अनशनरत सांसद गौतमको जीवनरक्षा गर्न मानवअधिकार आयोगको आग्रह – Nepal Press

अनशनरत सांसद गौतमको जीवनरक्षा गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनमा बसेका प्रतिनिधिसभा सदस्य सन्जयकुमार गौतमको जीवन रक्षा गर्न र वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।

आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सात दिनदेखि आमरण अनशनमा बसेका बर्दिया क्षेत्र नं. १ का सांसद गौतमको स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण गराएको हो ।

आयोगले अनशनरत स्थलको अनुगमन गर्दा गौतमको शरीरमा पानीको मात्रा कम भई पिसाबमा समस्या देखिएको, उच्च रक्तचापको बिरामी भएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले जुनसुकै समयमा गम्भीर समस्या निम्तिनसक्ने अवस्था रहेको, अनशनको सातौं दिनसम्म पनि सरकारी निकायबाट अनशन तोड्न कुनै पहल नभएको र अनशनस्थल सडक एवम् स्वास्थ्य सुविधाबाट टाढा रहेकाले आकस्मिक समस्या सिर्जना भइहालेमा जीवन नै जोखिममा पर्नसक्ने अवस्था रहेको भन्दै उनको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् ।

आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विकास प्रक्रियामा देखा परेका समस्याहरुको समाधान सहभागितामूलक प्रक्रियाबाट गरिनु राज्यका निकायहरुको कर्तव्य हुन्छ । अतः सांसद गौतमले उठाएका उचित मागहरुको सार्थक वार्ता र संवादको माध्यमबाट सम्बोधन गरी आमनागरिकको विकासको अधिकारको सुनिश्चितता गर्न र अनशनरत गौतमको स्वास्थ्यप्रति संवेदनशील भई निजको जीवनको रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

बबई सिँचाइ आयोजना, राजापुर सिँचाइ परियोजना, मध्यवर्ती क्षेत्रका नागरिकको जीउधनको सुरक्षा, भूमिहीन तथा सुकुम्बासी समस्या समाधान, कृषकद्वारा उत्पादित उपजको बजार व्यवस्थापन जस्ता सांसद गौतमले माग राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *