था कसरी आयो ? संसारका सबै देशमा अफिसमा कलम घुमाएर खाने जागिर सबैलाई छ ? स्वदेशमा शिक्षण पेशालाई तुच्छ मान्ने युवाहरु विदेशमा जेसुकै गर्न किन पछि पर्दैनन् ? सबै मान्छेले सजिलो काम, सफा काम, खतरामुक्त र एअरकण्डिसनभित्रै काम गर्ने हो भने के खाने होला ? संसार बहुध्रुवीय शक्ति सन्तुलनको संक्रमणकालमा छ । कुनै पनि बेला युद्ध, भोकमरी र ठूलो महासंकट निम्तिने खतरा बढेर गएको छ । भविष्यमा आउन सक्ने सबैखाले संकटबाट मुक्त हुन हामीले गरेका परम्परागत उद्यमहरु कृषि, पशुपालन, हस्तकला, बेतबाँसका कामहरु जगेर्ना गर्न नछोडौं । विदेशमा गएका भाइ, छोराछोरीहरु स्वदेश फर्केर आउने अवस्था भयो भने ।

तसर्थ आफूले खोजे जस्तो, रोजे जस्तो काम नपाउने बेलासम्म जे भेटिन्छ, त्यो काम गरौं । कम्तिमा महिनाभरिको आफ्नो खर्चको आधा भए पनि कमायौं भने परिवारलाई हलुङ्गो हुन्छ, कम ऋण लाग्छ र तनाव घट्छ । म ज्योतिष त होइन । तर, घटना क्रम देश, काल र परिस्थिति उल्टोतिर गइरहेको हुनाले पनि हामी अरुको देखेर होइन, आफ्नो आधार हेरेर अघि बढौं । लहैलहैमा लागेर हामी गलत बाटोतर्फ अग्रसर भइरहेका छौं । हामीले काम नगरेरका कारण पनि कंगाल भएको हो देश । हामी पनि जिम्मेवार छौं । किनकि भ्रष्ट लुटेरा नेताहरु हामीले नै छानेको हो ।

अन्तमा भ्रष्टाचार, ठगी, बदमासी, विभिन्न तस्करी र मानव तस्करीको विरुद्ध आन्दोलन होइन, दसी प्रमाण जुटाएर मुद्दा हाल्ने हो । सम्बन्धित निकायलाई जानकारी दिने हो र भेटेको सूचना उपलब्ध गराउने हो । तपाईंले जस्तो अरुले पनि आफूसँग भएको जानकारी, सूचना तथा तथ्य प्रमाण लुकाएर बसे भने भ्रष्टहरु सबै जोगिइरहनेछन् । आन्दोलनको नाममा बहकिनुभन्दा काम गरौं । जत्रो सकिन्छ इलम गरौं र सबैले नागरिक कर्तव्य पूरा गरौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *