एमालेको प्रतिक्रिया- प्रश्नोत्तर कर्मकाण्डी भयो, प्रधानमन्त्रीको स्पष्ट जवाफ छैन (भिडिओ)
काठमाडौं । नेकपा (एमाले) ले संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको संसदमा दिएको जवाफलाई कर्मकाण्डीको संज्ञा दिएको छ ।
प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्रीको जवाफ स्पष्ट नभएको बताए ।
उनले भने, ‘संसद्को प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन पहिलो कुरा । प्रश्न पहिले सोधेर उत्तर पछि ल्याएर चाहिँ जीवन्त हुँदैन । प्रश्नोत्तर लाइभ जीवन्त हुनुपर्छ । माननीयहरूले त्यहीँ सोध्ने र प्रधानमन्त्रीले त्यहीँ जवाफ दिने गर्नुपर्छ । त्यो भए मात्रै यो आकर्षक हुन्छ । नत्र यो कर्मकाण्डी भयो ।’
कर्मकाण्डी प्रश्नत्तर कार्यक्रममा प्रधानमन्त्रीले केही गलत तथ्यांक ल्याएको दाबी गरे ।
उनले भने, ‘प्रधानमन्त्रीले केही ठिकै कुरा गर्नुभएको छ । प्रधानमन्त्रीले आफ्नो कर्मकाण्डी कामलाई पूरा गर्नुभयो । प्रधानमन्त्रीको स्पष्ट जवाफ छैन । शरणार्थी प्रकरणमा अनुसन्धानमा उच्च पदस्थ र अरु मान्छेलाई जोगाउने कुरा आएको त्यो कुरामा प्रधानमन्त्री वा गृहमन्त्रीले यो केसमा मात्रै जवाफ दिनुपर्छ भनिरहेका छौं ।’