संसदमा एमाले सांसदको प्रश्न- काठमाडौंबाट मधेश सरकार चलाउन खाेज्ने ? – Nepal Press

संसदमा एमाले सांसदको प्रश्न- काठमाडौंबाट मधेश सरकार चलाउन खाेज्ने ?

जनकपुरधाम । मधेश प्रदेशका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले सत्ता पक्षकै दलहरु संघीयतालाई कमजोर पार्न खोजेको टिप्पणी गरेका छन् ।

प्रदेशसभा बैठकमा बोल्दै सांसद यादवले मुख्यमन्त्री र मन्त्रीहरु छान्न सत्ता पक्षीय दलका संसदीय दलका नेताहरु काठमाडौं पुगेकोमा आपत्ति जनाएका हुन् ।

कांग्रेस, एमाले, माओवादी, जनमत र नेकपा एसका संसदीय दलका नेताहरुलाई आज रोष्टममा देखिरहेको छैन भन्दै उनले सभामुखसँग प्रश्न गरे– हामीले गर्न चाहेको के हो ?

उनले भने, ‘मुख्यमन्त्री र मन्त्रीहरु चयन गर्न काठमाडौंमा ठूला नेताको घर चहार्नुपर्ने अवस्था कसरी आयो ? काठमाडौंबाट मधेश सरकार चलाउने ? यो लज्जास्पद विषय हो ।’

साँसद यादवले काठमाडौंमा मुख्यमन्त्री र मन्त्री छानेर संघीयता स्थापित गर्न नसकिने बताए । उनले भने, ‘आज सुदुरपश्चिम प्रदेश होस् वा कोशी प्रदेश वा अन्य प्रदेश । सबै प्रदेशका सदरमुकामबाट जनकपुरतिर हेरिँदैछ कि संघीयताको सवालमा मधेश सरकारले कस्तो जबर्दस्त निर्णय गर्दैछ ? तर यहाँका सत्ता पक्षीय संसदीय दलका नेताहरु मुख्यमन्त्री र मन्त्री चयन गर्न काठमाडौं पुगेका छन् । कसरी संघीयता स्थापित हुन्छ ?’

‘एमालेले गठबन्धनको नेतृत्व गरेको बेला यहाँ जसपाको नेतृत्वमा यही छलफल गरेर सरकार बनाएका थियौं’, उनले भने, ‘तर आज किन यहाँ छलफल गरेर प्रदेशका नेताहरु मुख्यमन्त्री र मन्त्रीको टुङ्गो लगाउन सकिरहेको छैन ? यस विषयमा सबै दलले सोच्न जरुरी छ ।’

उनले भने, ‘ठूलो दल एमालेको संसदीय दलका नेताको हैसियतले संघीयतालाई कुनै पनि दलका नेताले कमजोर पार्ने काम नगरोस् भन्ने आग्रह गर्न चाहन्छु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर