सुपारी र पोस्ता दाना आयातमा चलखेल : व्यापारिक फर्मको नामै किटेर जिम्मा दिने तयारी
'आयातसँगै २ अर्ब भन्सार र अन्तशुल्क पनि घटाउन दौडधुप'
काठमाडौं । सरकारले व्यापारिक फर्म नै तोकेर सुपारी र पोस्ता दाना आयातको बाटो खोल्ने तयारी गरेको छ । यसअघि मन्त्रिपरिषद्ले आयात खुलाउने निर्णयलाई टेकेर वाणिज्य विभागले कोटा निर्धारण गरी आयातको व्यवस्था मिलाउने गर्थ्यो । अब भने फर्म नै तोकेर सुपारी र पोस्ता दाना खुलाउने तयारीका लागि चलखेल बढेको हो ।
केही दिनभित्रै मन्त्रिपरिषद् बैठकबाट २२ वटा फर्मलाई सुपारी आयात र १० वटा फर्मलाई पोस्ता दाना आयातको बाटो खोल्ने निर्णय गर्नेगरी गृहकार्य भइरहेको स्रोतले बतायो । वाणिज्य विभागलाई पन्छाउँदै सरकारले सीधै फर्मलाई यसको जिम्मा दिन लागेको हो ।
तेस्रो देशबाट नेपाल आएको सुपारी भारत निकासी हुने गरेको छ । सुपारी नेपालबाट भारत निकासी गर्दा सस्तो पर्ने व्यवसायीहरू बताउँछन् । आयात खुलाएसँगै अर्बौं रकम नेपालबाट बाहिरिँदा आयातमुखी अर्थतन्त्रमा थप चाप पर्ने अर्थशास्त्रीहरू बताउँछन् ।
पोस्ता दाना र सुपारीको आयातमा राजनीतिक नेतृत्वसहित ठूलै गिरोहको चलखेल हुने गरेको यसअघि पनि पटकपटक सार्वजनिक भएको थियो ।
प्रधानमन्त्री कार्यालय मातहतमा रहेको राजस्व अनुसन्धान विभागले अवैधरूपमा आयात भएका वस्तुहरु पक्रने गरेको छ । तर, विभागले नियन्त्रणमा लिएका अवैध सुपारी अनुसन्धान नै नगरी छाड्ने पनि गर्दै आएको छ । विभागले केही समयअघि नियन्त्रणमा लिइएको ८ ट्रक सुपारी अनुसन्धान नै नगरी छाडेको थियो ।
नेपालबाट भारत निकासी हुन लागेको ८ ट्रक सुपारी मोरङ प्रहरीले गत साउन ५ मा नियन्त्रणमा लिएको थियो । प्रहरीले उक्त सुपारी साउन ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाएको थियो । सुपारी पक्राउ परेपछि प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो ।
निर्यातकर्तासँग प्रधानमन्त्री कार्यालयको उच्च तहबाटै ‘नेगोसिएसन’ भएपछि सुपारी छुटेको थियो । सुपारी छुटाउन लेखेको पत्रमा गन्तव्यतर्फ सुपारी निकासी हुन दिनू भन्ने उल्लेख थियो ।
प्रहरीले अवैध भन्दै नियन्त्रणमा लिएको सुपारी छुटाउन अदालतमा रिट दायर गरेका निर्यातकर्ताले शंकास्पद रुपमा रिट फिर्ता लिएका थिए । सरकारकै उपल्लो तहमा सेटिङ मिलेपछि उनले उक्त रिट फिर्ता लिएका हुन् ।
यसरी सुपारी छुटाउन बहिरबाट सहयोग गर्ने व्यक्ति रामचन्द्र भटट् हुन् । उनले बालुवाटारसँग सेटिङ मिलाएर नै पक्राउ परेको सुपारी छुटाएका थिए ।
उद्योग मन्त्रालयका एक अधिकारी भन्छन्, ‘अहिले १० वटा फर्मलाई पोस्ता दाना र २२ वटालाई सुपारीको आयात अनुमति दिने गरी फाइल बनेको छ ।’
मन्त्रिपरिषद्बाट आयात खुलाएसँगै नयाँ बजेटबाट कर पनि घटाउने गरी व्यापारीहरू दौडधुपमा लागेको मन्त्रालय स्रोत बताउँछ ।
पोस्ता दाना आयातका लागि काठमाडौंका दुगुनागडी इन्भेष्टमेन्ट, सोहम बिजनेश इन्टरप्राइजेज, जावा ट्रेडिङ हाउस, प्रकृतिक इन्टरप्राइजेज, दुर्गा एण्ड सम्राट, विराटनगरका अम्बे भवानी ट्रेड लिङ्क, तिरुपति ट्रेड लिङ्क र राठी ट्रेडिङ, रुपन्देही सरोज एक्सपोर्ट एण्ड इम्पोर्ट र झापाको वानी इन्टरनेशनललाई अनुमति दिन लागिएको छ ।
यी १० फर्मलाई प्रतिफर्म २ सय मेट्रिक टनका दरले २ हजार मेट्रिक टन सीधै आयात गर्न दिने तयारी भएको हो ।
त्यस्तै प्रतिफर्मलाई १ हजार मेट्रिक टनका दरले २२ वटालाई नाम नै तोकेर २२ हजार मेट्रिक टन सुपारी आयात खुलाउने तयारी छ ।
२ अर्बको भन्सारदेखि अन्तशुल्कसमेत घटाउने चलखेल
व्यापारिक फर्म तोकेर आयात खुलाउने यो सेटिङमा विचौलियासमेत लागेका छन् । क्याबिनेटबाट बाटो खुलेपछि बजेटबाट भन्सार र अन्तशुल्क घटाउने तयारी भइरहेको छ । सुपारीमा भन्सार, अन्तशुल्क र १३ प्रतिशत भ्याट गरी प्रतिकेजी १ सयसम्म छुट गराउन पहल भइरहेको बताइन्छ । यसले राज्यलाई २ अर्बभन्दा बढी नोक्सान हुन्छ ।
यस सम्बन्धमा उद्योगमन्त्री र वाणिज्य सचिवलाई फोन गर्दा सम्पर्क हुन सकेन । अर्थसचिव अर्जुन पोखरेलले आफूलाई सुपारी र पोस्ता दानाको विषयमा केही थाहा नभएको बताए ।
‘उद्योग मन्त्रालयबाट यसको काम हुने भएकाले वाणिज्य सचिवसँग कुरा गर्नुस्’, उनले भने ।