४ गते शरणार्थी प्रकरणबारे ‘तथ्य प्रमाणसहित बोल्ने’ बताएका ओली किन गएनन् संसद ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ गते संसदमा उपस्थित भएर भुटानी शरणार्थी प्रकरणबारे तथ्य प्रमाणसहित बोल्ने पूर्वघोषणा गरेका थिए । तर, आज उनी संसदमा अनुपस्थित रहेका छन् ।
ओलीले गत बैशाख २८ गते पार्टीको बैठकमा भनेका थिए, ‘कुन शरणार्थीका नाममा कहाँ कहाँ कतिलाई पठाइयो र को संलग्न छ भन्ने तथ्यसहित संसदमा जानकारी गराउने कोसिस गर्नेछु ।’
तर, आज ओली संसदमै उपस्थित नभएपछि उनको पूर्वघोषणा अधुरो बनेको छ । अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार स्वास्थ्य समस्याका कारण उनी आज संसद जान नसकेका हुन् ।
‘केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । सिटामोल खाएर हिँडिरहनुभएको थियो । आज चाहिँ घरमै आराम गरिरहनुभएको छ’, बजगाईंले भने ।
संसदमा ४ गते नै प्रधानमन्त्रीले संसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची तय भएपछि ओलीले आफ्नो सम्बोधनको योजना स्थगित गरेका थिए ।
प्रधानमन्त्रीभन्दा अघि बोल्न नमिल्ने र पछि बोल्दा पनि ओझेलमा पर्ने भएकाले उनले नबोल्ने निर्णय लिएका हुन् । स्वास्थ्य समस्याले गर्दा उनी संसद नै जान सकेनन् ।
ओलीले शरणार्थी प्रकरणका विषयमा अर्को कुनै दिन संसदलाई सम्बोधन गर्ने बजगाईंले जानकारी दिएका छन् ।