केपी ओलीले शिलान्यास गरेको बुटवल-पाल्पा जोड्ने केबलकार प्रचण्डले उद्घाटन गर्ने – Nepal Press

केपी ओलीले शिलान्यास गरेको बुटवल-पाल्पा जोड्ने केबलकार प्रचण्डले उद्घाटन गर्ने

विष्णु पौडेलले शिलन्यास गरेको सिद्धार्थ केबलकार पनि असोज १ मा संचालनको तयारी

रुपन्देही । २०७७ साल फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री हुँदा बुटवलबाट पाल्पाको दुई डाँडा बसन्तपुर र नुवाकोटमा जाने दुई केवलकार १० दिनको अन्तरमा शिलन्यास गरिए ।

धेरैलाई विश्वास लागेको थिएन यति छिटै यहाँ केबलकार संचालनका लागि तयार हुन्छ भनेर । उद्घाटनपछि धेरैले सामाजिक सन्जालमा लेखे यो संचालन गर्न दशकौं लाग्नसक्छ अहिले चर्चामा आउन मात्रै शिलन्यास गरिएको हो ।

तर कोरोना महामारी, बढ्दो आर्थिक संकटलाई झेल्दै लगानीकर्ताले जोखिम मोलेरै अर्बौ लगानी गरेर संचालनको अन्तिम तयारीमा पुराएका छन् ।

बुटवलको दुई उत्तरी डाँडामा तयार भएका केबलकारमध्ये केपी ओलीले ०७७ फागुन १ गते ओलीले शिलन्यास गरेको केबलकार यही जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने तयारी भएको छ ।

बुटवलबाट पाल्पाको बसन्तपुर डाँडामा जाने लुम्बिनी केवलकार यही जेठ १४ गतेदेखि संचालनमा आउने भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको स्वामित्वमा रहेको आइएमई ग्रुपको अगुवाईमा संचालन हुन लागेको हो ।

बुटवलदेखि पाल्पाको तिनाउ गाउँपालिकाको बसन्तपुरसम्म २.६ किलोमिटर लामो लुम्बिनी केवलकार आगामी जेठ १४ गतेदेखि सञ्चालनमा ल्याउनेगरी तयारी भएको सो कम्पनीका प्रतिनिधिले जनाएका छन् ।

यसअघि वैशाखमा सञ्चालन हुने भनिएको केबलकार प्राविधिक परीक्षण सम्पन्न नभएको भन्दै रोकिएको थियो । यसैको तयारीका लागि चन्द्र ढकाल केही दिन यता बसेर काठमाडौँ फर्किएका छन् ।

लुम्बिनी केवलकार प्रा.लिका प्रोजेक्ट म्यानेजर गोकुल साउदले अहिले परीक्षण रूपमा केवलकार सञ्चालन भएको र १४ वा १५ गते औपचारिक रूपमा शुभारम्भ गर्ने गरी तयारी थालिएको जानकारी दिए । अहिले १५ वटा गोण्डाला राखेर परीक्षण भइरहेको छ ।

बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको २०७७ साल फागुन १ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गरेका थिए । केवलकारको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने निश्चित भएको साउदले बताए ।

‘१४ वा ‘१५ गते प्रधानमन्त्रीको हातबाट केवलकार शुभारम्भ गर्ने तयारी भएको छ, प्रधानमन्त्रीको समय मिलाएर दिन तय हुन्छ, विशेष अवस्थाबाहेक १५ गतेभित्रै केवलकारको उद्घाटन हुन्छ’, उनले नेपाल प्रेससँग भने ।

केबलकारको बुटवल उपमहानगरपालिका ३ बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन छ । कम्पनीले साढे ३ अर्बको लागतमा केबलकार निर्माण गरेको हो । साउदले बसन्तपुरमा रहेको दुर्गामाताको मन्दिरलाई पुनरोत्थान गरी नयाँ धार्मिक गन्तव्य बनाउनुका साथै पार्क, पिकनिक स्पट तथा बाल उद्यान निर्माणको काम अहिले भइरहेको बताए ।

मनोकेवल डिट्याचेवल गोन्डाला सिस्टम रहेको केवलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सकिनेछ । अहिले १५ वटा गोन्डालाबाट परीक्षण भइरहे पनि ९ वटा थपेर २४ वटा गोन्डाला राखिने साउदले बताए ।

१० मिनेटको यात्रामै तराईदेखि पहाडसम्मको मौसमको अनुभव तथा दृश्यावलोकन गर्न सकिने भएकाले पनि केवलकार सञ्चालनपछि यस क्षेत्रमा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा गरिएको छ । सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको २ दशमलव ६ किलोमिटर बीचमा पर्ने ६ दशमलव २७ हेक्टर वन क्षेत्र प्रयोगको लागि २५ वर्षका लागि भोगाधिकार दिएको छ ।

‘यो केबलकार शिलन्यास भएको १० दिनपछि एमाले उपाध्यक्ष तथा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गरेको बुटवलको अर्को सिद्धार्थ केबलकारको पनि धमाधम निर्माण भइरहेको छ । पुरानो बुटवलस्थित बुटवल मावि माथिबाट पाल्पाको नुवाकोट डाँडामा जानेगरी यो केबलकार असोज १ गते संचालनको तयारी भइरहेको छ । निर्माणको काम धमाधम भइरहेको छ, असोज १ गते संचालन गर्नेगरी काम भइरहेको छ’, अध्यक्ष राजेन्द्रसिंह गुरुङले भने ।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै यस क्षेत्रमा पर्यटकलाई भुलाउने आधार क्षेत्र हुन् यहाँका दुई केबलकार । त्यसैगरी लुम्बिनी आउने पर्यटकलाई बुटवलसम्म ल्याउनसकेमा यस क्षेत्रको पर्यटन क्षेत्र चलायमान हुने पर्यटन व्यवसायीहरूको भनाइ छ ।

केबलकार यो क्षेत्रको विकासको ड्रीम प्रोजेक्ट भएकाले पनि लुम्बिनी आएका पर्यटकलाई बुटवल ल्याउने पाल्पाको डाँडामा बसाउने गरी पर्यटन विकासमा टेवा पुर्याउने मूल उद्देश्य रहेको पर्यटन व्यवसायी माधव नेपालको भनाइ छ ।

सिद्धार्थ केबलकार प्रालिले २०६८ सालमा केबलकार निर्माणको अभियान अगाडि बढाएको थियो । करिब दुई किलोमिटर लम्बाई रहेको सिद्धार्थ केबलकारमा एकपटकमा ८ जना यात्रु बोक्ने क्षमता भएका २५ वटा गन्डोला रहनेछन् ।

नुुवाकोटमा कालभैरवको मन्दिर, सेनकालीन दरबार, सेनकालीन इनार, काठेदरबार, सेनकालीन भग्नावशेष दरबार नुुवाकोट किल्ला र ग्रामीण परिवेश पर्यटकले अवलोकन गर्न पाउने र बुटवलदेखि नुवाकोटसम्म केबलकार सञ्चालनपछि विशेषतः पुरानो बटौली बजार क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको नुवाकोट विकास समितिका अध्यक्षसमेत रहेका पर्यट व्यवसायी नेपाल बताउँछन् ।

त्यस्तै, राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवासमेत रहेको छ । नुवाकोटगढी पुग्न सडक निर्माण सम्पन्न भएपछि पर्यटकीय पूर्वाधारहरू निर्माणको कामले पनि गति लिएको छ । नुवाकोटमा भ्यूटावर बनिसकेको छ, सांस्कृतिक डबली दरबार क्षेत्रमा पार्क निर्माणलगायतका संरचना बनिसकेका छन् ।

बुटवल मानव अस्तित्वको एक करोड वर्ष पुरानो आदिमानव रामापिथेकसको दाँत फेला परेको वैज्ञानिक तथ्यले पुष्टि भएको मानव सभ्यताको उद्गमस्थल पनि हो । ऐतिहासिकता र स्थानीय संस्कृतिलाई जोडेर पर्यटन प्रवद्र्धन गर्न लागिएको छ । ऐतिहासिक ठाउँमा यस्ता विकासका पूर्वाधारले पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्ने नाट्टा लुम्बिनीका प्रदेश अध्यक्ष रचना पन्तले बताइन् ।

लुम्बिनी केबलकार बन्ने वसन्तपुरमा पहिले सिद्धबाबाको मन्दिर रहेको थियो । त्यहाँ दर्शन गर्न मानिसहरू जान अप्ठ्यारो भएपछि सिद्धार्थराजमार्गको नजिकै तिनाउ नदीको किनारामा ल्याइएको इतिहासकारहरू बताउँछन् । वसन्तपुरबाट मनोरम हिमशृंखलाका साथै तराईका फाँट र भारतको नौतुनहवासम्मका दृश्य अवलोकन गर्न सकिन्छ ।

लुम्बिनीसँग जोडिएर ठूला पूर्वाधार निर्माण भएपछि निजी लगानीकर्ता आकर्षित भएका हुन् । भैरहवा गौतमबुद्ध विमानस्थल र बेलहिया नाका हुँदै लुम्बिनी आउने पर्यटकलाई केबलकारमार्फत पहाडी पर्यटनमा प्रवेश गराउने योजना बनाइएको छ ।

वसन्तपुरमा कामक्षा मन्दिर निर्माण र सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्टसमेत सञ्चालनको तयारीमा छन् । बसन्तपुरमा रहेको दुर्गामाताको मन्दिरलाई पुनरोत्थान गरी एउटा नयाँ धार्मिक गन्तब्य बनाउनुका साथै पार्क, पिकनिकस्थल तथा बाल उद्यानहरु निर्माण गरिने योजना व्यवसायीको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *